Thursday, October 3, 2024

छापामा आज :सडकको अराजकता, कोसी ब्यारेज पीडितद्धारा भारतसँग क्षतिपूर्ति माग

काठमाडौं– प्लास्टिक झोला प्रतिबन्ध नगर्न सर्वोच्च अदालतलले जारी गरेको अन्तरिम आदेशलाई आजका प्राय सबै दैनिक पत्रपत्रिकाले प्रकाशित गरेका छन्।

साथै पहिरोको जोखिम,धरहरा पुनःनिर्माण, मेलम्ची खानेपानी आयोजनालाई सुरूङ निर्माणमा नयाँ प्रविधि अपनाउन सुझाव शीर्षकमा समाचार छापिएका छन् ।

आर्थिक अभियान
अभियानको पृष्ठ ५ मा ४० ‘माइक्रोनभन्दा कमको प्लाष्टिक झोला निषेध गर’ शीर्षकको समाचार प्रकाशित छ ।

सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा कमको प्लाष्टिक झोलालाई उपत्यकामा प्रयोगमा ल्याउन नदिन आइतवार सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलाशले सो आदेश दिएको सम्बन्धित इजलाश अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए ।

पृष्ठ २३ मा टिपी भुसालले ‘पर्यटन बजारः नयाँ सम्भावनाको शिखरतर्फ’शीर्षकमा विचार लेखेका छन् । ‘धरहरा निर्माण २ वर्षमाः जीआईईटीसी–रमनको साढे ३ अर्ब प्रस्ताव’शीर्षकमा पूर्णभक्त दुवालले लेखेको समाचार छापिएको छ ।

भूकम्पबाट क्षतिग्रस्त धरहरा ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा पुनर्निर्माण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव आइतवार खोलिएपछि उक्त लागतमा बन्ने पक्कापक्की भएको हो । ६ ओटा कम्पनीले प्रस्ताव हालेकोमध्ये सबैभन्दा कम प्रस्ताव जीआईईटीसी–रमन कम्पनीको परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।

गोरखापत्र
‘सडकको अराजकता’ शीर्षकमा डा.सुरेश आचार्यको विचार गोरखपत्र दैनिकको पृष्ठ ४ मा छापिएको छ ।

सडक गाडी गुडाउनकै लागि हो । यसको अर्थ जेजस्ता गाडी पनि जुनसुकै सडकमा कुदाउन पाउनु व्यवसायीको नैसर्गिक अधिकार होइन । सडक निर्माण गरिँदा त्यो रुटमा कस्ता गाडी सञ्चालनमा आउँछन् भन्ने आधारमा त्यसको निर्माण गरिएको हुन्छ । गरिनुपर्छ । राजमार्ग र अरू मार्गमा हुने भिन्नता नै यही हो । जापान सरकारले बनाइदिएको कोटेश्वर – सूर्य्विनायक खण्ड आज दश वर्षसम्म किन खास समस्या नआई चलिरहेको छ र प्रधानमन्त्रीको आवागमन हुने बालुवाटार – सिंहदरबार खण्डमा किन बर्से्नि कालोपत्रे (पिच) भर्नु परेको छ ? सडकको गुणस्तरको मापनका लागि यो उदाहरण आफैँमा पर्याप्त छ ।

सडकको मोड, पिचको गुणस्तर, यातायातका साधनको चापका आधारमा कुन रुटमा कस्ता साधनलाई अनुमति दिने भन्ने व्यवस्था हुनुपर्ने हो तर अहिले राजधानीमा थपिएका यातायातका साधन हेर्दा त्यो मापदण्ड भएको अनुभव गर्न सकिँदैन ।

‘कोसी ब्यारेज पीडितद्धारा भारतसँग क्षतिपूर्ति माग’शीर्षकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेको समाचार छापिएको छ ।
कोसी ब्यारेजका कारणले सयौँ हेक्टर खेतीयोग्य जमिन कटान भएको र बस्तीमा क्षति पुगेको भन्दै कोसी ब्यारेज पीडितले भारत सरकारसँग दुई अर्ब ५९ करोड रुपियाँ क्षतिपूर्ति माग गरेका छन् ।

नेपाल भारतबीच भएको कोसी सम्झौता विपरीत भारतीय पक्षले ब्यारेजभन्दा दक्षिणतर्फ कोसी नदीको पानी पश्चिम नेपालतर्फ बगाउँदा सप्तरीका जोगनियाँ, हनुमाननगर र गोबरगडा क्षेत्रमा बर्से्नि क्षति हुने गरेको भन्दै कोसी सङ्घर्ष समिति, कोसी विस्थापित समाज र कोसी विस्थापित परिवार समाज सप्तरीले प्रधानमन्त्री, गृहमन्त्री तथा परराष्ट्रमन्त्रीलाई पहल गरिदिन आग्रह गरेका छन् ।

बिमस्टेकको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला नेपालस्थित भारतीय राजदूतावासलाई ज्ञापनपत्र बुझाइएको कोसी सङ्घर्ष समितिले जनाएको छ ।

आजको गोरखापत्रको पृष्ठ ३ मा ‘पहिरोमा तीन बालबालिका पुरिए’शीर्षकमा समाचार छापिएको छ । त्यसैगरी वर्षाले पूर्व–पश्चिम सडक अवरुद्ध,तुइनका लागि लठ्ठा आश गर्दै ढोरपाटनवासी,उपचार छाडेर बाढीीिडितको उद्धार,दमकमा हात्ती आतङक,लोपोन्मुख जडीबुटी संरक्षण गरिँदै शीर्षकमा समाचार छापिएका छन् ।

नयाँ पत्रिका

नयाँ पत्रिकाले पनि ‘प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश’ शीर्षकको समाचार छापेको छ ।
सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयको नाममा सो अन्तरिम आदेश जारी गरेको हो ।

‘नेपाल–चीन प्रतिनिधिबाट तातोपानी नाकाको निरीक्षण’ शीर्षकमा रामकृष्ण थापा सिन्धुपाल्चोकबाट लेखेको समाचार छापिएको छ ।

तातोपानी नाकाको अवस्था बुझ्न चीनको स्वशासित क्षेत्र तिब्बतको सरकारी टोली खासाको मितेरी पुल हुँदै बाह्रबिसे नगरपालिकासम्म आइपुगेका छन । आइतबार बिहानै लिपिङ प्रवेश गरेका चिनियाँ टोलीलाई नेपाली सरकारी टोलीले बिहान ७ बजे नयाँ पुलमा स्वागत गरे ।

द लास्ट रिसोर्टमा ब्रेकफास्टपछि बाह्रबिसे झरेका टोलीलाई नगरपालिकामा जनप्रतिनिधिले फेरि स्वागत गरेका थिए । त्यसपछि नेपाल–चीनका सरकारी प्रतिनिधिमण्डलले संयुुक्त रूपमा सीमाक्षेत्रको निरीक्षण गरेका छन् । चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले जिम्मा लिएर काम गर्दै आएको सडक क्षेत्रको प्रगति टोलीले निरीक्षण गरेको होे । प्रतिनिधिमण्डलले जुरे पहिरोदेखि मितेरी पुलसम्मको निरीक्षण गरेको थियो ।

नेपाल समाचारपत्र
आजको समाचारपत्रको पहिलो पृष्ठमा ‘सुरूङ नयाँ प्रविधि अपनाउन एडीबीको आग्रह’ शीर्षकमा समाचार प्रकाशित छ । मेलम्ची खानेपानी आयोजनालाई ‘सुरूङ निर्माणमा नयाँ प्रविधि अपनाउन एसियाली विकास बैंक(एडीबी)ले सुझाव दिएको छ ।

‘४ सय घर पहिरोको उच्च जोखिममा’शीर्षकमा नुवाकोटको समाचार छापिएको छ । नुवाकोटमा पहिरो प्रभावित हुनेहरुको संख्या ४ हजारभन्दा बढी रहेको पाइएको छ । भने उच्च जोखिममा रहेनेको संख्या करिब ४ सय घरधुरी रहेको तथ्यांक सार्वजनिक भएको छ ।

सल्यानका अधिकांश घर पहिरोको जोखिममा र बाजुरामा ४ जातका रैथाले गिद्ध शीर्षकमा पनि समाचार छापिएको छ ।

राजधानी
आजको राजधानी दैनिकको पहिलो पृष्ठमा ‘प्लास्टिक झोला प्रतिबन्ध नगर्नुःसर्वोच्च’शीर्षकको समाचार प्रकाशित छ । सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक झोला प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । प्लास्टिक उद्योगीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोला नियन्त्रण गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सोही पृष्ठमा ‘धरहरा पुननिर्माण, ३ अर्ब ४५ करोडको प्रस्ताव’शीर्षकमा समाचार प्रकाशित छ । भूकम्पबाट क्षतिग्रस्त भएको धरहरा पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणले आह्वान गरेको ठेक्काको आर्थिक प्रस्ताव लामो समयपछि आइतबार खोलिएको छ ।

प्राधिकरणले खोलेको प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जीआईईटीसी–रमन रहेको छ । यसले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी ‘साइकलबाटै सोमनाथदेखि पशुपतिनाथसम्म’ शीर्षकको समाचार छापिएको छ । सगरमाथा आरोहण तथा भारतको हरियाण राज्यकी बेटी बचाऔं बेटी पढाओ अभियानकी ब्रान्ड एम्बेस्डर साइक्लिस्ट रोटरियन सुनीता सिंह चोकन साइकलबाटै पाँच हजार किलोमिटर यात्रा गरी काठमाडौं आइपुगेकी छिन् ।

ताजा समाचार

सम्बन्धित समाचार