Thursday, October 3, 2024

पत्रपत्रिकामा आज : सडक ग्राभेललगत्तै पहिरो , सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन

 

काठमाडौं–आज प्रकाशित दैनिक पत्रपत्रिकाले विकास निर्माण र अन्य वातावरणीय मुद्दालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

कान्तिपुर
‘कृषि पर्यटनका लागि पन्छीपालन’ शीर्षकमा करिश्मा चौधरीले बाँकेबाट कान्तिपुरका लागि समाचार लेखेकी छिन् । उनले लेखेको समाचारमा कृषि पर्यटनका लागि बंगुर, बाख्रा, माछा, हाँस, कुखुरा, खरायो र बट्टाई लगायतका पन्छीपालन गरेको उल्लेख छ । सुरुमा लामो समय होटल व्यवसायमा भुलेका
खजुरा गाउँपालिका–३ का प्रेम खरेलले पछिल्लो समय पशुपन्छी फार्म संचालन गरेर बसिरहेका छन् । कृषि फार्मबाट मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनको फार्ममा तीन करोड रुपैयाँभन्दा बढीको लगानी छ । फार्ममा धेरै पशुपन्छी पाल्न थालेपछि फार्मको क्षेत्रफल ४० कट्ठा र्पुयाएको उनले बताए ।आफ्नो फार्मलाई कृषि पर्यटन स्थलका रूपमा विकास गर्ने लक्ष्य खरेलले लिएका छन् । जसका लागि वैधानिक रूपमा पाल्न मिल्ने र तराईको वातावरणमा हुर्किन सक्ने सबै पशुपन्छी पाल्ने उनको सोच छ । छिट्टै नै टर्की र लौकाट जातका पन्छी पाल्ने योजना उनले सुनाए ।फार्मबाट उत्पादन गरेका पशुपन्छी बिक्री गर्न बजारको समस्या नरहेको उनले सुनाए । कृषिमा देशलाई आत्मनिर्भर बनाउन युवाहरू यसतर्फ लाग्नुपर्ने खरेल सुझाउँछन् । ‘व्यावसायिक कृषिमा जोड दिनुपर्छ । आफ्नो ठाउँअनुसारको कृषि बाली, पशुपालन, फलफूल र तरकारी खेती गर्न सके मात्रै कृषि उपज आयात गर्नुपर्ने बाध्यता हट्छ,’ उनी भन्छन् ।युवालाई कृषितर्फ आकर्षित गर्न सरकारले किसानलाई सहुलियत दरमा ऋण दिने र वास्तविक किसानलाई अनुदान दिने व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनको अनुभव छ ।
यसैगरी सडक ग्राभ्रेललगत्तै पहिरो गएको समाचार पनि कान्तिपुरमा प्रकाशित छ । नुवाकोटबाट कृष्ण थापाले लेखेको समाचारमा विदुर हुँदै पुरानो सदरमुकाम तथा साततले दरबार जाने ६ किमी सडक ग्राभेल गरेलगत्तै भत्किन र पहिरो जान थालेको उल्लेख छ । सो सडकमा दैनिक ५ सय सवारी गुड्छन् । यस्तै ‘धोब–सिरिसे सडक जर्जर ’ शीर्षकमा रामेछापको खबरमा पनि कान्तिपुरमै प्रकाशित छ । यसैगरी पुरातत्व विभागले पशुपति क्षेत्रका स्लेष्मान्तकमा कंक्रिटको पैदल मार्ग निर्माण रोक्न निर्देशन दिएको खबर र सिन्धुलीको मरिन गाउँपालिकाको कपिलाकोट–कल्पवृक्ष जोड्ने पक्कि पुल सम्झौता अवधि अघि नै निर्माण सकिएको खबर पनि छ ।
नागरिक
तीन वर्षअघि विद्युत विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको खबर नागरिकमा छ । सो खबर बिष्णु वेल्वासेले लेखेका हुन् । ३६ जलविद्युत आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने विभागका महानिर्देशक नविनराज सिंहले बताए । यस्तै ‘सुरुङमार्गमा पावर चाइनाले लगानी गर्ने ’ शीर्षकको समाचार र ‘ दूध स्वच्छताका लागि नयाँ मापदण्ड’ शीर्षकको समाचार पनि प्रकाशित छ ।
अन्नपूर्ण
अन्नपूर्ण पोष्टले ‘सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन ’ शीर्षकमा राजेश बर्माले समाचार लेखेका छन् । चीनले नेपाललाई सबै बन्दरगाह प्रयोग गर्न दिने आश्वासन दिएको छ। आश्वासन कार्यावन्यनमा आए नेपालले आवश्यताअनुसार चीनका बन्दरगाह उपयोग गर्न पाउनेछ। नेपालले ६ वटा बन्दरगाहसम्म पहु“चका लागि चीन समक्ष प्रस्ताव गरेको थियो। चीनसँगको पारवहन तथा परिवहन सम्झौतालाई अन्तिम रूप दिन आवश्यकपर्ने प्रोटोकल (प्रक्रियागत संहिता)को तेस्रो चरणको छलफलमा नेपालले त्यस्तो प्रस्ताव गरेको हो। राजधानीमा बुधबारदेखि प्रोटोकलका विषयमा नेपाल–चीन संयुक्त बैठक सुरु भएको छ। बैठक दुई दिनसम्म चल्नेछ ।
नेपालका तर्फबाट छलफलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशंकर सैंजूको नेतृत्वमा परराष्ट्र, अर्थ, कृषि, भौतिक पूर्वाधार तथा यातायात, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको सहभागिता छ। चिनियाँ पक्षको नेतृत्व चीनको यातायात विभागका महानिर्देशक वाङ सिपिङले गरेका छन्। सिपिङको नेतृत्वमा नौ जना बेइजिङ र काठमाडौंस्थित चिनियाँ दूतावासबाट दुई जना गरी ११ जना सहभागी छन्।

मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार छलफलमा नेपाली टोलीले नेपालको सीमा नजिकै मानिएका भिन्न भिन्न ६ बन्दरगाहबाहेक थप बन्दरगाहसम्म पहुँचको प्रस्ताव अघि सारेको छ। यो विषयमा चिनियाँ पक्ष सकारात्मक भएको उनले बताए। चिनियाँ पक्षले ६ वटा बन्दरगाहबाहेक सहज देखिने अन्य बन्दरगाहमा पनि पहुँच दिन सक्ने सकारात्मक संकेत दिएको सचिव घिमिरेले जानकारी दिए ।
यसैगरी अन्नपूर्ण पोष्टमा सडक ऐन संसोधनको तयारी गरिने सम्बन्धि समाचार पनि छापिएको छ । यस्तै ‘बाँधका कारण खेत डुबानमा ’ शीर्षकको र ‘ प्लाष्टिकमुक्त नगर बनाइने ’ शीर्षकको मलगंवाको समाचार अन्नपूर्णमा छ । सर्लाहि हरिवन नगरपालिकाले नगरलाई प्लाष्टिकमुक्त बनाउने अभियान सुरु गरेको छ ।

राजधानी
राजधानीमा ‘ अझै सडक सम्पर्कविहीन बाजुरा ’ शीर्षकमा समाचार छापिएको छ । निमेन्द्र शाहीले लेखेको समाचारमा सडक सम्पर्कमा जोडिने बाजुरावासीको सपना यस वर्ष पनि पूरा हुन नसकेको उल्लेख छ । सदरमुकामसम्म गत वर्ष मात्र कालोपत्रे भएपछि नियमित गाडी चढ्ने सपना यहाँका बासिन्दामा थियो । साँफे–मार्तडी सडकखण्डको बल्द्यादेखि मार्तडीसम्म पहिरोले बगाएपछि यस वर्ष पनि सपना साकार भएन । असार दोस्रो साताबाट सडक भत्किएको छ । ग्रामीण सडकहरू क्षतविक्षत बनेका छन् । त्रिवेणी नगरपालिकाको पैमामा नियमित खसेको पहिरोले बूढीगंगा नदीछेउको सडक बगाएको छ ।दोस्रो व्यापारिक केन्द्र कोल्टीसम्मको सडकसमेत सदरमुकामबाट जान नसकिने गरी भत्किएको छ । साँफे–मार्तडी सडक डिभिजन कार्यालयले अझै वर्षातले बिगारेको सडक बनाउने सुरसार गरेको छैन ।अछामको साँफे बगरबाट सदरमुकाम मार्तडीसम्मको ५७ किलोमिटर र सदरमुकाम मार्तडीबाट कोल्टीसम्मको ४४ किलोमिटर सडक ठाउँ ठाउँमा पहिरोले बगाउँदा यातायात नियमित सञ्चालन भएको छैन । साँफे–मार्तडी सडकखण्डको एक दर्जन बढी ठाउँमा पहिरोले अवरोध गरेको मालिका यातायात व्यवसायी समितिका इन्चार्ज डेनिश शाहीले बताए । गत वर्ष यसै समयमा बिग्रेको बाटो नबनेपछि जिल्लाका राजनीतिक दलका प्रतिनिधि र स्थानीयले बाटो बनाउने गरेका थिए । यस वर्ष स्थानीय तहमा अधिकार र स्रोत भए पनि उनीहरूले सडकबारे खासै चासो देखाएका छैनन् ।

ताजा समाचार

सम्बन्धित समाचार