Wednesday, October 2, 2024

सडक छेउछाउमा बोटबिरुवा रोप्दै महानगर

ललितपुर– काठमाडौं महानगरपालिका र ललितपुर महानगपालिकाले सडकका छेउछाउमा बोटबिरुवा रोप्न थालेका छन्।
सफा, सुन्दर र हरियाली शहर बनाउने लक्ष्य अनुरूप दुबै महानगरले बर्खायाममा वृक्षरोपण गरिरहेको जनाएका हुन्।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरले बर्खायाममा पाँच हजार पाँच सय ३० बोटबिरुवा रोपिएको जानकारी दिए।

महानगरभित्रका खाली जमिन, खडक छेउछाउ तथा सबै वडामा बोटबिरुवा रोपिएको उनले बताए। ‘महानगरभित्र वृक्षरोपणको काम भइरहेको छ। रोपिएका बोटबिरुवालाई हुर्काउन पनि जोड दिइने छ,’ उनले भने।

त्यसैगरी, ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा एक हजार बोटबिरुवा रोप्ने लक्ष्य लिएको छ। अहिले महानगरले कुपण्डोलदेखि पुल्चोकसम्ममा पाँच सय ३० बोटबिरुवा रोपिसकेको जनाएको छ।

लगनखेलदेखि सातोबाटो र धापाखेल जाने सडकको छेउछाउमा एक सय बिरुवा रोप्ने लक्ष्य रहेको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए। ‘पुल्चोकदेखि लगनखेलसम्म एभरेष्ट बैंक, महालक्ष्मी बैंक लगायतका बैंकसँगको सहकार्यमा बाँकी बोटबिरुवा रोप्ने काम भइरहेको छ,’ उनले भने।

ललितपुर महानगरका २९ वटा वडाले पनि सडकका छेउछाउ र खाली जमिनमा वृक्षरोपण गरिरहेको प्रवक्ता महर्जनले बताए। विगतका वर्षमा स–साना बोटबिरुवा रोपिँदै आएकोमा हुर्काउन गाह्रो हुने भएको र नासिने भएकाले हाल ५ देखि ६ फिटसम्मको बोटविरुवा रोपिएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार