Friday, September 20, 2024

उपत्यकाका यी स्थानमा बन्दैछन् नयाँ पार्क

काठमाडौं– उपत्यकाबासीले ०७२ वैशाख १२ गते गएको भूकम्पका बेला बस्नका लागि खुला स्थान खोज्दै भौतारिएको दुःख भुलेका छैनन्। त्यति बेला सबैले खुला स्थान र पार्कको आवश्यकता महसुस गरे। त्यही खुला स्थानको खोजीमा अहिले स्थानीय तहसँगै संघीय सरकार लागेका छन्।

सरकारले अहिले विभिन्न स्थानमा रहेको सरकारी जमिनको पहिचान गरी हरियाली पार्क बनाउँदै छ। स्थानीय निर्वाचनका समयमा जनप्रतिनिधिले वृक्षरोपण गरी आफ्नो शहरलाई हरियाली, सफा र धुँवाधुलोरहित बनाउने एजेण्डा लिएका थिए। पदमा बसेको एक वर्ष वितिसक्दा पनि हरियाली प्रवद्र्धन गर्न खासै प्रगति नभएका बेला शहरी विकास तथा भवन निर्माण विभागले उपत्यकामा सात वटा पार्क निर्माणको तयारी गरेको हो।

विभागका सिनियर डिभिजन इन्जिनियर लिला खतिवडाले खाली स्थानको संरक्षण गर्न पार्क निर्माण गर्न लागिएको बताए। उपत्यकाको वायु प्रदूषण हुँदै गएको र हरियाली गुम्दै गैरहेकोले विभागले विभिन्न ठाउँमा पार्क निर्माण गर्न लागेको उनले बताए।

‘गत वर्षदेखि शुरु भएका केही पार्क निर्माणको अन्तिम चरणमा छ,’ उनले भने, ‘निर्माण भैरहेका पार्कमा स्थानीयले श्रमदान समेत गरेका छन्।’

उनका अनुसार चन्द्रगिरी नगरपालिकामा बन्दै गरेको ऐतिहासिक पार्क र स्वीजरल्याण्ड पार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो पार्कको निर्माण गतवर्षेदेखि शुरु भएको थियो ।

बुढानिलकण्ठ नगरपालिकामा बनिरहेको राष्ट्रिय विकास पार्क र दक्षिणकाली नगरपालिकाको चम्पादेवी पार्क पनि गत वर्षदेखि निर्माण कार्य शुरु गरिएको विभागले जनाएको छ। बाँकी पार्कको निर्माण यसै वर्षबाट शुरु गरिएको हो।

वैदेशिक अन्तर्राष्ट्रिय आप्रवासन संगठनले (आइओएम) २०७२ वैशाखपछि गरेको अध्ययना अनुसार काठमाडौं उपत्यकाका सबै ८३ खुला स्थान महाभूकम्प पश्चात प्रयोगमा आएका थिए। र, यी स्थानले मानिसलाई तत्कालका लागि सुरक्षाको अनुभूति गराएको उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार