Friday, September 20, 2024

संघीयतामा सिमसार र भोलिको दायित्त्व

परिचय
नेपाल भूपरिवेष्ठित पहाडी मझौला खालको मुलुक हो। तराई, पहाड र हिमाल नेपालका मौलिक भौगोलिक विशेषता हुन्। नेपाल विश्व मानचित्रमा जनसंख्याको दृष्टिकोणले करीब ५०औं स्थानमा पर्दछ, भने क्षेत्रफलको हिसावले ९३औं स्थानमा पर्दछ।

लेखक डा. महेश्वर ढकाल।

उत्तरबाट दक्षिणतर्फ अविरल बग्ने ठूल्ठूला कोसी, गण्डकी, कर्णाली र महाकाली नदी तथा ती नदीहरूबाट उत्पादन हुन सक्ने जलविद्युत, सिंचाइ, खानेपानी र जल यातायातको बारेमा प्रसस्त सम्भावाना भएको मुलुक हो नेपाल।

त्यसैगरी नेपाल जैविक विविधताका लागि पनि त्यत्तिकै चिरपरिचित मुलुक हो। सानादेखि ठूला ताल तलैया, पोखरी, ढाब र सेपिलो पानी पाइने क्षेत्रहरूले तराईदेखि पहाड हुँदै हिमालसम्म विविध प्रकारको वनस्पति, जीवजन्तु र तिनको पारिस्थितिकीय प्रणाली कायम राख्नका लागि ठूलो भूमिका निभाउदै आएका छन्।

ती जैविक विविधता र ताल तलैया तथा नदीका किनारा मानव सभ्यताका दृष्टिकोणले मात्र अलौकिक छैनन्, त्यो भन्दा बढी स्वदेश र विदेशी पर्यटकका आकर्षण गन्तव्यका दृष्टिकोणले पनि उत्तिक्कै महत्त्वपूर्ण मानिन्छन।

यस लेखमा नेपालका सिमसार क्षेत्रलाई आधार मानेर कसरी पर्यापर्यटन गर्न सकिन्छा भनेर चर्चा गर्न खोजिएको छ।

नेपालमा सिमसार क्षेत्रको अवस्था
नेपाल भूपरिवेष्ठित भएर पनि खोलानाला र ताल तलैयामा धनी छ। तथ्यांकअनुसार देशको कुल भूभागको करिव ५ दशमलव ५५ प्रशित भाग सिमसार क्षेत्रले ढाकेको छ। प्रायजसो सबै नदीनाला उत्तरबाट दक्षिण बगेका छन्।

हिमालबाट उत्पति हुने नदीहरू पहाड हुँदै तराई भएर बगेका र ती नदी तीव्र गतिमा बगेका हुँदा ति नदीले सिंचाइ, खानेपानी, जलविद्युत र पर्यापर्यटनका प्रशस्त सम्भावना बोकेका छन्। नदीनालाका किनार, पहाडका टुप्पा र भीरपाखा साहासिक पर्यटनका लागि आकर्षक गन्तव्य स्थान मानिन्छन।

नेपालमा हिमनदी, हिमताल, खोलानाला, तालतलैया, कुवा, पोखरी र पानी लाग्ने खेतहरू समग्रमा सिमसार क्षेत्र हुन्। यी मध्ये खोलानालाले ४८ दशमलव २५ प्रतिशत सिमसार क्षेत्र, पानी लाग्ने खेतवारीक्षेत्रले ४८ दशमव ६५ प्रतिशत र बाँकी तालतलैया र पोखरी तथा कुवाले ३ दशमलव २५ प्रशित क्षेत्र ओगटेका छन्।

पछिल्ला दिनमा जलवायु परिवर्तनका असर र यसको रोकथाम अर्थात् अनुकूलन र समयानुकूलको बारेमा व्यापक छलफल र बहस तथा अध्ययन अनुसन्धान हुन नसक्दा सिमसार क्षेत्र झनै ओझेलमा परेको भान हुन्छ।

फेवाताल। तस्वीर : विद्या राजपुत।

सिमसार तथा रामसार क्षेत्रको महत्त्व र पर्यापर्यटनको सम्भावाना
यी सिमसार क्षेत्रहरू पारिस्थितिकीय र आर्थिक दृष्टिकोणले मात्र होइन, भौतिक, सांस्कृतिक र स्वस्थ्यको दृिष्टकोणबाट पनि निकै महत्त्वपूर्ण क्षेत्र मानिन्छन।

