Thursday, October 3, 2024

हरियाली शहरका लागि वृक्षरोपण

चितवन–भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रको सरसफाइ गरी वृक्षरोपण गर्ने कार्य शुरु गरेको छ ।

महानगरप्रमुख रेनु दाहालको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयको सहयोगमा बजार क्षेत्रमा वृक्षरोपण गरिएको हो । सडकलाई दुई तर्फी सञ्चालन गर्ने गरी बीचमा फुल रोप्न बनाइएको ठाउँमा वृक्षरोपण गरिएको हो ।

सो अवसरमा त्यहाँ रहेका विरुवालाई गोडमेल गरी नयाँ जातका विरुवा रोपिएको हो । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताए ।

उनले भने, “महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ । ”

भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा शहर बनाउन विभिन्न योजना ल्याएको बताए ।

भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नारायणगढ बजारबीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका विरुवा रोपिएको बताए ।

महानगरपालिका– १ का वडाध्यक्ष जयराम श्रेष्ठले शहरलाई हरियाली बनाउनका लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा विरुवा रोप्ने काम भएको बताए।

महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सरसफाइमा लागेको वे गु्रप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न सङ्घ संस्थालगायत सामाजिक अभियानकर्मी सहभागी थिए । अभियानलाई निरन्तरता दिने जनाइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार