Thursday, October 3, 2024

छापामा आजःबाहिरी चक्रपथ निर्माणमा चिनियाँ सरकारी कम्पनीहरू इच्छुक, प्लटिङले भासियो जमिन

आज प्रकाशित दैनिक पत्रपत्रिकाले विकास निर्माणका विषयलाई प्राथमिकताका साथ उठान गरेका छन् ।

नागरिक
आजको नागरिक दैनिकको पृष्ठ १ मा ‘खनिजमा मौलायो माफियातन्त्र,कब्जा गर्ने होडबाजी’ शीर्षकमा दिपेश केसीले लेखेको समाचार छापिएको छ ।

देशभर खनिज पदार्थका क्षेत्रमा माफिया मौलाउँदै गएको छ। राजनीतिक दलका माथिल्लोदेखि तल्लो तहसम्मका भ्रष्ट नेताकार्यकर्ता, कर्मचारी, सुरक्षा निकायका भ्रष्ट व्यक्तिहरू र आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले सेटिङ मिलाएर खनिजमा चलखेल गर्दै आएका हुन्। उनीहरूले खानी दर्ता, ­ला­इसेन्स कब्जा र सञ्चालनमा सेटिङमा काम गरिरहेको पाइएको छ।

एउटै व्यक्ति र कम्पनीका नाममा भिन्नभिन्न खानी रहेको तथ्य नागरिकले फेला पारेको छ । कानुनी छिद्र दुरुपयोग गरी कब्जा गर्ने र गलत शैलीमा सञ्चालन गरिएबाट खानीमा आपराधिक क्रियाकलाप मौलाउँदै गएको छ । माफियाहरूबीच खनिज कब्जा गर्ने होडबाजी नै चलेको छ। गत आर्थिक वर्षमा ४४ वटा खानी दर्ता भएका छन् जुन पछिल्लो दस वर्षमा सबैभन्दा बढी हो ।

नागरिकमा पुननिर्माण अलपत्र पर्दा संकटमा गुम्बाको गाउँ,पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु शीर्षकका पनि समाचार छाएिको छ ।

अन्नपूर्ण पोस्ट
‘जहाँ सडकै छैन,त्यही गाडी’शीर्षकमा अन्नपूर्ण पोस्टको पृष्ठ १ मा छापिएको छ । जाजरकोटको छेडागाड नगरपालिकाले ८० लाखको एउटा स्कारपियो र ६ वटा मोटरसाइकल किनेको छ। तर छेडागाडका कुनै पनि वडामा मोटरबाटोको सुविधा छैन। कच्ची सडक सञ्जालसँग नजोडिएको बारेकोट गाँउपालिकाले पनि दुईवटा मोटरसाइकल किनेको छ। कुशे गाँउपालिकाले दुई वटा बाइक खरिद गरेको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए। उनले गाउँपालिकालाई सामान्य प्रशासन मन्त्रालयले स्कारपियो दिन सहमति जनाइसकेकाले खरिद गर्नुपर्ने अवस्था नरहेको बताए।

‘बाहिरी चक्रपथ निर्माणमा चिनियाँ सरकारी कम्पनीहरू इच्छुक’शीर्षकमा राजु बास्कोटाले लेखेको समाचार प्रकाशित छ ।
उपत्यकाको बाहिरी चक्रपथ बनाउन २४ वटाले चिनियाँ सरकारी कम्पनीले इच्छा देखाएका छन्। जग्गा एकीकरण गरेर निर्माण प्रक्रिया अगाडि बढाउने टुंगो नलाग्दै चीनले नेपालको परराष्ट्र मन्त्रालयमार्फत इच्छुक सरकारी कम्पनीको सूची बुझाएको छ। यसैगरी चीनका निजी कम्पनी पनि चक्रपथ बनाउन निरन्तर सम्पर्कमा आइरहेका छन्। ७२ किलोमिटरको पूरै सडक बनाउन इच्छा व्यक्त गर्दै आवेदन हाल्ने सरकारी कम्पनी २४ वटा रहेको बाहिरी चक्रपथ विकास आयोजनाले जानकारी दिएको छ।

चीनले नेपाललाई बाहिरी चक्रपथ निर्माण गर्दा चिनियाँ सरकारी कम्पनीसँग सहकार्य आग्रह गर्दै ती कम्पनीको सूची उपलब्ध गराएको छ। चीनले बाहिरी चक्रपथ चिनियाँ सरकारी कम्पनीमार्फत नै बनाउन चाहेको पनि सुझाव सूचीमा उल्लेख छ।

उपत्यका विकास प्राधिकरणले अगाडि बढाइरहेको बाहिरी चक्रपथ निर्माणको फाइल अहिले सहरी विकास मन्त्रालयमा छ।
‘२७ हजार भूकम्पपीडितले अझै घर बनाएनन्’,हनुमन्तेको बाढी रोक्न योजना माग,पहरी बस्तीमा खानेपानी अभाव,जग्गा नपाउँदा पुनर्निर्मामा प्रभावित,जोखिमका बस्तीको भौगर्भिक अध्ययन गरिने,डिभिजन वन कार्यालय स्थापना,पुल नहुँदा सास्ती शीर्षकमा पनि समाचार छापिएको छ ।

नयाँ पत्रिका
‘पर्यटनमा नयाँ गन्तवय किन आवश्यक ?’शीर्षकमा यादवप्रसाद पाण्डेको विचार छापिएको छ ।

अहिले टुरका लागि काठमाडौं उपत्यका, चितवन, पोखरा र लुम्बिनीबाहेकका नयाँ गन्तव्य विकास हुन सकेको छैन । त्यसरी नै खुम्बु, लाङटाङ, अन्नपूर्ण र मनास्लुलगायत सीमित गन्तव्य पदमार्गका लागि प्रख्यात छन् । तसर्थ, नयाँ गन्तव्य आवश्यक छ । तर, नयाँ गन्तव्य पहिचान र प्रवद्र्धन गर्ने क्रममा सरकारले पहिलो चरणमा कम लगानीमा तत्काल फाइदा लिन सकिने सडक सञ्जाल र हवाई यातायातको पहुँच सहज भएका गन्तव्य रोज्न सक्छ । दोस्रो चरणमा केही टाढाका गन्तव्यको विकास गर्न सकिन्छ ।

गन्तव्यको विकास गर्दा त्यहाँ जाने मात्र होइन, खाने र बस्नेसहितको अतिरिक्त गतिविधिबाट रमाउन सकिने प्याकेज के–के दिन सकिन्छ ? त्यो सरकारले नै प्रस्ट पार्न सक्नुपर्छ ।

‘पर्यटक नआउँदा अन्नपूर्ण पदमार्ग होटल संकटमा’शीर्षकमा शान्ता कमलीले लेखेको समाचार छापिएको छ । जताततै सडक निर्माण भएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । लमजुङको बेँसीसहरदेखि हिमाली जिल्ला मनाङको चामेसम्म सीधै मोटर सञ्चालन भएपछि पदमार्ग क्षेत्रका होटेल व्यवसाय संकटमा पर्न थालेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडाका दिनेश घिमिरेले २५ वर्षदेखि गाउँमै होटेल माउन्टेन भ्यु सञ्चालन गर्दै आएका छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उनको होटेलमा आठ वर्षअघिसम्म पर्यटकको चहलपहल निकै थियो । तर, अहिले उनको होटेलमा पर्यटक आउनेक्रम घटेको छ । उनको होटेलमा वास बसेर जाने पर्यटक यतिवेला सीधै जिपमा मनाङ जाने गर्छन ।

नेपाल समाचारपत्र
आजको समाचारपत्रले ‘फोहोर व्यवस्थापनमा दैनिकजसो अवरोध’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।
सिसडोल ल्यान्डफिल साइटमा दैनिकजसो भएको अवरोधले काठमाडौ महानगरपालिकालगायतका स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

सोमबार बिहान सिसडोलस्थित बलामी गाउँका स्थानीयबासीले फोहोर बोक्ने आधा दर्जन सवारीसाधनको टायरको हावा खोलेर बाटो अवरोध गरेका थिए । निजी सवारी साधनको हावा खोलेको कारण सबै सवारीसाधन बाटोमै रोकिएको थियो । अहिले राजधानीको फोहोर व्यवस्थापनमा दैनिकजसो अवरोध हुन थालेको छ । वर्षा र सवारीसाधन अवरोधले गर्दा आइतबारसम्म जम्मा ९१ ट्रिप फोहोर व्यवस्थापन गर्न सकिएको कामपाले जनाएको छ, जबकि सिसडोलमा दैनिक १ सय ५० को हाराहारीमा फोहोर व्यवस्थापन हुने गरेको थियो ।

गोरखापत्र
‘बाटोले छोएन डुम बस्तीलाई’शीर्षमा सिरहाको समाचार छापिएको छ । राज्य पुनःस.रचनापश्चात् पाँच वटा गाविसमा समायोजना भई बनेको सिरहाको सखुवानाक्कट्टी गाउँपालिकाले आफ्नो पहिलो आर्थिक वर्षको बजेटको अधिकाशं भाग बाटोघाटो,पुलपुलेसो र सडक निर्माणमा खर्चियो तर सोही गाउँपालिका ५ स्थित पासवास टोलको डुम बस्तीमा भने अहिलेसम्म बाटो पुगेको छैन ।

जंगली हात्तीले बालीनाली नष्ट, छ घरमा क्षती’ आठ सय घरधुरीमा खानेपानी,जन्मदिनमा वृक्षरोपण अभियान,हाब्रे संरक्षणमा जनप्रतिनिधि सक्रिय शीर्षकका समाचार पनि आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

कान्तिपुर
‘हात्तीबाट बच्न चिया’शीर्षकमा पृष्ठ १ मा समाचार छापिएको छ । धानबाली होस् कि कोदोबारी । मकैबारीदेखि खरबारीसम्म हात्तीले केही नराख्ने । भएभरको लगानी र श्रम हात्ती आतंकले खेरै जाने भएपछि बाहुनडाँगीका बासिन्दाले नौलो जुक्ति निकाले । अन्नको साटो किसानले चिया खेती रोज्न थाले ।

हात्तीले मन नपराउने र चियाबारीमा पसे पनि खासै नचलाउने भएपछि क्षति रोकिएको छ । ‘हात्तीले चिया खाँदैन । बारीमा पसे पनि तर्केर हिँड्छ,’ कृषकहरू हात्तीबाट बाली जोगाउन चियाप्रति आकर्षित भएको जानकारी दिँदै जिल्ला वन कार्यालयका डीएफओ बोधराज सुवेदी भन्छन ।

‘अनुमति दिइएको छैन’शीर्षकमा दामोदर न्यौपानेले लेखेको समाचार छापिएको छ । पुरातत्व विभागले पशुपति क्षेत्रको मुख्य वन सम्पदा श्लेष्मान्तमा सिमेन्ट राख्न अनुमति नदिएको दाबी गरेको छ । पशुपति क्षेत्र विकास कोषले पुरातत्त्वको अनुमति लिएर ढुंगा अडाउन सिमेन्ट प्रयोग गरेको बताएपछि पुरातत्त्व विभागले नदिएको प्रतिक्रिया दिएको हो ।

‘हामीले सिमेन्ट राख्ने अनुमति दिएका छैनौं,’ विभागको विश्वसम्पदा शाखाका प्रमुख वरिष्ठ पुरातत्त्व अधिकृत सुरेश सुरस श्रेष्ठले भने, ‘यस विषयमा छानबिन गर्छौं ।’

‘प्लटिङले भासियो जमिन’शीर्षकको समाचार कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ ।
बूढानीलकण्ठ नगरपालिका–५ को टुसाल क्षेत्रमा अव्यवस्थित प्लटिङका कारण जमिन भासिएको विज्ञहरूले जनाएका छन ।

सोमबार जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, भूगर्भ विभाग, जिल्ला भू–संरक्षण कार्यालय, प्रहरीलगायतको टोलीले उक्त स्थानको निरीक्षणपछि उक्त निष्कर्ष निकालेको हो ।
जिल्ला भू–संरक्षण कार्यालय काठमाडौंका सहायक भू–संरक्षण अधिकृत विनोद ज्ञवालीले भूमिको गलत प्रयोग भएकाले यस्तो अवस्था आएको बताए ।  सिंहदरबारको पश्चिम मोहडा झन् कमजोर र म्याद थप्दा थप्दै ७ वर्ष शीर्षकका समाचार पनि छापिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार