काठमाडौं–देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आज घर–घरमा भित्र्याइदै छ।
आर्युवेदिक हिसाबले पनि महत्वपूर्ण वनस्पतीका रुपमा यसलाई लिने गरिन्छ । हरेक वर्षको भाद्र कृष्णऔँसीका दिन मनाइने कुशे औँसीका दिन ब्राह्मणद्वारा बिधिपूर्वक कुश काट्ने गरिन्छ । यस दिन ब्राम्हणद्धारा काटिएको कुशलाई घरमै राख्ने र आफ्ना जजमान कहाँ लगिदिने चलन छ ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने , सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । आज काटेको कुश वर्षदिनभरी गरिने पीतृ तथा देवकर्मका लागि प्रयोग गर्ने चलन छ । कुशको औंठी , कुशका देवता र कुशका ब्राम्हण र कुशकै आसन धार्मीक कर्ममा अनिवार्य छ । धर्म , संस्कृतिसँग मात्रै नभई कुशको वातावरणीय तथा स्वास्थ्यका दृष्टिकोणले पनि बेग्लै महत्व रहेको सम्बन्धित विज्ञहरुले बताएका छन् । आयुर्वे्दिक उपचारमा पनि कुशको ठूलो महत्व छ। तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वे्दिक औषधि बनाइन्छ ।
कुशको प्रयोग दाह, रक्तपित्त, तिर्खा, मृगौलाको पत्थरी आदि रोगको उपचारमा गर्न सकिने मान्यता छ । एकदमै तीखो र धारिलो पात हुने हुँदा यसलाई टिप्दा होशियारीपूर्वक टिप्नु पर्ने हुन्छ । पहिले पहिले परीक्षाको समयमा जो कुशलाई सहजतापूर्वक (घाउ नलगाई) वटुल्न सक्थ्यो उसलाई कुशल मानिन्थ्यो ।
संस्कृतिविद् डा विणा पौडेलका अनुसार कुश भएका स्थानमना कीरा फट्याङ्ग्रा नजाने , कुशलाई पानीमा पकाएर खाए स्वास्थ्य राम्रो हुने विश्वास छ । यस्तै विभीन्न आर्युवेदिक औषधीमा समेत यसको प्रयोग गर्ने गरिएको पाइएको छ । यस्तै गाउँघरमा दूध नफाटोस् भनेर कुश राख्ने प्रचलन पनि छ ।