पृथ्वीको सतहमा रहेका दूषित र फोहोर पदार्थ शोसेर लिने र सतहमा रहेको पानीलाई सफा राख्न सिमसार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने भएको हुँदा सिमसार क्षेत्रलाई पृथ्वीको मृगौला पनि भनिन्छ। सिमसार क्षेत्र वनस्पति, वन्यजन्तु र समग्र जैविक विविधताका संगमस्थल पनि हुन्।

जैविक विविधताका दृष्टिले सिमसार क्षेत्र सबैभन्दा धनी र संवेदनशील क्षेत्र मानिन्छन्। यिनको संरक्षण गर्नु मानव जातिको प्रमुख दायित्त्व हो। इतिहासलाई फकेर हेर्दा पनि सिमसार भएका ठाउँ मानव सभ्यता र सांस्कृतिक दृष्टिकोणले पवित्र मानिन्छन्।

सिमसार क्षेत्र वरिपरी बस्ने आदिवासी जनजाति र स्थानीय समुदायकाको जीवन तुलान्नात्मक रुपमा स्वच्छ, स्वस्थ र समृद्ध देखिन्छ। कति सिमसार क्षेत्र त भगवानको बास बस्ने ठाउँ ‘देवताको स्थान’ भनि पूजा गर्ने चलन पनि छ।

संसारभर जति पनि शहरी क्षेत्रको विकास र समृद्धि भएको छ, सिमसारबाट उत्पादन हुने वस्तु र सेवाको कारणबाट सम्भव भएको हो। सायद यीनै कारणले होला नेपालको संविधान (२०७२) ले सिमसार क्षेत्रको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनलाई यथेस्ट महत्व दिएको देखिन्छ।

सिमसार क्षेत्रको बहुआयामिक महत्व र महिमाका कारण सन् १९७१ मा इरानको रामसार शहरमा सिमसार सम्बन्धि महासन्धि पारित भै सन् १९८८ बाट नेपाल पनि पक्ष राष्ट्र भएर काम गर्दै आएको छ। पछिल्लो तथ्यांकअनुसार हाल रामसार महासन्धिमा १६९ राष्ट्र आवद्ध छन्। रामसार क्षेत्रले विभिन्न देशका गरेर २ हजार २ सय ९३ सिमसार क्षेत्र सूचीकृत गर्न सफल भएका छन्, भने ती सिमसार क्षेत्रले करीब २ सय ३० मिलियन हेक्ट क्षेत्रफल ओगटेका छन्।

हालसम्म नेपालका १० वटा रामसार क्षेत्र रामसारमा सूचीकृत भएका छन्। कोसी टापु नेपालको पहिलो रामसार क्षेत्र हो, भने पोखरा उपत्यकामा रहेका नौ वटा तालको सञ्जाल सबैभन्दा पछि रामसार सूचीमा सूचीकृत भएको रामसार क्षेत्र हो।

सिमसार क्षेत्र बच्चादेखि बृद्धसम्म सबै उमेर समूहका मानिसका लागि आकर्षक केन्द्र हुन्। त्यति मात्र नभएर साहासिक पर्यापर्यटनका गरिने गतिविधि जस्तो स्काइडाभिंग, हट एयर ब्यालुन, प्याराग्लाइडिङ, बन्जिजम्पिंग, पारा मोटोरिंग, माउन्टेनबाकिंग, माउन्टेन म्याराथन, क्यानोइंग, माइक्रो फलाइट पर्यटकका लागि सबैभन्दा बढी मन पर्ने गतिविधि हुन्। यसका लागि पोखराको फेवाताललाई उदाहरणको रुपमा लिन सकिन्छ।

त्यहि भएर पनि होला विदेशबाट नेपाल आउने पर्यटकले एक पटक पोखरा पुगेनन् भने आफ्नो भ्रमणलाई खल्लो महसुस गर्दछन। र, पुनः नेपाल आउने इच्छा व्यक्त गर्दछन्। पर्यटक फेवातालमा चरा अवलोकन, पौडी, डुंगा सयर, फोटोग्राफी, फिसिंग, हाइकिंग जस्ता गतिविधिमा संलग्न भएर आनन्द लिने गर्दछन्। त्यस्तैगरी सिमसार क्षेत्र धार्मिक पर्यटनका दृष्टिकोणले पनि महत्त्वपूर्ण क्षेत्र मानिन्छन्।

