Friday, September 20, 2024

कालीमाटी तरकारी बजारमा ११ समस्या : यस्ता छन् कार्यदलका १४ सुझाव

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारसहितको नियमन एवं बिचौलियाको तह घटाउने उद्देश्यका साथ सरकारले गठन गरेको कार्यदलले समस्या औंल्याउँदै सुझावसहितको प्रतिवेदन पेश गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा ५ भदौमा गठित कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउँदै अल्पकालीन र दीर्घकालीन सुझाव पेश गरेको छ।

कार्यदलका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारमा ५ सय २३ स्टल रहेकोमा १७ वटा स्टल मात्र खुला प्रतिस्पर्धाबाट भाडामा लगाइएको छ।

कार्यदलले औंल्याएका समस्या
–काठमाडौं उपत्यकाभित्र बिक्रीवितरण हुने तरकारी तथा फलफूलको मूल्यमा अस्वभाविक मूल्य वृद्धि हुने गरेको।

–तरकारी तथा फलफूलको कारोबारमा बिलविजक लिनेदिने व्यवस्था नभएको र तरकारी तथा फलफूल कारोबारको कुनै पनि तहमा बिलविजकको प्रयोग हुने नगरेको।

–कालीमाटी फलफूल तथा तरकारी विकास समितिले वितरण गरेका स्टलहरु अनाधिकृत व्यक्तिले प्रयोग गरेको हुनसक्ने अवस्था रहेको। एउटा सटरमा एकभन्दा बढी व्यावसायिले कारोबार गरेको हुनसक्ने अवस्था समेत रहेको।

–तरकारी तथा फलफूल व्यापारमा अनावश्यक रुपमा तहहरू (विचौलिया) सृजना हुने गरेको।

–तरकारी तथा फलफूलमा अस्वभाविक रुपमा प्रयोग हुने विषादीको नियन्त्रणका लागि कालीमाटी बजारमा सञ्चालित परीक्षण प्रयोगशालाको नमूना परीक्षणको संख्या, क्षमता र कार्यक्षेत्र सीमित रहेको। प्रयोगशालामा विषादी मात्र परीक्षण हुनसक्ने भएकाले अन्य विषादीको परीक्षण गर्न शंकास्पद बस्तुको नमूना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठाउनुपर्ने अवस्था रहेको।

–छिट्टै सडने तरकारी तथा फलफूलको तथा माछा संरक्षणका लागि आवश्यक चिस्यान केन्द्र तथा उपकरणको व्यवस्था नभएको।

–कृषकले उत्पादन गरेपछि बजारसम्म आफैं पुर्याउन कठीनाइ हुने अवस्था रहेको।

–काठमाडौं उपत्यकाको तरकारी र फलफूलको माग परिपूर्तिका लागि उपत्यका तरकारी बजार र फलफूल बेच्ने केही सीमित स्थान मात्र रहेको।

–तरकारी स.कलन केन्द्रमा चिस्यान कोठा नभएकाले तत्कालै तरकारी र फलफूल बेच्नुपर्ने अवस्था रहेको। भण्डारण गरी राख्न सकिने अवस्था नभएको।

–तरकारी ढुवानीको उचित व्यवस्था नभएको। ढुवानी साधनमा चिस्याउने प्रविधि नभएको।

–तरकारी तथा फलफूल कारोबार गर्ने व्यक्ति-संस्था सम्बन्धीत निकाय तथा भ्याट, प्यानमा दर्ता नभएको

पढ्नुहाेस् : कालीमाटी तरकारी बजारमा ‘बिचौलिया’ को जगजगी

यी हुन् कार्यदलका सुझाव
–संकलनकर्ताले संकलन केन्द्रमा वा खेतबारीबाछ संकलन गर्दा तरकारीको नाम, परिणाम र मूल्य खुलेको प्यान बिल जारी गर्ने र कृषकलाई दिने।

–कालीमाटी तरकारी बजारमा थोक बिक्रेताले तरकारी खरिद गर्दा अनिवार्य रुपमा प्यान बिल लिने। आफूले खुद्रा बिक्री गर्दा क्रेतालाई प्यान बिल अनिवार्य रुपमा दिने।

–खुद्रा बिक्रेताले ५ केजीभन्दा बढी बिक्री गर्दा अनिवार्य रुपमा प्यान बिल दिने।

–सम्भव भएसम्म थोक बिक्रेता र संकलनकर्ता (ढुवानी गरी ल्याउने व्यवसायी रहेछ भने सो समेत) को काराेबार बैंकिङ प्रणालीबाट गर्नलाई प्रोत्साहन गर्ने। बीलबिजक जारी गरी कारोबार गर्ने तथा कारोबारको विवरण र अभिलेख अद्यावधिक राख्नेलाई प्रोत्साहन, पुरस्कार र अनुदानको व्यवस्था गर्ने।

–खरिदबिक्री गर्ने थोक व्यापारीले खरिदबिक्री खाता अनिवार्य रुपमा सम्बन्धीत निकायमा राख्ने व्यवस्था मिलाउने।

–तरकारी तथा फलफूलको व्यावसायिक कारोबार गर्ने व्यक्ति अनिवार्य रुपमा सम्बन्धीत निकायमा दर्ता हुनुपर्ने र प्यान नम्बर लिएको हुनुपर्ने।

–सटर प्रयोगसम्बन्धी सम्झौता भंग गरेपछि वितरणको स्पष्ट सूचक तयार गरी उत्पादक/समूह/सहकारी वा फर्म/ व्यक्तिलाई सटर/स्टल भाडामा लगाउन सिफारिस गर्ने।

–इजाजत प्राप्त व्यवसायी र मजदुरको कारोबार र व्यापारिक कार्यका क्रममा अनिवार्य रुपमा परिचयपत्र लगाउने तथा व्यवसायीहरुको समन्वयमा उपयुक्त किसिमको पोशाक लगाउनुपर्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याउने।

–सरकारले प्रत्येक गाउँपालिका/नगरपालिकामा संकलन केन्द्रको स्थापना गर्ने। केन्द्रको स्थापना र सञ्चालन गर्न स्थानीय प्रादेशिक तथा केन्द्र सरकारले समन्वय गर्ने।

–संकलन केन्द्रबाट व्यवसायीले थोक बिक्रेतालाई मात्र बिक्री गर्नुपर्ने ।तर, किसान स्वंयले आफ्नो बस्तु बिक्री गर्न चाहेमा कालीमाटी तरकारी तथा फलफूल बजारमा केही क्षेत्र छुट्याउने।

–स्थानीय तहले टोलटोलमा खुद्रा व्यवसायीलाई बजार स्थल उपलब्ध गराइ शुलभ रुपमा टोलवासीलाई फलफूल तथा तरकारी उपलब्ध गराउने व्यवस्था मिलाउने।

–फलफूल तथा तरकारी दैनिक रुपमा बिक्रीवितरण सम्बन्धमा तयार गरिएको मूल्य देखाउने सफ्टवेयरको प्रयोग र प्रचारप्रसार गर्ने।

–कालीमाटी बजार थोक मूल्य र खुद्रा मूल्य अन्य जिल्लामा संकलन केन्द्रमा डिस्प्ले हुने व्यवस्था क्रमशः मिलाउँदै जाने

–कालीमाटी फलफूल तथा तरकारी बजार विकास परिसरमा विषादी प्रयोग परिक्षणको लागि प्रयोगशाला, संयन्त्र भएपनि जनशक्तिको अभाव रहेको र बजार भित्रने फलफूल तथा तरकारी बिहान ३ बजे नै भित्रीसक्ने हुनाले रात्रिकालीन कर्मचारीको समेत व्यवस्थाका लागि २ सिफ्टमा प्राविधिक कर्मचारी खटाउनुपर्ने र सोका लागि कर्मचारी दरबन्दीमा समेत वृद्धि गर्नुपर्ने।

ताजा समाचार

सम्बन्धित समाचार