‘मिडियामा वातावरण र जलवायु परिवर्तनका विश्लेषणात्मक समाचार न्यून’

काठमाडौं– मुलधारका मिडियामा वातावरण र जलवायु परिवर्तनको मुद्दाका खबर सम्प्रेषण हुने क्रम केही हदसम्म बढेको पाइएको छ।
नेपाल वातावरण समूह (नेफेज) ले पछिल्लो दुई महिना (अप्रिल र जुन) मा प्रमुख पत्रपत्रिकामा छापिएका समाचारमध्ये वातावरण, जलवायु परिवर्तनका बिषयलाई तुलानात्मक रूपमा विश्लेषण गर्दा वातावरण, जलवायु परिवर्तन र दीगो विकासका समाचार घटनाप्रधानमा एवं मौसम अनुसार मात्रै सम्प्रेषण भएको पाइएको छ।

‘सार्वजनिक रुपमा भएका बहसहरुलाई पनि सञ्चारमाध्यमले गम्भीर रुपमा लिएर यी मुद्दामा विष्लेषण गरेको पाइएन,’ नेफजले गरेको विश्लेषणमा भनिएको छ, ‘किनकी यी विषयमा समाचार बाहेक लेख, टिप्पणी र सम्पादकीय एकदमै कम आउनुलाइ यो बिषयतिर सञ्चारमाध्यमको त्यति ध्यान नगएका हो की भन्ने देखिन्छ ।’

नेफेजले सन् २०१८ जनवरीदेखि कान्तिपुर, गोरखापत्र, नागरिक, अन्नपूर्ण पोस्ट् एवं द काठमाडौं पोस्ट, द हिमालयन टाइम्स र रिपब्लिका अंग्रेजी गरी ७ वटा दैनिक पत्रपत्रिकामा वातावरण र जलवायू परिवर्तनका समाचार बिचार र सम्पादकीयको अनुगमन गर्दै आएको छ।

नेफजका अनुसार पहिलो अनुगमनका क्रममा चिसोका कारणले भएको जनजीवन प्रभावित सम्बन्धि समाचार धेरै आएका थिए, भने यतिखेर बाढीपहिरो र समयमा पानी नपर्दा खेतीबाली लगाउन नपाएका समाचार आएका छन्।

‘यसले के देखाउँछ भने वातावरण, जलवायू परिवर्तन सम्बन्धि समाचारले मौसम अनुसारको कभरेज पाउँछ । तर यसको दीर्घकालिन समाधानका लागि विश्लेषणात्मक र अनुसन्धानमुलक खोजी समाचार आएको छैन । समाचार अधिकांश भित्री पृष्ठमा आएका छन्,’ नेफेजले अगाडि भनेको छ, ‘तर वर्षाका कारण आएको बाढी पहिरोले घर र बस्ती बगाएको र मान्छेको मृत्यु भएको समाचारलाई सबै पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन्।’

यस्ताे छ प्रतिवेदन

वातावरण र जलवायू परिवर्तनसम्बन्धि संचार अनुगमन प्रतिवेदन
अप्रिल–जुन
वातावरण र जलवायु परिवर्तनको मुद्दाहरु संचार माध्यमा आउने प्रबृत्ति केही बढेपनि पकृतिमा परिवर्तन भएको देखिएको छैन । सरकार,सोकारवालाहरुले र पछिल्लो समय स्थानीय सरकार र प्रदेश सरकारले वातावरणीय समस्याप्रति चासो देखाए पनि यसको दिर्घकालीन समाधानका लागि नीति कार्यक्रममा तिर गम्भीर भएको देखिएको छैन । सन्चार माध्यमहरुमा पनि वातावरण जलवायू परिवर्तन र दिगो विकासका समाचारहरु मौसम अनुसारमात्रै आएको देखिन्छ । सार्वजनिक रुपमा भएका बहसहरुलाई पनि संचार माध्यमले गम्भीर रुपमा लिएर यी मुद्दामा विष्लेशण गरेको पाइएन ।

किनकी यी बिषयमा समाचार बाहेक लेख, टिप्पणी र सम्पादकीय एकदमै कम आउनुलाइ यो बिषयतिर संचार माध्यमहरुको त्यति ध्यान नगएका हो की भन्ने देखिन्छ । वातावरण, जलवायु परिवर्तनका बिषयलाई तुलानात्मक रुपमा हेर्न नेपाल वातावरण पत्रकार समूहले २०१८ को जनवरीदेखि संचार अनुगमन थालेको छ ।

समूहले नेपालका केही दैनिक पत्रपत्रिका कान्तिपुर, गोरखापत्र,नागरिक, अन्नपूर्णपोष्ट र द काठमाडौं पोष्ट, द हिमालयन टाइम्स र रिपब्लिका अंग्रेजी गरि ७ वटा दैनिक पत्रपत्रिकामा वातावरण र जलवायू परिवर्तनका समाचार बिचार र सम्पादकीयको अनुगमन ग-यो ।

नेपाल वातावरण पत्रकार समूहले विगत ३० वर्षदेखि वातावरण र जलवायु परिवर्तन र दिगो बिकासका क्षेत्रमा वकालत गर्दै आइरहेको छ । समूहले आफ्ना संचार माध्यमहरु आँखीझ्याल, नया पूस्ता रेडियो सगरमाथा र हाकाहाकी अनलाइन मार्फत वातावरण, जलवायू परिवर्तन र दिगो विकासका सवालमा निरन्तर वहस पैरवी र नीति निर्माण तहमा सरकारलाई सुझाव दिँदै आएको छ ।

मुलधारका पत्रपत्रिकाले यी विषयलाई कतिको प्राथमिकता दिएका छन् भन्ने बिषयमा समूहले यो संचार अनुगमन गरेको हो । अप्रिलदेखि जुन महिनासम्मको दोस्रो संचार अनुगमनका क्रममा पनि प्रबृत्ति त्यति परिवर्तन भएको देखिएन पहिलो अनुगमनका क्रममा चिसोका कारणले भएको जनजिवन प्रभावित सम्बन्धि समाचार धेरै आएका थिए भने यतिखेर सवभाविक रुपमा बाढी पहिरो र समयमा पानी नपर्दा खेतीवाली लगाउन नपाएका समाचारहरु आएका छन् ।

यसले के देखाउँछ भने वातावरण, जलवायू परिवर्तन सम्बन्धि समाचारले मौसम अनुसारको कभरेज पाउँछ । तर यसको दिर्घकालिन समाधानका लागि बिश्लेषणत्मक र अनुसन्धानमुलक खोजी समाचार आएको छैन । समाचारहरु अधिकांश भित्री पृष्ठमा आएका छन् । तर बर्षाका कारण आएको बाढी पहिरोले घर र बस्ती बगाएको र मान्छे मरेका समाचारहरुलाई सवै पत्रिकाले प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेका छन् ।

७ वटा पत्रिका मध्ये यसपाली पनि नागरिक दैनिक र रिपब्लिकाले वातावरण तथा जलवायू परिवर्तन सम्बन्धि समाचारलाई पृष्ठ छुट्टयाएको पाइयो । यी दुबै पत्रिकामा वातावरण सम्बन्धि धेरै जसो समाचार चौंथो पृष्ठमा प्रकाशित भएको पाइयो । यसैगरि नागरिक दैनिकका प्रदेश संस्करणहरु खासगरि दिगो विकास सम्बन्धि समाचारले आर्थिक पृष्ठमा प्राथमिकता दिएको पाइएको छ । (हेर्नुस एनेक्स)

यसअघिको पहिलो संचार अनुगमनका क्रममा सरकारले २० वर्षे सवारी साधनलाई संचालनमा रोक लगाएका, उच्च हिमाली जिल्लामा हिउ परेको, चिसोले मान्छे मरेको जस्ता केही समाचार यी पत्रपत्रिकाले पहिलो पृष्ठमा समाचार प्रकाशन गरेका थिए भने यसपाली मनसुनका कारण देशका बिभिन्न ठाउँमा गएको बाढी पहिरोका कारण घर बगाएको मान्छे मरेका र सडकहरु अबरुद्ध भएका समाचारले पहिलो पृष्ठमा ठाउँ पाएका छन् ।

यी दैनिक पत्रिका मध्ये नागरिक दैनिक र रिपब्लिकाले वातावरण जलवायू परिवर्तनका बारेमा समाचार र फोटोको प्रयोग सवैभन्दा धेरै गरेको पाइयो । पहिलो अनुगमनका क्रममा उक्त पत्रिकाले वातावरण सम्बन्धि ९६ वटा समाचार प्काशित गरेको थियो भने यसपाली यो संख्या बढेर २४६ पुगेको छ । यसैगरि दोस्रोमा कान्तिपुर दैनिक र तेस्रोमा अन्नपूर्णपोष्टले वातावरण सम्बन्धि समाचार धेरै प्रकाशित गरेको संचार अनुगमनका क्रममा देखियो ।

सरकारी संचार माध्यम गोरखापत्रले भने एकदमै कम ९ प्रतिशत समाचार यी बिषयबस्तुमा छापेको छ । पहिलो अनुगमनका भन्दा दोस्रो अनुगमनमा सवै सन्चार माध्यममा वातावरण र जलवायू परिवर्तन सम्बन्धि समाचारको संख्या बढेको देखिएको छ ।
मौसमी समाचारहरु जस्तै बाढी पहिरोले ठुलो क्षति पुर्याएका बाहेक धेरैे जसो वातावरण र जलवायू परिवर्तनका समाचार सवैजसो पत्रपत्रिकामा भित्री पृष्ठ मै छापिएका छन् ।

यो तीन महिनामा यी ७ वटा दैनिक पत्रिकामा वातावरण सम्बन्धि १ हजार ७ वटा समाचार छापिएका छन् । यसपाली दिगो विकास सम्बन्धि समाचार धेरै छापिएको छ । खासगरि गाउँ गाउँमा बाटो बनाउन चलाइएका डोजरका कारण पहिरो गएको याउँ बस्ती जोखिममा परेका समाचारहरू यस अन्र्तगत समेटिएका छन् । यस सम्बन्धि समाचार ३९५ वटा प्रकाशित भएका छन् । यसपछि जैविक बिबिधता र जनावर सम्बन्धि समाचार २ सय १० वटा छापिएका छन् । जलवायू परिवर्तन सम्बन्धि १६७ र प्रकोप सम्बन्धि ९६ वटा समाचार प्रकाशित भएका छन् ।

नेपालको भौगोलिक अवस्था अनुसार बर्षायाममा तराइमा बाढी र पहाडमा पहिरो जाने समस्या नयाँ होइन । बाढी पहिरो प्रभावित ठाउँहरु पनि पहिचान भइसकेका छन्। तर ती समस्यालाई दिर्घकालका लागि समाधान गर्नका लागि न राज्यले पहल गरेका छ न सन्चार माध्यमले यस्ता गम्भीर बिषयमा अनुसन्धानमुलक रिपोर्टिङ नै गरेका छन्।

अनि सरकारलाइ जिम्मेवार बनाउनेगरि विज्ञका बिचार र दृष्टिकोणहरु पनि पत्रिकामा धेरै आएको पाइएको छैन । यी बिषयमा दृष्टिकोण, बिचार, बिष्लेशण र सम्पादकिय एकदमै न्युन आएका छन् । समग्र मै वातावरण, जलवायू परिवर्तन र दिगो विकासमा बिचार , दृष्टिकोण र सम्पादकीयहरू त्यति आएको पाइएन।

यो अवधिमा वातावरण, जलवायु परिवर्तन र दिगो विकाससँग सम्बन्धित १७ वटा विचार प्रकाशित भए भने ६ वटा सम्पादकिय आए। यो संख्या अघिल्लो अनुगमनको तुलनामा भने दोब्बर हो । अघिल्लोमा ८ वटा विचार र एउटामात्रै सम्पादकीय प्रकाशित भएको थियो ।

समाचारमा महिलाको बाइलाइन
समग्र पत्रकारितामा मै महिलाको उपस्थिति अत्यन्त न्युन छ । पत्रकारिता पेशामा भएका महिलालाई परम्परागत शैली महिला बालबालिका, मनोरञ्जन र कला क्षेत्रका समाचारहरुमा धेरै लगाइन्छ । राजनीतिक,आर्थिक, खेलकुद वातावरण जलवायू परिवर्तन जस्ता बिषयबस्तुमा धेरै जसो पुरुष पत्रकारहरुले लेखिरहेका छन् ।

वातावरण तथा जलवायू परिवर्तन सम्बन्धि समाचार लेख्नेमा महिला अत्यन्तै कम देखिए । यो तीन महिनाको अवधमिा ६ सय ७० वटा समाचार बाइलाइनसहित आए । यी मध्ये जम्मा ७४ वटा समाचारमा मात्रै महिलाको बाइलाइन पाइयो । संख्यामा महिलाको समाचार बढेपनि प्रतिशत अघिल्लो अनुगमनको भन्दा घटेको छ । अघिल्लो अनुगमनमा महिलाको बाइलाइन ८ प्रतिशत थियो भने यसपाली ७ प्रतिशतमात्रे रहेको छ ।

हामीले यो सन्चार अनुगमन वातावरण, जलवायू परिवर्तन र दिगो विकासका बिषयमा समाचार प्रकाशित हुने प्रबृत्ति बिश्लेषण गर्ने उद्देश्यले गरेका हौं। यो अनुगमनले हामीलाई यी क्षेत्रमा गर्नुपर्ने कामका लागि बाटो देखाउने आशा गरेका छौं। यो अनुगमन मार्फत हामीले वातावरण र जलवायु परिवर्तनमा कलम चलाउन लैंगिक अवस्था पनि केलाउन खोजेको छौं। यो बिषयमा लेख्ने महिला पत्रकार कति छन् भनेर पनि हेरेका छौं।

यही अनुगमनका आधारमा हामीले उठाउनु पर्ने बिषयलाई प्राथमिकिकरण गरि पत्रकारहरुलाई हामीले तालिम पनि दिएका छौं । तालिमपछि उनीहरुले वातावरणमा उठाउनुपर्ने बिषयबस्तुमा अनुसन्धानमुलक लेखहरु प्रकाशित भइरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार