काठमाडौं –आजका दैनिक पत्रपत्रिकामा विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।
आजका सबै पत्रपत्रिकाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
बिम्स्टेकको दक्षिण एसिया र दक्षिण पूर्वी एसियाबीच जोड्ने पुल रहेको जनाउँदै १८ बुँदे काठमाडौं घोषणापत्र जारी गरेर शुक्रबार यसको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ ।
दुईदिने शिखर सम्मेलनमा बिम्स्टेकका सातवटै सदस्य राष्ट्रले यस क्षेत्रको विशिष्ट अवस्थितिलाई बढावा दिँदै सहमतिहरू कार्यान्वयन गर्ने प्रण गरेका छन् ।
सन् २०३० भित्र सबै देशबाट गरिबी अन्त्य गर्ने सहमति भएको छ । यूएनको २०३० एजेन्डाका रूपमा रहेको दिगो विकास लक्ष्यको पहिलो एजेन्डालाई बिम्स्टेकको चौथो शिखर सम्मेलनले सम्बोधन गरेको हो । त्यसैगरी, काठमाडौं घोषणापत्रमा बुद्ध सर्किट बनाउने विषयमा सहमति भएको छ ।
चौथो शिखर सम्मेलको प्रमुख सहमतिका रूपमा हवाई, सडक, रेलमार्गमार्फत कनेक्टिभिटी गर्ने विषयलाई जोड दिइएको छ ।
अन्नपूर्ण पोस्ट
‘ रोकिएन कर्णालीको कटान ’ शीर्षकमा कैलाली टीकापुरबाट परमानन्द पाण्डेले समाचार लेखेका छन् । कर्णाली नदीले करिब ३० बिघाभन्दा बढी जमिन कटान गरेको छ । कर्णाली आधारभूत विद्यालयका शिक्षक शेरबहादुर बुढाले यस वर्ष कर्णाली नदीले दीपेन्द्र भण्डारी, गोपाल साउँद, पुनिराम चौधरी, धरम बहादुर चौधरी, कर्ण चौधरी, बिन्तीराम चौधरी, खड्गप्रसाद भण्डारीलगायतको ३० बिघाभन्दा बढी जमिन कटान गरेको बताए ।नदीले कटान गर्दै जाँदा स्थानीय त्रसित बनेका हुन् । उनीहरूले नदी कटान नियन्त्रणका लागि पहल गरिदिन आग्रह गर्दै आएका छन् । चारैतिरबाट कर्णाली नदीले घेरिएको टापु, त्यसैमा भारतको सीमासँग जोडिएको, त्यसैले त्यसलाई श्रीलंका भनिन थालिएको हो । हिउँदमा भारतको जंगलबाट हात्तीले त्रसित हुने श्रीलंकावासी वर्षायाममा कर्णालीको कहरका कारण रातभर सुत्दैनन् । टीकापुर नगरपालिका– ८ मा पर्ने श्रीलंकामा कर्णाली नदीले एक महिनादेखि सुरु गरेको कटान अझै रोकिएको छैन । निकै उर्वर भूमि बर्सेनि कटान हुँदै आएपछि अधिकांश स्थानीयले श्रीलंका छाडिसकेका छन् । विपन्न परिवारका नेपाली र लामो समयदेखि श्रीलंकामा बसोवास गर्दै आएका केही भारतीयमूलका करिब ३ सय स्थानीय त्यहाँ बसेका छन् । आकाशमा कालो बादल लाग्दा र नदीमा धमिलो पानी बगेको दिन प्रायः रातभर सुत्दैनन उनीहरू । कर्णाली नदीमा ०४० सालमा आएको पहिलो बाढीले तीन बिघा जग्गा बगाएपछि घरवारविहीन भएकी सुन्तली दमार्इं श्रीलंकामा बसोवास गर्दै आएकी छन् । वर्षायाममा श्रीलंकाका अधिकांश रातभर जाग्राम बस्ने गरेको उनले बताइन् ।
कान्तिपुर
कान्तिपुर दैनिकमा ‘प्रदूषण खेप्दै लुम्बिनी ’ शीर्षकमा प्रकाशित समाचारमा त्यहाँ प्रदूषण बढ्दै गएको कुरा उल्लेख छ ।वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीअनुसार गत अक्टोबरदेखि फेबु्रअरीसम्म लुम्बिनीको प्रदूषण काठमाडौंभन्दा डेढ गुणा बढी थियो । प्रदूषणकै कारण लुम्बिनीलाई बुद्ध जन्मस्थल प्रमाणित गर्ने महत्त्वपूर्ण सूचक अशोकस्तम्भ मक्किन थालेको छ ।शान्तिको खोजी गर्दै मानिस आउने लुम्बिनी क्षेत्र आफैं भने प्रदूषणले ग्रस्त छ । कानै टट्टाउने मोटरसाइकल र गाडीले गर्ने ध्वनि प्रदूषण एकातिर छ भने भैरहवा–लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले गर्ने वायु प्रदूषण अर्कातिर । २१ किलोमिटर लामो भैरहवा–लुम्बिनी सडकको दायाँ–बाँया १२ वटा सिमेन्ट उद्योग छन् । यीबाहेक पनि वायू दूषित बनाउने ४० भन्दा बढी विभिन्न उद्योग छन् ।
वातावरण विभागले गरेको वातावरणीय प्रदूषण मापन सर्वेक्षणमा यस वर्ष पनि लुम्बिनी प्रदूषित सहरमा परेको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीअनुसार गत अक्टोबरदेखि फेबु्रअरीसम्म काठमाडौंभन्दा लुम्बिनीको प्रदूषण डेढ गुणा बढी थियो । ‘अक्टोबरदेखि फेबु्रअरी वायु प्रदूषणको ‘पिक सिजन’ हो । यो समयमा लुम्बिनी देशकै सबैभन्दा बढी प्रदूषित देखिन्छ,’ वातावरण विभागका सिनियर डिभिजन केमिस्ट शंकरप्रसाद पौडेलले भने । उनका अनुसार करिडोरका नेपाली सिमेन्ट उद्योग र भारतीय सीमाबाट बहने वायु प्रदूषणका मुख्य कारक हुन् ।
वातावरण विभागले वायु प्रदूषण अवस्था परीक्षण र अनुगमनका लागि काठमाडौंबाहेक चितवनको सौराहा, पोखरा र लुम्बिनीमा स्टेसन स्थापना गरेको छ । यी स्टेसनले दैनिक घण्टा–घण्टाको प्रदूषण अवस्था बताउने गरेका छन् । यसको रिपोर्टले पनि उद्योगहरूको उत्पादन बढी हुने कात्तिकदेखि फागुनसम्म प्रदूषण बढेको देखिन्छ । यी उद्योग दिनरात सञ्चालन हुन्छन् । प्रदूषणको असर मानव स्वास्थ्य, पर्यावरणसाथै पुरातात्विक सम्पदामा पनि पर्ने गरेको छ ।
तीन वर्षअघि लुम्बिनीमा भएको पहिलो बौद्ध सम्मेलनले आसपास बढेको प्रदूषणले पुरातात्त्विक सम्पदा खतरामा परेको निष्कर्ष निकालेको थियो । तर, सरकारले नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन ।
राजधानी
‘ बालबालिकामा मौसमी भाइरलको प्रकोप, तीन बालबालिकाको मृत्यु, ५ सयभन्दा बढी प्रभावित ’ शीर्षकमा सिन्धुलीबाट द्वारिका काफ्लेले समाचार लेखेका छन् । पछिल्लो दुई सातादेखि सिन्धुली जिल्लाका बालबालिकामा मौसमी भाइरलको संक्रमण देखिएको छ । यस्तो संक्रमण देखिनेमा पाँच वर्षमुनिका बालबालिका छन् । संक्रमणमा परेका बालबालिकामा रुघाखोकी, जरो, छातीमा संक्रमण तथा घाँटीमा समस्या देखिने गरेको जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमले बताइन् । भाइरलका कारण तीन बालिबालिकाको मृत्यु भइसकेको बतताइएको छ । अस्पताल ल्याउने क्रममा बाटामै ती बालबालिकाको मृत्यु भएको उनको भनाइ छ । कस्तो खालको भाइरल हो भन्ने यकिन हुन नसकेपछि अस्पतालले भाइरल एन्फ्लुएन्जाको आशंका गरेर परीक्षणका लागि इपिडेमियोलोजी महाशाखालाई अनुरोध गरेको थियो । बालबालिका बिरामी हुने क्रम नरोकिएपछि महामारी सरुवा रोग नियन्त्रण तथा इपिडेमियोलोजी महाशाखाबाट रेशम लामिछानेको नेतृत्वमा आएको ल्याब टेक्निसियनको टिमले संक्रमित बालबालिकाको ल्याब परीक्षण गरेको थियो । टोलीले १० जना बालबालिकाको ल्याब परीक्षण गर्दा कसैमा एन्फ्लुएन्जाको संक्रमण नदेखिए पनि घाँटीमा भाइरलको संक्रमण देखिएको बताइएको छ । यस्ता बालबालिकालाई अस्पतालमै भर्ना गराएर उपचार भइरहेको छ भने दुई बालबालिकालाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।
अहिलेसम्म ५६२ बालबालिकामा श्वासप्रश्वाससम्बन्धी भाइरल संक्रमण भएर अस्पतालमा आएको डा. गौतमले बताइन् । वर्षायाम, अत्याधिक गर्मी र चिसोको सुरुवात भएर मौसममा परिवर्तन आउन थालेपछि यस्तो रोगको संक्रमण हुन थालेको उनको भनाइ छ ।
नयाँ पत्रिका
नयाँ पत्रिकामा त्यत्ति बातावरणका विषय नभएपनि पर्यटन र दिगो विकाससँग जोडिएका केही समाचार प्रकाशित छन् । यसमा रहेको यात्रा पृष्ठमा केही रमणीय पर्यटकीय स्थलका बारेमा लेखिएको सामग्री प्रकाशित छ । यसैगरी ‘ कर्णाली सरकार पुग्यो पीडितका घरमा ’ शीर्षकमा समाचार छापिएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतो गुराँसमा मंगलबार राति पहिरोले घरको भित्ता भत्काउँदा दलिन भाँचिएर विक परिवारका पाँचजनाको ज्यान गयो । सँगै सुतेका १३ वर्षीया कमला, १० वर्षीया पुतला र ९ वर्षीया सुनिता जोगिएका थिए । तर, पहिरोले घर बगाएपछि उनीहरू वासविहीन भएका छन् भने बाबु र आमा गुमाएपछि अभिभावकविहीन भएका छन् । ८ कक्षामा पढ्ने कमला, ५ मा पढ्ने पुतला र ३ मा पढ्ने सुनितालाई गुजारा कसरी चलाउने तथा अध्ययन कसरी अगाडि बढाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरूको यो पीडामा प्रदेश सरकारले आर्थिक सहायता दिएर केही मलम लगाउने प्रयास गरेको छ । कर्णाली प्रदेश सरकारको तर्फबाट पीडितलाई एक लाख ५० हजार रकम प्रदान गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीले शुक्रबार पीडित परिवारलाई राहत हस्तान्तरण गरे । मन्त्री ज्वालाले व्यक्तिगत रूपमा ४ हजार र खत्रीले ६ हजार रुपैयाँ पनि प्रदान गरे ।
नागरिक
नागरिकमा त्यत्ति बातावरणका विषय जोडिएका समाचार प्रकाशित भएका छैनन् । यसमा रहेको यात्रा पृष्ठमा केही रमणीय पर्यटकीय स्थल र परम्परा र संस्कृति समेटिएका सामग्री प्रकाशित छन् ।