फेवातालको बीचमा रहेको बाराही मन्दिर, कोसी नदीको किनारमा रहेको चतरा, त्रिवेणी, घोडाघोडी ताल, मुक्तिनाथ, गोसाइँकुण्ड ताल, जनकपुरको गंगासागर आदि यस्ता उदाहरण हुन्। जसले पारिस्थिकीय, आर्थिक र सामाजिक मात्र होइन धार्मिक दृष्टिकोणले पनि महत्त्व मानिन्छन्।

त्यस्तैगरी कालिगण्डकी, त्रिशुली, कोसी र कर्णाली नदीमा गरिने र्या्फ्टिङ तथा रारा तालमा गरिने डुंगा सयर सिमसार क्षेत्रमा प्रवर्द्धन गर्न सकिने पर्यापर्यटन गतिविधि हुन् भन्दा अतिस्योक्ति नहोला।

घोडाघोडी ताल । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

सिमसार क्षेत्रका चुनौती
जनसंख्या बृद्धिसँगै हुने बसाइसराइँ र शहरीकरण बढ्दै जाँदा सिमसार क्षेत्रको अतिक्रमण हेर्न पोखराको फेवा ताल र काठमाडाैंको बागमतीको किनारलाई मात्र हेरे पुग्छ। र, हाम्रो परम्परगत अभ्यास बाबुआमा बृद्ध हुँदै जाँदा एउटा चौतारी निर्माण गरेर वरपिपल रोप्ने र त्यसको नजिकै एउटा पोखरी खन्ने चलन पनि हराउँदै गएको छ।

इन्जिनियरिङ नाप नक्सा बिना पहाडी क्षेत्रमा तत्कालीन गाउँ विकास समिति र जिल्ला विकास समितिले जथाभावी मोटरबाटो खन्दा वर्खाको भेलसँगै ढुंगा माटो बगेर धेरै ताल तलैया पुरिएको अवस्था छ।

र, कतिपय क्षेत्रमा त सस्तो राजनीतिक लोकप्रियताको लागि यसरी बाटो खन्दा बर्खायाममा बाढीपहिरो गएर ठूलो धनजन भएको यथार्थ पनि हामी सबैको सामु ताजै छ। सिमसार क्षेत्र स्वभावले नै साझा विषयबस्तु र विभिन्न क्षेत्रसँग अन्तरसम्बन्धीत अर्थात् क्रस–कटिंग प्रकृतिका हुन्छन्।

सिमसार क्षेत्रले जलवायु परिवर्तन हुनबाट रोक्ने मात्र नभई हुँदै गरेको परिवर्तनको गतिलाई काम अर्थात न्यूनीकरण गर्ने दुवै काम गर्दछन्। कतिपय सिमसार क्षेत्र बोलीचालीमा साझा छन् भनेर सबैले भन्ने तर संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गर्नु प¥यो भने कसैले पनि अपन्त्त्व र जिम्मेवारी नलिने चलन पनि छ।

तर, वर्तमान संविधानमा स्थानीय सरकारलाई तालतलैयाको संरक्षण र सम्वद्र्धन गर्न तोकेर जिम्मेवारी दिएको हुँदा आउदा दिनमा सिमसार क्षेत्रको संरक्षण हुनेमा आशा गर्न सकिन्छ। आउदा दिनमा गाउँबस्ती र सहरमा भएका तालतलैयालाई विशेष महत्त्वका साथ संरक्षण नगर्ने हो भने भोलिका दिनमा नेपाल र नेपालीले पानीको ठूलो समस्या झेल्नु पर्ने देखिन्छ।

एक अध्ययन अनुसार पृथ्वीको सतहमा भएका सिमसार क्षेत्रले वन क्षेत्रले संचय गर्र्नेभन्दा दुई गुणा बढी कार्बन संचय गर्ने क्षमता राख्दछन। नेपालको हिमाली क्षेत्रमा रहेका ‘पिटल्याण्ड’ ले प्रशस्त कार्बन संचय गरेको अनुमान गरिन्छ। यद्धपी यस सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ।

त्यस्तैगरी नदीको किनारलाईमाथि उठ्न नदिने र एउटा प्राकृतिक रक्षा कवचको काम गरेर बाढी,पहिरो अतिवृष्टि, अनाबृष्टि रोक्न पनि सिमसार क्षेत्रको ठूलो भूमिका रहेको हुन्छ। जसले खडेरी घटाउन, तापक्रमलाई बढ्न नदिन र जीवको लागि जीवनदाताको काम गर्दछन्। आउदा दिनमा प्राकृतिक विपत्तिबाट बच्न, बचाउन र सुखद भविस्यको लागि सिमसार क्षेत्रको संरक्षण नगरी सुख छैन।

त्यसमा पनि शहरी क्षेत्रमा रहेका सिमसार क्षेत्रको मानव जातिका लागि अपार महत्त्व देखिएको हुँदा यिनलाई विशेष गरी दुई दृष्टिकोणले बुझ्नु र व्याख्या गर्ने तथा त्यही अनुरुपको संरक्षण, सम्वद्र्धन र व्यवस्थापन तथा उपयोग गर्ने कार्यक्रम ल्याउनुपर्ने हुन्छ।

नेपालको संविधानले तीन तहमा अलगअलग सरकारको परिकल्पना गरेको छ। र, संविधानको अनुसूची (५ ) मा सिमसारलाई संघीय सरकारको एकल सूचीमा राखेको भए पनि सिमसार क्षेत्रले उत्पादन गर्ने वस्तु र सेवाहरुको प्रकृति र स्थानीय जनतालाई ती वस्तुहरु र सेवाहरु सम–न्यायिक तरिकाले बाँडफाँट गर्नुपर्ने हुन्छ। कतिपय सिमसार क्षेत्र दुई वा दुईभन्दा बढी गाउँपालिका, नगरपालिका र कतिपय अवस्थामा दुई प्रदेशमा फैलिएर रहेको अवस्था पनि छ।

रामसार सूचीमा सूचीकृत भएका सिमसार क्षेत्र दुई वा दुईभन्दा बढी प्रदेशमा फैलिएका सिमसार क्षेत्र र अन्तराष्ट्रिय सिमानासँग जोडिएका सिमसार क्षेत्रलाई संघीय सरकारले समन्वय गर्नुपर्ने देखिन्छ। त्यस्तै दुई वा दुईभन्दा बढी गाउँपालिका वा नगरपालिकामा फैलिएका सिमसार क्षेत्रलाई प्रदेश सरकारले समन्वय गर्नुपर्ने हुन्छ।

त्यसैगरी एउटा गाउँपालिका वा नगरपालिकाको सिमाना भित्र फैलिएका सिमसार क्षेत्रलाई सम्वन्धित गाउँपालिका वा नगरपालिकाले संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गर्नुपर्ने हुन्छ।

सिमसार क्षेत्रको समन्वयको जिम्मेवारी जुनसुकै तहको सरकारले गरे पनि सिमसार क्षेत्रबाट उत्पादन हुने वस्तु र सेवामाथि स्थानीय समुदायको सम–न्यायिक पहुँच र बुद्धिमत्ता उपयोगका लागि सुनिश्चिता भएको हुनु पर्दछ।

सिमसार क्षेत्रबाट प्राप्त लाभको सुनिश्चितता गर्दै गर्दा लोप भएका र लोप हुने अवस्थामा रहेका सिमसार क्षेत्रलाई पुनः पुरानै प्राकृतिक अवस्थामा फर्काउनका लागि खाली जग्गामा वृक्षरोपण र प्राकृतिक पुनर्उत्थानका कार्य गर्नु पनि उत्तिकै जरूरी छ । त्यस्ता कार्यका लागि स्थानीय समुदाय त्यसमा पनि मुख्य गरी युवा पिढीको सहयोग लिनुपर्ने हुन्छ ।

जनसंख्या वृद्धि, बसाइसराइँ र शहरीकरणका कारणले गर्दा सिमसार क्षेत्र दोहोरो चापमा परेका अवस्था छ। मानिसहरू गाउँबाट शहरमा बसाइसराइँ गर्दा एकातिर गाउँघरका कुवा, कुलो र पोखरी सुक्दै र पुरिँदै गएका छन् भने अर्काेतिर शहरमा जनसंख्याको अत्याधिक चाप बढ्दै जाँदा पानीको माग बढ्दो छ।

जमिनमुनिको पानी बढी प्रयोग गर्नाले पानीको सतह तल गएको अवस्था छ। त्यस्तै, घर, भवन, बाटो र बस्ती बढ्नाले आकाशको पानी जमिनमुनि जानु पर्नेमा सतहमा भेल बग्न पुगी अन्त्त्वगत्ता बाढीपहिरोको समस्या बढ्दै गएको छ।

शहरमा बस्ने एक जना मानिसका लागि सरदर २०–५० लिटर पानीको आवश्यकता पर्दछ र त्यस्तो पानी मुख्य गरी पिउन, खाना पकाउन र सर–सफाइका लागि मात्र प्रयोग हुने गर्दछ। अझै पनि नेपालको कुनै पनि शहरमा बस्ने नेपालीले पिउन, कपडा धुन र सरसफाइ गर्न पर्याप्त पानी पाउने अवस्था त परै जाओस्, सामान्य खेतीपाती गर्न सिंचाइको लागि पनि पर्याप्त पानी पाएको अवस्था छैन।

झन् २०७२ सालमा आएको विनाशकारी भूकम्पले गर्दा कतिपय पानीका मुहान कतै सुकेका छन् भने कतै पुरिएका छन् र न्यूनतम पानी प्राप्त गर्नका लागि टाढाटाढा जानु पर्ने र बढी समय व्यतित गर्नुपर्ने वाध्यता सिर्जना भएको छ। जसले गर्दा एउटा सामान्य नागरिकको जीवन नै प्रभावित भएको देखिन्छ।

अहिलेको सूचना प्रविधिले शहरी मान्छेको जीवनलाई यति धेरै प्रतिस्पर्धात्मक र जीविकोपार्जनका लागि छिटोछिटो काम गरेर बाच्नु पर्ने वाध्यात्मक अवस्था सृजना गरेको छ, कि बिहानबेलुका काम गरेर खानुपर्ने मानिस पिउने पानीका लागि दिनमा ३–४ घण्टा लाइनमा बस्नु पर्दा उसको जीवनस्तर दिनप्रतिदिन खस्कदो छ।

काठमाडाैंमा रहेका ढुंगेधारा। तस्बिर : अमिष रेग्मी

संघीयतामा सिमसार र भोलिको दायित्त्व
नेपालमा तीन तहको चुनाव पश्चात तीनवटै तहमा सरकार बनिसकेका छन्। संघीय सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अवधारणा अघि सारेको छ।

राजनीतिक पार्टीका घोषणापत्र र नेताले घोषणापत्रमार्फत् विकासका लागि जनतासामु गरेका बाचालाई सम्झने मात्रै हो भने पनि गाउँबाट शहरतिर हुने बसाइसराइँ, शहरीकरण र शहरभित्र र आसपासको क्षेत्रमा हुने विकास निर्माणको कामलाई कसैले पनि रोक्न सक्ने अवस्था देखिदैन।

अझ कतिपय नगरपालिकाका मेयर र उपमेयरहरूले स्मार्ट सिटीको अवधारणालाई अगाडि बढाएको देखिन्छ र नेपाली जनता शिक्षित, सभ्य र समृिद्धतिर लम्कदै गर्दा पानीको माग बढ्ने नै छ।

तसर्थ, आफ्नो टोल र शहरलाई सफा, हराभरा र समृद्ध बनाउने हो भने घर वरपर र टोल छिमेकमा रहेका स–साना किन नहुन पानीका तालतलैया, पोखरी, कुवा, कुलो, पैनी, मुल, खोला र खोल्सिको संरक्षण गर्नुपर्ने हुन्छ।

शहर क्षेत्रको पूर्वाधार विकास गर्दा पनि पूर्वाधारले पानीको स्रोत र यसको दीगोपनमा नकारात्मक असर नपुराओस् भनि पर्याप्त ध्यान दिने र सानोतिनो असर परी नै हाल्यो भने पनि सिमसार क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन वातावरण संरक्षणका बढीभन्दा बढी कार्यक्रम राखेर काम गर्नुपर्ने हुन्छ।

त्यसरी काम गर्दा स्थानीय समुदायले सिमसार संरक्षणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सिमसार क्षेत्रलाई सबैका लागि र सधैंका लागि चासोको विषय अर्थात् दीगो भविष्यका लागि सिमसार क्षेत्रको दीगो संरक्षण, व्यवस्थापन र बुद्धिमतापूर्ण प्रयोग गर्नुपर्ने हुन्छ।

कृषि उत्पादन बढाउने हो, पर्यापर्यटन अभिवृद्धि गर्ने हो र जैविक विविधताको संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापन गर्नुपर्छ। सिमसार क्षेत्रको संरक्षण न्यूनतम शर्त हुन आउछ।

यस्तो अवस्थामा सिमसारको प्रकृति अनुसार संघ, प्रदेश र स्थानीय सरकारलाई अलगअलग सिमसार रणनीति तयार गर्न लगाई सिमसार क्षेत्रसँग सम्बन्धित सरोकारवालासँग समन्वय गर्ने र सिमसार क्षेत्रलाई समृद्धिको आधार क्षेत्रको रुपमा विकास गर्नु पर्ने हुन्छ।

(लेखक ढकाल वन तथा वातावरण मन्त्रालयका सहसचिव हुन्)

ताजा समाचार

सम्बन्धित समाचार