Tuesday, October 1, 2024

सिमसारमा अवैध रुपमा रुख कटान

झापा–कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ।

उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ। वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन।

सेक्टर वन कार्यालय सुरुङ, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्तासहितको टोलीले सो वनको अनुगमनका क्रममा अवैध रुपमा रुख कटान गरेको पाइएको कनकाई–२ का उपभोक्ता दीपक चापागाईले जानकारी दिए। ‘रुख कटान गर्ने निर्णय गरिएको छैन, प्रक्रियासमेत पुर्याइएको छैन,’ उनले भने।

वनमा साल ३५ क्युफिट र सिसौ ९५ क्युफिट भेटिएको छ। उक्त काठ उपभोक्ताको रोहवरमा मुचुल्का बनाई वनमै छाडिएको सेक्टर वन कार्यालय सुरुङका प्रमुख शिवनारायण यादवले बताए। रुख कटानीबारे अनुसन्धान भइरहेको छ।

उक्त वनको एक वर्षदेखि आन्तरिक लेखा परीक्षणसमेत गरिएको छैन। तीन-तीन महिनामा लेखा परीक्षण गर्नु पर्ने नियम छ। वन समूहका अध्यक्ष ख्याम सिटौलाले जङ्गलमा ढलेका रुखको काठ सुरक्षित राख्न गोलिया बनाइएको बताए। सिमसार क्षेत्रमा टहरा मर्मत र थप टहरा बनाउन काठ चिरान गरेको बताइएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार