पारवहन प्रोटोकलमा नेपाल-चीनबीच सहमति, प्रोटोकल उच्च तहमा आदानप्रदान हुने

काठमाडौं–चीनसँगको पारवहन सम्झौताको प्रोटोकलमा सहमति जुटेसँगै मस्याैदालार्इ अन्तिम रूप दिइएकाे छ। केही विषय मिलाएर उच्च राजनीतिक तहमा सो प्रोटोकलको आदानप्रदान हुने बताइएको छ।

मस्यौदालाई अन्तिम रुप दिइएको भएपनि हस्ताक्षर कहिले हुने भनेर स्पष्ट जानकारी बाहिर आइसकेको छैन।  उद्याेग, वाणिज्य तथा अापूर्ति मन्त्रालयका अनुसार नेपालले प्रस्ताव गरेका केही बन्दरगाह प्रयोग गर्न दिनका लागि चिनियाँ पक्ष सहमत भएको छ।

तियान्जिन, सेन्जेन, लियान्ग्याङ, झान्जियाङ लगायतका खुला सामुन्द्रिक बन्दरगाह तथा ल्यान्झोउ, ल्हासा, सिगात्से लगायतका सुख्खा बन्दरगाह प्रयोग गर्ने विषयमा सहमति भएको सरकारी अधिकारीको भनाइ छ।

यी समुन्द्री वन्दरगाह नेपालको सिमानाबाट ३ हजार ३ सय किलोमिटर टाढा छन्। सहमति अनुसार नेपालले सडक र रेल दुवै माध्यमको प्रयोग गर्नसक्छ । त्यसैगरी चीनसँगको थप नाका खोल्ने विषयमा समेत छलफल भएको छ।

मन्त्रालयका प्रवक्ता नवराज ढकालका अनुसार ती बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि सम्झौता भएको छ।

नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वका बुधबार र बिहीबार काठमाडौंमा भएको वार्ताले पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिएको हो।

यस प्रोटोकलमा हस्ताक्षर भएमा नेपालको भारतप्रतिको निर्भरता घट्न सक्नेछ, भने नेपालले चीनको बाटो भएमा समुन्द्रसम्मको पहुँच प्राप्त गर्नेछ। भारतको नाकाबन्दी लगत्तै चीनसँग गरिएको यो सम्झौतालाई ऐतिहासिक रुपमा लिइएको थियो।

दुई वर्ष अघि भएको नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकलको मस्यौदा आदानप्रदान भइ काठमाडौं र बेइजिङमा विभिन्न चरणको वार्ता भएपनि केही महत्वपूर्ण विषय टुंगोमा पुग्न सकेको थिएन। प्राेटाेकललार्इ अन्तिम रूप दिन पछिल्लो पटक गत बुधबार र बिहीबार काठमाडौमा दुई देशका उच्च अधिकारीको बैठक भएको थियो।

(२२ भदाै अपराह्न १२ : ५४ बजे अद्यावधि गरिएकाे)

ताजा समाचार

सम्बन्धित समाचार