काठमाडौँ – काठमाडौँ उपत्यकामा फेरि पनि फोहोर थुप्रिन थालेको छ। बिमस्टेक सम्मेलनका लागि काठमाडौँलाई चिटिक्क पारिँदै गर्दा भित्री चोक तथा गल्ली भने फोहोरको थुप्रोले भरिएको छ।
वर्षाका कारण सिसडोल जाने सडक अवरुद्ध भएपछि काठमाडौँका फोहोर फेरि पनि चोकमा त्यतिकै थुप्रिएका हुन्। केही दिन पानी पर्न कम भएसँगै उठ्न थालेको काठमाडौँका फोहोर फेरि पनि थुप्रिन थालेको हो।
फोहोर लिएर गएको गाडी बीचैमा फस्न थालेपछि निजी कम्पनीहरूले फोहोर संकलन गर्न छाडेका छन्। दैनिक १२५ वटा गाडी फोहोर लिएर जाने गरेकोमा प्राय सबै सिसडोलमै फसेका कारण फाेहोर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका महाशाखा प्रमुख युवराज खनाल बताउँछन्।
काठमाडौँको फोहोर नउठ्नुको मुख्य कारण वर्षा नै रहेको उनको भनाई छ । ‘तीन चार दिनदेखि निरन्तर पानी परिरहेको छ । त्यसले गर्दा सिसडोलको फोहोर फाक्ने ठाउँको बाटो धसिएको छ, त्यसमा गाडी चल्ने संभावना नै रहेन त्यसैले फोहोर उठ्न नसकेको हो,’ उनले भने, ‘अब घाम लागेपछि माटो हालेर बाटो बनाउनुपर्छ अनिमात्र संभव छ, त्यसपछि काठमाडौँका सबै फोहोर उठ्छ ।’
खनालका अनुसार अहिले दैनिक १२५ भन्दा बढी ट्रकले हजार टन भन्दा बढी फोहोर फाल्दै आएको थियो । तर वर्षाले सिसडोलमा बाटो अवरुद्ध पारेपछि सबै ट्रकहरू उतै फसेका छन्।
आजभन्दा १३ वर्षअगाडि दुई वर्षका लागि भनेर फोहोर फाक्न थालिएको उक्त स्थान अहिले फोहोरको पहाड बनेको छ। र फोहोर माथि माटोले छोपेर बाटो बनाइएको छ। त्यसरी फोहोरलाई माटोले छोप्दा वर्षायाममा सबै धसिने र बग्ने हुँदा बर्सेनि फोहोर फाक्न समस्या हुँदै आएको छ।