Wednesday, October 2, 2024

जहिल्यै रातु नदीको त्रासदी

महोत्तरी– महोत्तरी भएर बग्ने रातु नदीमा बहाव बढेसँगै दक्षिणी क्षेत्रका बासिन्दा त्रसित हुन्छन्। बर्खामा नदीको बहाव बाँध समेत नाधेर उर्लिने भएकाले नदी किनाराका दुई गाउँका बासिन्दालाई बाढीको पिरलो हुन्छ।

स्थानीय विश्नाथ साह भन्छन्, ‘अझैसम्म जलेश्वरवासी बाढीकै डर र त्रासमा बाँचेका छन्। लगानीकर्ता पनि बाँढीकै डर देखेर विभिन्न योजनामा लगानी गर्न डराउँछन्।’

रातु र अंकुसी नदीमा पानीको बहाव खतरा तहसम्म पुगेमा साइरन बज्छ। र, समुदायमा आधारित पूर्वसूचना प्रणालीको सहयोगमा रातु नदीमा राकिएको साइरनको पूर्वसूचनाका आधारमा सुरक्षित स्थानतिर जाने गरिएको गोनरपुराका बिनोद पासवानले बताए। नदीमा पानीको सतह एकमिटर नाघेपछि साइरन बज्ने गर्छ। नदीमा जलसतह बढेपछि यसको सूचना पशुपतीनगर, सरपल्लो, नैन्ही र भारत विहारको भिठामोडसम्म पुग्ने गर्छ।

रतवाराका रामललित पासवान भन्छन्, ‘नदीमा बनेको बाँध कमजोर छ। जसले बाढी गाउँतरि सोझिन्छ।’ उक्त बाँधमा पहिले बाँस रोपिन्थ्यो। तर, अचेल किसानहरूले दलहनबाली लगाउने गरेका छन्। ‘बाँधको सुरक्षामा अब संघीय, प्रान्तीय र स्थानीय सरकारको एकद्वार रणनीति हुनुपर्छ,’ उनी भन्छन्।

एकडारा र महोत्तरी गाउँपालिकामा पर्ने रातु र अंकुसी नदीबाट जनधनको क्षति रोक्न बनाइएको बाँधकै किनारमा बस्ती बिस्तार हुन थालिनुले अर्को चुनौती थपिएको इन्जिनियर मनोजकुमार साह बताउँछन्। बाढी प्रभावित क्षेत्रमा बन्ने घरको सुरक्षाबारे नगर तथा गाउँपालिकाले कार्यविधि लागू गरिनुपर्ने बताउँदै उनले भने, ‘स्थानीय सरकारको दायित्वभित्र विपद्बाट नागरिकको रक्षा गर्ने काम समेत रहेको छ।’

हेमचन्द्र महतो बाँधमा बाँस लगाउँदा यसले कटान रोक्न निकै मद्दत गर्ने बताउँछन्। ‘जराको मजुबती र धेरै ओगटने भएकोले बाँधमा बाँस लगाउँदा राम्रो हुन्छ। त्यस्तै अवस्था आएमा बाँसकै पुल बनाएर आवागमन सजिलो हुनसक्छ,’ उनले भने।

बाढीले सडक समेत कटान गर्दा ठाउँठाउँमा बाँसको पुल बनाएर आवतजावत सहज बनाउने गरिएको बेला गाउँकी तरन्नुम खातुनले बताइन्। बाढीको बेला हुलाकी राजमार्गबाट जोड्ने भटौलिया, हलखोरी, चकवा, कटैयासहितका दर्जनभन्दा बढी गाउँमा बाँसको पुल बनाउनुपर्ने बाध्यता हुने गर्छ। यस पुलको क्षमता मोटरसाइकलको भार सहनेसम्मको हुन्छ। बाढीको बेला अधिकांश गाउँमा चारपाङ्ग्रे मोटर पुग्न सकेको हुँदैन।

स्थानीय सरकारले सडक मर्मतलाई प्राथमिकतामा राखेपनि विद्यालय र अस्पतालसम्म पुग्ने बाटोलाई बेवास्ता गरेको स्थानीयको आरोप छ। शिक्षक संजीव झा बाढीको समयमा विद्यालय र स्वास्थ्य संस्था बन्द हुने गरेको बताउँछन्।

बाढीको बेला मुस्लिम बस्तीकै बालबालिका नजिकैको एकडारा माध्यमिक विद्यालयमा आउन सकेका हुँदैनन् । बस्तीहरु डुबान र कटानमा भएको बेला बालबालिका शैक्षिक अधिकार प्रभावित हुने गरेको छ। स्थानीय कमलेश पासावनका अनुसार बाढीको बेला विद्यालय र विद्यार्थीको सम्पर्क नै बिच्छेद हुनेगर्छ।

बेला, मलिवारा, गोनरपूरासहितका ठाउँमा पर्ने रातु नदीमा बाँसको पुल बन्नेगर्छ। बाढीको बेला बाँसको पुल नै बगाउने गरिन्छ। बर्षोदेखि पक्की पुलको लागि जिल्ला प्रशासन र तत्कालिन जिल्ला बिकास समितिमा डेलिगेसन जाँदासमेत कुनै सफलता प्राप्त हुननसकेको बेलाका अशोक सिंहले दुखेसो पोखे। उनले भने, ‘जलेश्वर र बेला जोड्न रातु नदीमा कागजमै झोलुङ्गे बन्यो र बाढीमा बग्यो।’ यस ठाउँमा पुल नबनेपनि ठेकेदारले पुल बनाए वापतको रकम प्राप्त गरिसकेको कुरा धेरैबर्ष बेलावासीले थाहा पाएका थिए। बेला गाउँ अहिले जलेश्वर नगरपालिकामै पर्छ।

नगर एवं गाउँपालिकाले समिति बनाएर नै रातु नदीमा बनाइएको बाँध सुरक्षाको जिम्मेवारी स्थानीय बासिन्दालाई दिइनुपर्ने तर्क जलेश्वरका गजेन्द्र गुप्ताको छ। ‘बाँधलाई सुरक्षित गर्ने बोटबिरुवा लगाउनेदेखि समयसमयमा मर्मत गर्ने काम सोही समितिलाई दिइनुपर्छ। उनले भने, ‘बाँध निर्माण र सुरक्षाको नाममा विदेशी दातृ निकाय एवं संस्था, भूसंरक्षण, वन, कृषि, गाउँ एवं नगरपालिकाका कार्यालयहरुले खर्च गर्ने रकम एकद्वार प्रणालीबाट स्थानीयवासिन्दाले गठन गरेको समितिबाट भए अपनत्व बढ्नेछ ।’

ताजा समाचार

सम्बन्धित समाचार