Thursday, October 3, 2024

बुटवलमा फोहाेर व्यवस्थापन अभियान

बुटवल–बुटवल उपमहानगरपालिकाले शुरु गरेको बुटवल–तिनाउ सरसफाइ अभियानमा सहकार्य गर्दै महिलाले रचनात्मक कामको थालनी गरेका छन्।

महिला मञ्च नेपाल रुपन्देहीले उपमहानगरसँग सहकार्य गर्दै नकुहिने फोहाेरको व्यवस्थापनका लागि अभियान शुरु गरेका हुन्। बुटवल–१२ र १३ बाट नकुहिने फोहाेर सङ्कलन गर्दै महिलाले शुरु गरेको यो अभियान जिल्लाका अरू नगरमा पनि सञ्चालन गरिने भएको छ।

सचेतना, सङ्कलनदेखि व्यवस्थापनसम्मका काममा महिलाले अब स्थानीय नगरपालिकासँग सहकार्य गर्न लागेको अभियानकी प्रमुख तथा महिला मञ्चकी अध्यक्ष मधुकला कुँवरले जानकारी दिइन्।

उपमहानगरपालिकाको आर्थिक सहयोगमा महिला अभियन्ताले त्यस वडाका प्रत्येक घरमा फोहोरका प्रकृति र त्यसको सङ्कलनका बारेमा सूची र सचेतनासहितको विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने भएका छन् ।

जितेश्वरी टोलमा कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीको सचेतनासहितको अभियानले आफूहरुलाई समेत हौसला मिलेको बताए।

महिला अभियन्ताले अब प्लास्टिक, सिसा र प्लास्टिकजन्य फोहाेरलाई सङ्कलन गरेर व्यवस्थापन गर्ने छन्। उनीहरुले स्थानीयवासीले सङ्कलन गरेका त्यस्ता फोहरलाई खरीद गरेरै लैजाने छन्। महिलाले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, जथाभावी फोहर नफाल्न सचेत बनाउनेदेखि कुहिने फोहोरलाई जैविक मल बनाउन र नकुहिनेलाई व्यवस्थापनको तरिकाका बारेमा सिकाइने महिला मञ्चकी अध्यक्ष मधुकला कुँवरले बताइन्।

कार्यक्रम संयोजक मञ्जु बस्नेतले दुई वडाका ५० वटा टोल विकास समितिमार्फत स्थानीयवासी सबैका घरघरमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिने बताइन्। नगरपालिकाबाट ४ सय ४० र स्थानीय जनसहभागितामा १ सय १० सङ्कलन गरी डस्टबिन खरीद गरी उपभोक्तालाई वितरण गरिएको मञ्चका कोषाध्यक्ष तथा अभियन्ता रीता घिमिरेले बताइन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार