बिमस्टेक शिखर सम्मेलन आजबाट शुरु, यस्तो छ कार्यतालिका

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन अाज दिउँसाे एक विशेष समारोहका बीच सुरु हुँदै छ ।

सम्मेलनमा भाग लिन ६ वटै देशका प्रमुखहरू नेपाल आइसकेका छन् ।  बंगलादेखकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेपाल आइसकेका छन् ।

प्रधानमन्त्री एवं बिमस्टेकका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त सम्मेलन अगाडि सबै राष्ट्रका प्रतिनिधिहरू राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्ने लञ्चमा सहभागी हुने कार्यक्रम छ।

त्यसपछि दिउँसो दुई बजे प्रधानमन्त्री ओलीले सोल्टी होटलमा सम्मेलनको उद्घाटन गर्नेछन्। उद्घाटन लगत्तै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन्। वर्णानुक्रमअनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति यु विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र थाइल्यान्डका राष्ट्रपति जनरल प्रयुत चान ओ चा १५–१५ मिनेट सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

सबै देशको सम्बोधन पश्चात प्रधानमन्त्री ओलीको आयोजनामा ह्यायत होटलमा सबै विशिष्ट पाहुनाले रात्रीभोज गर्नेछन्। शुक्रबार बिहान प्रधानमन्त्री ओलीले सहभागी सरकारप्रमुख एवं राष्ट्रप्रमुखको सम्मानमा होटेल सोल्टीको पुलसाइडमा रिट्रिट दिनेछन्।

शुक्रबार ११ बजे बिमस्टेकको दोस्रो सत्र सुरु हुनेछ। त्यसपछि भने काठमाडौँ घोषणापत्र जारी गर्दै शिखर सम्मेलन समापन हुनेछ। सम्मेलन समाप्तिसँगै बिमस्टेकको अध्यक्षता श्रीलङ्काले गर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार