Wednesday, October 2, 2024

पाटन कृष्ण मन्दिर तीन वर्षपछि सर्वसाधारणका लागि खुला

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमीका दिन आइतबार  सर्वसाधारणले दर्शन गरेका छन्।

करीब २ वर्ष लगाएर जीर्णोद्वारा गरेपछि शिखरशैलीमा रहेको सो मन्दिर कृष्ण अष्टमीका दिन सर्वसाधारणका लागि खुला गरिएको हो।  भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न पाएका थिएनन्।

सिद्धिनरसिंह मल्लका पालामा बनेको सो मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक क्षति भएको थियो। मन्दिरमा क्षति पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहिरैबाट परिक्रमा गर्ने मात्र व्यवस्था मिलाइएको थियो।

कार्यलयका प्रमुख काजीमान प्याकुरेलले मन्दिरको माथील्लो भागमा चर्किएको ढुङ्गाको पिलरलाई हटाएर अर्को राखिएको बताए। उनका अनुसार चारैवटा कर्नरको बेस पिलर परिवर्तन गरी नयाँ राखिएको छ।

काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्ट (केभिपिटी) ले जिम्मेवारी लिएर पाटन दरवार क्षेत्रका विभिन्न सम्पदाहरुको पुर्ननिर्माणको काम गरिरहेको छ । ट्रष्टका निर्देशक रोहित रञ्जितकारका अनुसार कृष्ण मन्दिरको आंशिक क्षति भएपनि माथिको ढुङ्गाको पिलर चर्कदा बनाउन धेरै समय लागेको बताए । ‘५७ लाखको लागतमा यसको जीर्णोद्वार गरिएको छ,’ उनले भने, ‘बुट्टा कुँदिएको ढुङ्गाको पिलर नयाँ बनाउन र भएका पिलरलाई विस्तारै मिलाएर झिक्नुपरेकाले समय बढी लागेको हो। ’

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको किम्बदन्ति छ। त्यसपछि तल कृष्ण र माथि शिवको मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले बताए।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ। तीन तले शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिएको मन्दिरमा २१ गजुर रहेका छन्। १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएर कृष्ण लीलामा आधारित कात्तिक नाच चलाएका थिए । ३ मध्ये मध्य तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि भगवान बिष्णुका १० अवतार छन् । मन्दिरका वरिपरिका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति पनि कुँदिएको छ । राष्ट्रप्रमुखका हैसियतामा राष्ट्रपती विद्या भण्डारीले त्यहाँ गएर प्रसाद ग्रहण गर्ने चलन छ ।

ताजा समाचार

सम्बन्धित समाचार