Thursday, October 3, 2024

सिंहदरबार पुनर्निर्माण : प्रतिवेदन कुर्दै प्राधिकरण

काठमाडौं– सिंहदरबारको पश्चिमी भागको पुनर्निर्माणबारे अझै अन्यौल रहेको छ। १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमी क्षेत्र पुनर्निर्माण गर्ने कि प्रबलीकरण भन्नेमा विवाद रहेका बेला अध्ययन थालिएको थियो।

तर, अध्ययनको जिम्मेवारी पाएको इन्फ्रास्टक्चर इन्जिनियरिङ्ग रिसर्च एण्ड कन्सलट्यान्ट प्रालिले अझै प्रतिवेदन बुझाएको छैन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले भने, ‘शीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्रतिवेदन प्राप्त भएको अर्को हप्ता निर्णय गर्छौँ र सिंहदरबार पुनर्निर्माणलाई अघि बढाउँछौं।’ उनले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनर्निर्माण गरिने बताए।

प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्ने छ।
सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराको पालामा निर्मित सिंहदरबारको २०३० को आगलागीबाट बचेको मौलिक भाग हो। उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरियो।

उत्तर, पूर्व र दक्षिण प्रबलीकरण जारी
२०३० मा आगलागीबाट नष्ट भई पछि पुनर्निर्माण भएको सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागको भने प्रबलीकरण शुरु भइसकेको छ।

शर्मा एण्ड न्यू टेक्निकल जेभीले प्रबलीकरण शुरु गरेको करीब तीन महिना भएको छ। २४ करोड रुपैयाँको लागतमा प्रबलीकरण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार