काठमाडौं–आज प्रकाशित दैनिक पत्रपत्रिकाले विकास निर्माण र अन्य वातावरणीय मुद्दालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
राजधानी
राजधानी दैनिकमा ‘वातावरणीय अधिकारबारे छलफल हुने’ शीर्षकमा समाचार प्रकाशित छ । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा सरसफाइ तथा स्वच्छ वातावरणको समस्याका कारण सर्बसाधारणको स्वास्थ्यमा पर्न गएको असरप्रति चासो राख्दै आइतबार सरकारी निकायका प्रमुखहरुसँग छलफल गर्ने भएको छ । छलफलका लागि प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय , संघीय मामिला तथा सामान्य प्रशासन कार्यालय , वन तथा वातावरण मन्त्रालयका सचिवहरु , काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुख र भक्तपुर नगरपालिकाका प्रमुखलाई डाकिएको छ । यसैगरी ललितपुर महानगरपालिकामा बाँदर र कुकुरको बिगबिगी बढेको समाचार पनि छापिएको छ । यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सरसफाइका लागि डस्टबिन वितरण गरिदै’ शीर्षकमा समाचार प्रकाशित छ । पूर्णसरसफाइ अभियान अन्र्तगत डस्टबिन वितरण सुरु गरिएको हो ।
अन्नपूर्ण पोष्ट
अन्नपूर्ण पोष्ट दैनिकमा वन र वातावरणका खासै विषयवस्तु उठाइएका छैनन् । तैपानी वातावरण संरक्षण र दीगो विकासका केही समाचार भने प्रकाशित भएका छन् । ‘अनि, फेरि गाई पाल्न थालें’ शीर्षकमा राजु स्याङ्तानले लेखेको समाचार प्रकाशित छ ।
एक वर्षअघि । गोकर्णेश्वर–१ रुप्सेटारमा हृदयविदारक घटना भयो । ओखलढुंगाका बाबुराम कार्की (४२) को ओम कृषि फार्ममा विद्युत् सर्ट भइ लागेको आगोले ९७ वटा गाई जलेर मरे । त्यो कारुणिक घटनाले सारा नेपालीलाई स्तब्ध बनायो । १ वर्षपछि त्यही घटनास्थल पुग्दा बाबुराम खुसी देखिए । उनी त्यस दिनको दुर्घटना भुल्दै फेरि गाई पालिरहेका छन् । भन्दै थिए, ‘अरू काम गर्न मन लागेन । फेरि गाई पाल्न थालें।’
दुर्घटनाको निसानी मेटिएकै छैन । घाउ बोकेका केही गाई अझै फार्ममा छन् । केही गाईको उपचार जारी छ । दाना खाइरहेको गाई देखाउँदै भने, ‘यसको नाम उमा हो । ढाडको घाउ निको भएको छैन । अब यसलाई बच्चा जन्माउन नलगाउने । रिटायर्ड लाइफ बिताउँछ अब यसले ।’ कुनामा उघ्राइरहेको गाइहरूलाई देखाउँदै भने, ‘यसको नाम ब्राउन स्विस हो । घाइते भए पनि यसले यसपालि बाच्छी पायो ।’ केही गाई उपचारमा छन् । भने, ‘गौरीको स्वयम्भूमा उपचार भइरहेको छ । डेढ महिनामा फर्किन्छ ।’ कुनामा सुतिरहेको सेतो गाई देखाउँदै भने, ‘त्यसको नाम लक्की हो । लक्की नै रहेछ । घटनामा केही भएन ।’
त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउँथे उनी । कहिलेकाहीँ अनुसन्धान पनि गर्थे । चाबहिलमा बस्दै आएका उनी छोरीका लागि ताजा दूध खोज्दा खोज्दै गाई पाल्ने सोचमा पुगे । त्यसपछि भक्तपुर दूधपाटी पुगे । दुई वटा गाई पाल्न सुरु गरे । फाइदा भएपछि १ महिनापछि बैंकबाट ऋण लिएर फेरि ६ वटा थपे । अनि, विश्वविद्यालयमा अध्यापनसँगै गाई पालेर भक्तपुरमै बस्न थाले ।
दूधको माग बढ्दै गयो । ठाउँ अभाव भएपछि २०७४ फागुनमा सुन्दरीजलमा सरे । वार्षिक १० लाख रुपैयाँमा १० वर्षकै लागि ५० रोपनी जग्गा भाडामा लिएर फार्म खोले । डेढ करोड खर्चिएर टहरा बनाए । २० जनालाई रोजगारी दिए । ५० गाई नयाँ फार्ममै जन्मिए । बाँकीलाई अढाई लाखसम्म तिरेर ल्याए । त्यो पैसा उनले बैंकबाट ऋण लिएका थिए । त्यसपछि दैनिक १२ सय लिटर उत्पादन भयो । खर्च कटाएर दैनिक २२ हजार आम्दानी हुन थाल्यो । भन्छन्, ‘कमाइ राम्रो थियो । चाबहिल, पुरानो बानेश्वर, कौशलटारलगायत पाँच ठाउँबाट दूध वितरण हुन्थ्यो ।’
२०७४ असार ३ गते । बाबुराम बिहानको खाना खाएर आराम गर्दै थिए । एक्कासि ठूलो स्वरमा गाई कराएको आवाजले उनी झस्किए । हत्तपत्त बाहिर निस्किए । अगाडिको टहरामा आगो दन्किरहेको थियो । उनको होसहवास उड्यो । अत्तालिँदै दमकलाई फोन गरे । दमकल त आइपुग्यो, तर आगो नियन्त्रणमा आएन । हेर्दाहेर्दै आँखै अगाडि गाई जल्न थाल्यो । मानिसहरू चुकचुकाइरहेका थिए । आगोमा जल्दै छटपटाइरहेका थिए गाईहरू । हेर्दाहेर्दै बाबुरामको ‘ओम कृषि फार्म’ आगोको लप्कामा परिणत भयो । फार्मको ठिक माथि धुवाँ मडारिन थाल्यो । आँखै अगाडि परिवारका सदस्यजस्ता गाईहरू भकाभक मर्न थाले । केही समयमै १ सय २२ मध्ये ९७ गाई जलेर मरे । दर्ननाक घटना सम्झिँदै बाबुराम भन्छन्, ‘अहिले पनि बेलाबेलामा त्यो दृश्यले झस्काइरहन्छ ।’बाच्छीसहित २५ वटा बाँचे । केही सकुशल भए पनि प्रायः घाउ बोकेर बाँचे । घाइतेमध्ये ३ वटा आमा भइसके । केही गाई अझै तंग्रिन बाँकी छन् ।
नयाँ पत्रिका
नयाँ पत्रिकामा वन र वातावरणभन्दा पनि प्रकृति र पर्यटनका विषयवस्तुलाई उठाइएको छ । पर्यटकीय आकर्षक गन्तब्यहरुको परिचय आजको अकंमा दिइएको छ । आज मानसरोवर , पोखरा , काउलेपानी लगायतका स्थानको बारेमा छापिएको छ ।





