Wednesday, October 2, 2024

मान्छे मार्ने बाघ समात्न हात्तीसहित टोली परिचालन

रत्ननगर–दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ।

भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९ स्थित गोविन्दबस्तीका ५६ वर्षीय जीतबहादुर राईलाई बाघले आक्रमण गरेर मारेको थियो ।

सो बाघ समस्याग्रस्त भएर बस्तीमा निस्किएको निष्कर्षसहित नियन्त्रणमा लिन टोली परिचालन गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए।

उनका अनुसार निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा वन्यजन्तु प्राविधिकसहित ३४ जनाको टोली बाघ नियन्त्रणमा खटिएका छन्। बाघ समाउन ५ वटा हात्ती प्रयोग गरिएको छ। बाघलाई डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइन्छ।

‘बाघ बस्ती वरिपरिनै बसिरहेको छ, मान्छे मारेपछि गोठको एउटा बाच्छीसमेत खायो, त्यसपछि अहिले पाडो राखेर नियन्त्रण प्रयास जारी छ,’ प्रमुख ढकालले भने। उनका अनुसार मंगलबार नियन्त्रण गर्न लाग्दा बाघ फुत्किएको थियो बुधबार पनि बिहानैदेखि सो क्षेत्रमा बाघ नियन्त्रणका लागि टोली खटिएका छन्।

यसअघि साउनको २१ गते भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी सुशीला डुम्रेलाई बाघले मारेको थियो। त्यसपछि नियन्त्रणमा लिएको बाघ मरेको निकुञ्जले जनाएको छ। बाघ बुढो भएर मरेको ढकालले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार