Tuesday, October 1, 2024

बिमस्टेक लक्षित सडक मर्मतमा चार कराेड

काठमाडौँ–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो  शिखर सम्मेलन १४ र १५ भदाैमा काठमाडाैंमा अायाेजना हुँदैछ।

६ मुलुकका सरकार एवं राष्ट्र प्रमुख काठमाडाैं अाउने भएपछि यहाँका सडक मर्मत, रंगराेगन गर्नुका साथै सरसफाइ पनि गरिएकाे छ। लामो समयदेखि नाजुक अवस्थामा रहेको काठमाडाैँका सडक यतिबेला धमाधम टालिएका छन्, कालाेपत्रे गरिएकाे छ। याे क्रम अझै जारी छ।

सरकारले  बिमस्टेक लक्षित सडकका खाल्डाखुल्डी पुर्न, टाल्न एवं कालाेपत्रे गर्न मात्र चार करोड बजेट  विनियाेजन गरेकाे सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। चार कराेड बजेट भएपनि तीन करोडमै काम सम्पन्न हुनसक्ने उनको भनाइ छ।

बिमस्टेक लक्षित सडक मर्मत गरिँदै। तस्वीर : अमिष रेग्मी।

मर्मतकाे काम झाराे टार्ने गरी भइरहेकाे गुनासाे अाइरहेका बेला अधिकारी भने उच्च गुणस्तरको कार्य भएको दाबी गर्छन्। गुणस्तरभन्दा पनि वर्षाका कारणले गर्दा कालाेपत्रे उप्केको दाबी गर्दै उनले भने, ‘हामीले उच्च गुणस्तरको काम गरेका छौँ, वर्षायामै पिच गर्ने गरी कोल्डमिस्क प्रविधि प्रयोग गरेका छौँ, तर सडक पिच गरेर सुक्न समेत पाएको छैन्, पानी परिहाल्छ अनि कसरी बन्छ त ?’ उनले भने,‘ खानेपानीको पाइपलाइन पनि अर्को समस्या बनेको छ। पूराना पूराना पाइपहरू प्रयोग गरिएको छ, त्यसले गर्दा पानी लिक भइ सडक बिगार्ने गरिरहेको छ।’

उनी सडक टाल्ने समय अहिले नभएपनि सरकारको निर्णय मान्नै पर्ने बाध्यताले गर्दा काम गरेको बताउँछन् । ‘यो समय सडक मर्मत गर्ने समय होइन तर सरकारले यस्तै निर्णय गरेको छ, हामीले त सरकारको निर्णयलाई कार्यान्वयन मात्र गरेका हौँ, हामीले सक्ने काम हामीले गर्ने हो’, उनले भने ।

यतिबेला काठमाडौँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति निवास, टुँडिखेललगायतका विभिन्न रुटहरूमा कालाेपत्रे गर्ने र टाल्ने काम भइसकेकाे छ। महाराजगञ्ज जमल क्षेत्रमा भने बाँकी नै रहेकाे अधिकार बताउँछन्। तर बुधबारबाट भने मर्मत कार्य नहुने सडक डिभिजन प्रमुख अधिकारीकाे भनार्इ छ।

ताजा समाचार

सम्बन्धित समाचार