Thursday, October 3, 2024

कैलाली पुगेर डल्फिन अवलोकन गरे पर्यटनमन्त्रीले

धनगढी–कैलालीको टीकापुर नगरपालिका ७ ढुंगानाटोलमा डल्फिन अवलोकन तथा डल्फिन उत्सव कार्यक्रम आयोजना भएको छ।

डल्फिनको संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो कायक्रम आयोजना गरिएको हो। कैलालीको पथरैया र मोहना नदी क्षेत्रमा जलस्तर बढेका बेला डल्फिन देख्न पाइन्छ। कर्णाली र मोहना नदीको दोभान चौगुर्दी घाटदेखि पश्चिम हिम्मतपुरसम्मको मोहना नदीमा र यसका सहायक काँडा, पथरैया, कनरा नदीमा डल्फिन जलस्तर बढेका बेला डुल्ने गरेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ ‘गुलेली बाजेले जानकारी दिए।

उनका अनुसार गत साउन महिनामा डल्फिन गणना गरिएको छ। कैलालीको कर्णाली नदीको सहायक नदी मोहनामा झण्डै ५० वटा डल्फिन फेला परेको उनको भनाइ छ।

टीकापुर नगरपालिका ७ ढुंगाना टोलमा आयोजित डल्फिन अवलोकन तथा उत्सव कार्यक्रममा पथरैया नदीमा डल्फिन अवलोकन गर्दै मन्त्री रवीन्द्र अधिकारी ।

पर्यटनमन्त्रीद्वारा डल्फिन अवलोकन
पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले समवृद्धि र विकासको लागि पर्यटन पहिलो प्राथमिकता रहने बताएका छन्। टीकापुर नगरपालिका ७ ढुगांनाटोलमा डल्फिन अवलोकन तथा डल्फिन उत्सव कार्यक्रममा उनले सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा डल्फिन क्षेत्र परेको बताए।

उनले डल्फीन आफैमा पर्यटकीय गन्तव्य रहेकोले जनप्रतिनीधको समन्वयबाट यो क्षेत्रको विकासका लागि काम गर्ने र संघीय सरकारले विकासका लागि पहल गर्नु पर्ने बताए।

टीकापुर नगरपालिका ७ ढुंगानाटोलमा आयोजित डल्फिन अवलोकन तथा उत्सव कार्यक्रम।

डल्फिन संरक्षणका लागि चाहिने पूर्वाधार यसको बासस्थल बनाउनको लागि स्थानीयलाई सरकारको साथ रहने बताए। काठमाडौ पोखरा र लुम्बिनीमा मात्रै अल्झेर बसेको पर्यटनलाई अन्य ठाउँमा पनि पुर्याउने सरकारको योजना रहेको बताए। पर्यटन प्रवद्र्धनका लागि नेपाल भारतका १६ नाकाबाट आउने पर्यटकलाई सहज बनाउन पहल भएको मन्त्री अधिकारीले बताए।

टीकापुरको एयरपोर्टको अध्ययन भैरहेको बताउँदै उनले टीकापुरको हवाइ सेवा काठमाडौबाट भन्दा यसका वरपर हवाइ सेवा जोड्ने र कर्णाली चिसापनी टीकापुर बर्दगोरिया शुक्लाफाँटा सबैको सर्किट बनाएर पर्यटनको विकास गर्ने बताए ।

प्रदेशसभा सदस्य विरभान चौधरीले डल्फिन संरक्षणमा प्रदेश सरकारको पनि ध्यान गएको बताउदै त्यसको संरक्षणको लागि आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने बताए।

कार्यक्रममा डल्फिन संरक्षणमा सहयोग गरेको भन्दै भोजराज श्रेष्ठ ‘गुलेली बाजे’, बेलायती नागरिक जोन, प्राध्यापक मुकेश चालीसे र गायिका चाँदनी मल्ललाई सम्मान गरिएको थियाे।

ताजा समाचार

सम्बन्धित समाचार