Wednesday, October 2, 2024

पश्चिम सेतीबारे द्विपक्षीय वार्ता शुरु

काठमाडौँ– पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका विषयमा सहमति खोज्न लगानी बोर्ड र चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्ल्यू इन्भेस्टमेन्टका अधिकारीबीच राजधानीमा वार्ता शुरु भएको छ ।

कूल ७५० मेगावाट क्षमताको सो आयोजना निर्माणका विषयमा समझदारी भएको लामो समय भए पनि प्रक्रिया अगाडि बढ्न नसक्दा अन्योलता बढेको थियो । द्विपक्षीय वार्ताका लागि चिनियाँ अधिकारी सोमबार यहाँ आएका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले छलफल शुरु भएको संक्षिप्त प्रतिक्रिया दिए। नेपाली अधिकारी र चिनियाँ कम्पनीबीच पटकपटक छलफल भए पनि सहमति हुन सकेको छैन । ६ वर्षपहिले अर्थात् सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले सो आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजसँग समझदारी गरेको थियो ।

समझदारीअनुसार ७५ प्रतिशत लगानी चिनियाँ कम्पनीको र २५ प्रतिशत लगानी नेपाल विद्युत् प्राधिकरणको रहने व्यवस्था छ । संयुक्त कम्पनी स्थापना गर्ने विषयमा गत वर्ष सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन । दुई पक्षबीच भएको सहमतिलाई बोर्ड र प्राधिकरणले अनुमोदन गरेको छ । बोर्डको केही समयपहिले बसेको बैठकले आयोजनाको सम्बन्धमा चिनियाँ कम्पनीसँग वार्ता गर्ने निर्णय गरेको थियो ।

बोर्डको आग्रहमा चिनियाँ कम्पनीका अधिकारी राजधानी आएका हुन् । उनीहरुसँग बुधबार पनि द्विपक्षीय छलफल हुनेछ । चिनियाँ कम्प्नीले विद्युत् खरीद मूल्य र क्षमताका विषयमा प्रश्न उठाउँदै आएको बुझिएको छ । वार्तामा बोर्ड र चिनियाँ कम्पनीका अधिकारी सहभागी छन् । बुधबार आयोजनाका बारेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणको उच्च नेतृत्वसँग पनि छलफल हुनेछ । रासस

ताजा समाचार

सम्बन्धित समाचार