काठमाडौं–बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत खरिद गर्ने प्रस्ताव अघि सारेको छ।
बंगलादेश भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन सहभागी ‘पावर एण्ड इनर्जी विक’ सम्मेलनमा त्यहाँकी प्रधानमन्त्री शेख हसिनाले उक्त घोषणा गरेकी हुन्।
बंगलादेशको ऊर्जा मन्त्रालयअन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने योजनाले छिट्टै मूर्त रुप लिने सेखले बताइन्।
नेपाल–बंगालदेश ऊर्जा सहकार्यका लागि यसअघि साउन अन्तिम साता समझदारी भइसकेको छ। उक्त समझदारी पत्रमा नेपालका ऊर्जा मन्त्री वर्षमान पुन र बङ्गलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिदबीचले हस्ताक्षर गरेका थिए।
ऊर्जामन्त्रीपुनले आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको योजना रहकोे भन्दै आफूहरू बङ्गलादेशमा विद्युत निर्यात गर्न तयार रहेको धारणा राखे। ‘हामी १० वर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौ, त्यसमा ५ हजार बिजुली बङ्गलादेशलाई बेच्न समस्या हुँदैन,’ मन्त्री पुनले भने।
बङ्गलादेशको तीन दिने भ्रमणमा रहेका मन्त्री पुनले ऊर्जा र जलविद्युत क्षेत्रमा गर्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसँग द्वीपक्षीय वार्ता गर्दैछन्।





