Friday, September 20, 2024

दसैंका लागि अग्रिम बुकिङ खुलेन, ‘कारबाहीको तयारीमा गृहमन्त्रालय’

काठमाडौं– सरकार र यातायात व्यवसायीबीच सहमति नजुट्दा दसैैंका लागि सार्वजनिक यातायातको टिकटको अग्रिम बुकिङ खुल्ने वा नखुल्ने भन्नेमा अझै अन्यौलता कायमै रहेको छ।

यसअघिका वर्षमा दसैंको एक महिना अघि नै टिकटको अग्रिम बुकिङ खुल्ने गरेकोमा यस वर्ष यातायात व्यवसायीहरू बैंक खाता फुकुवाको अडान लिएपछि समस्या उत्पन्न भएको हो।

सरकारले यातायातको सिन्डिकेटको अन्त्यको घोषणा गर्दै यसअघि यातायात व्यवसायी समितिको बैंक खाता रोक्का गरिदिएको छ। तर, हाल आएर यातायात व्यवसायीहरूले सोही मुद्दालाई अगाडि सारेर सरकारसँग बार्गेनिङ गरिरहेको सरकारी अधिकारीहरू बताउँछन्।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्छन्, ‘सरकारले बैंक खाता रोक्का गरिदिएको छ। कर्मचारी तलब नपाएरै काम गर्नु परिरहेको छ। अनि दसैंमा हुने करोडौँको कारोबार हामीले कसरी गर्ने ? यस्तो अवस्थामा कसरी अग्रिम बुकिङ खोल्न सकिन्छ ?’

यातायात व्यावसायीको अर्काे माग हो–सार्वजनिक यातायातको भाडा वृद्धि हुनुपर्ने। दुई वर्षदेखि सार्वजनिक यातायातको भाडा समायोजन नभएका बेला यातायात व्यावसायीले दसैंलाई ‘मौका’ पारेर ‘भाडा वृद्धिको मुद्दा’ लाई अगाडि सारेका हुन्।
सिटौला भन्छन्, ‘सार्वजनिक यातायातको भाडा समायोजन गर्न माग गरिरहेका छौँ तर, सरकारले सुन्दैन्।’ सरकारले बुधबार मात्र पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र महँगी पनि बढेकाले भाडा वृद्धिको विकल्प नरहेको उनी बताउँछन्।

तर, सरकार दसैं, तिहार पश्चात मात्र भाडा समायोजन गर्ने योजनामा छ। यद्यपी, यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्याय भन्छन्, ‘भाडा समायोजनको विषयमा व्यवसायीसँग छलफल भइरहेको छ। ’

पहिलो चरणको वार्ता भइसकेको र अब अर्काे चरणको वार्तामा सहमति हुन सक्ने विश्वास राखेका उपाध्याय सहमति बिना अग्रिम बुकिङ खोल्न नसकिने बताउँछन्।

व्यवसायीको बैंक खाता रोक्काको विषयमा भने यातायात विभागले केही गर्न नसक्ने उनले बताए। यातायात व्यवसायीको खाता रोक गृह मन्त्रालयले गरेको हो।

तर, गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारी बैंक खाताको विषयलाई लिएर अग्रिम बुकिङ रोक्नु गैरजिम्मेवारी काम भएको र अटेरी गरे कारबाही हुन सक्ने चेतावनी दिन्छन्।

‘बैंक खाता रोक्का गर्यो भन्दैमा अग्रिम बुकिङ रोक्नु गैरजिम्मेवारी कुरा हो,’ उनले भने, ‘सबै यातायात व्यावसायीलाई कम्पनीमा दर्ता गराएर मात्र काम गर्न भनेका छौँ, कम्पनीमा गएर विधिसम्वत काम गर्नेको खाता रोक्ने कुरै हुँदैन।’

अग्रिम बुकिङका लागि अझै पनि ढिला नभएको बताउँदै उनले अब खुला नगरे व्यावसायीलाई कारबाही गरिने बताए।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार दसैंताका काठमाडौं उपत्यकाबाट २० लाखभन्दा बढी मानिस बाहिरिन्छन्।

दसैं नजिकिँदै जाँदा पनि अग्रिम बुकिङ नखुलेपछि सर्वसाधारण प्रत्यक्ष मारमा परेका छन्। अग्रिम बुकिङ नखुलेसम्म घर जाने टिकट पाउने ठेगान नहुने सर्वसाधारणको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार