Thursday, October 3, 2024

ललितपुरमा बाँदर र भुस्याहा कुकुरको आतंक

काठमाडाैं–ललितपुर महानगरपालिका क्षेत्रमा बाँदर र भुस्याहा कुकुरको आतंक बढेको छ। महानगरको मंगलबजार क्षेत्रमा बादरको संख्या बढ्दा त्यहाँ वरपर पसल थापेर बस्ने र वटुवासम्मले समस्या भोग्ने गरेका छन्।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा पुर्नर्निमाण भइरहेका सम्पदा तथा अन्य सम्पदामा पनि बाँदरले क्षति पुर्याउन थालेको पुरातत्व विभाग अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यलय मंगलबजारले जनाएको छ।

बाँदरले सम्पदाका छानोका रुपमा प्रयोग भएका झिंगटी उखेल्ने, खसाल्ने, निर्माणाधीन सम्पदाका इँटा खसालिदिने, फोहोर गर्ने र, काठ उप्काउने गरेको कार्यलयका प्रमुख काजीमान प्याकुरेलले बताए। बाँदरले खानेकुरा खोस्न खोज्नुका साथै मान्छेलाई समेत आक्रमण गर्न खोज्ने गरेको उनले बताए।

उनका अनुसार बाँदरको आंतक बढेपछि जावलाखेलस्थित सदर चिडियाखानालाई व्यवस्थापन गर्न आग्रह गरेपनि सुनुवाइ नभएपछि वडा कार्यालयमार्फत् महानगरपालिकालाई व्यवस्थापनका लागि अनुरोध गरिएको छ।

महानगरका प्रवक्ता राजु महर्जन बाँदरको समस्या समाधानका लागि अध्ययन भइसकेको र अब व्यवस्थापन गरिने बताए। व्यवस्थापनका लागि संस्कृति मन्त्रालय र पशुपन्छी मन्त्रालयको सिफारिस चाहिने भएकाले प्रक्रियाको तयारीमा रहेको उनले बताए। १६ नम्बर वडाका वडा अध्यक्ष निर्मल रत्न शाक्यले जसरी भएपनि बादरको समस्या समाधान गरेरै छाड्ने बताए।

यसैगरी महानगरपालिकाका धेरैजसो सडक तथा गल्लीमा भुस्याहा कुकुरको पनि बिगबिगी छ। महानगरको चक्रपथ क्षेत्र, पाटनका विभिन्न क्षेत्र, कृष्ण गल्ली, महानगरको कार्यालय वरपर, सातदोबाटो, ढोलाहिटी, सुनाकोठी, ग्वार्खो, हरिसिद्धी लगायतका स्थानमा भुस्याहा कुकुरको समस्या रहेको स्थानीयको गुनासो छ।

यस्तै ललितपुरकै बल्खु पुल नजिक र पुलमा छाडा गाइवस्तु पनि धेरै पाउने गरिएको छ। यी छाडा छोडिएका चौपायाका कारण सवारी दुर्घटना हुने गरेको बताइन्छ।

ताजा समाचार

सम्बन्धित समाचार