Thursday, October 3, 2024

सम्पदाको पुनर्निर्माण प्राचिन शैलीमा : सिइओ ज्ञवाली

काठमाडौं–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणमा प्राचिन शैली र ऐतिहासिक महत्वलाई कायम राख्न आवश्यक भएको बताएका छन्।

रानीपोखरी पुनर्निर्माणमा देखा परेको समस्याबारे छलफल गर्न पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा ज्ञवालीले पुरानो स्वरुपमा बनाउँदा त्यसको प्रमाणिकतालाई पनि जोड दिनुपर्ने बताए।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर मल्लकालीन शैली कि जंगबहादुर राणाको समयमा निर्माण भएको गुम्बज शैलीमा बनाउने भन्ने अन्योल जारी रहेका बेला सिइओ ज्ञवालीले यसको टुंगो लगाउनका लागि केही पक्षमा स्पष्ट हुन जरूरी रहेको बताए।

एक सय वर्षअघिका सम्पदालाई कसरी प्रमाणित गर्ने, देखेको शैली अम्बलम्बन गर्ने कि त्योभन्दा अघिल्लोमा जाने लगायतका पक्षमा स्पष्ट हुनुपर्ने भन्दै उनले रानीपोखरीको पुनर्निर्माणबारे संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग थप छलफल गरेर छिट्टै टुंगो लगाइने बताए।

छलफलमा विज्ञहरुले रानीपोखरी मल्लकालमा निर्माण भएकाले मल्लकालीन शैलीमा बनाउनुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले पुनर्निर्माणलाई अवसरका रुपमा लिनुपर्ने र पहिलेकै शैलीमा जानुपर्ने बताएका थिए।

छलफल कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ सदस्यहरु धु्रव शर्मा, डा.चन्द्रबहादुर श्रेष्ठ, डा. विष्णुबहादुर भण्डारी, संस्कृति, नागरिक तथा पर्यटन उडड्यन मन्त्रालयका सहसचिव नीता पोखरेल अर्याल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, विज्ञहरु विष्णुराज कार्की, सुदर्शनराज तिवारी, पे्रमनाथ मास्के, साफल्य अमात्य, डा. रमेशकुमार ढुंगेल, चन्द्रप्रसाद त्रिपाठी, काशीनाथ तमोट, भीम नेपाल, प्राधिकरणका सहसचिवहरु मुकुन्दप्रसाद निरौला, राजुमान मानन्धर लगायत उपस्थित थिए।

ताजा समाचार

सम्बन्धित समाचार