Tuesday, October 1, 2024

पत्रपत्रिकामा आज : बस बिसौनी बन्यो सहर, सातवटा पानी उद्याेगकाे सिल खाेलियाे

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न समाचार छापिएका छन् ।

कान्तिपुर
–आजको कान्तिपुरमा पप्पुका पुल धराप शिर्षकमा प्रदेश ब्युरोको समाचार छापिएको छ । समयमै काम नसक्ने एक ठेकेदारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कारबाहीको कुरा गरेनन्, बरु सरकारले चाँडै रकम निकासा नगरेकाले पुल अलपत्र परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा सोमबार उनकै बचाउ गरे । ती ठेकेदार हरिनारायण रौनियार हुन्, जो राउतकै पार्टी संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसदसमेत हुन् ।

ठेकेदारबाट राजनीतिमा छिरेका रौनियारको पप्पु कन्स्ट्रक्सनले तराई–मधेसमा अनेकौं सडक र पुल निर्माण काम अलपत्र छाडेको छ । राजनीति आडमै ठेक्का पाउने र निर्माणमा ढिलाइ गर्दा धनुषा, सिरहा, सर्लाही, रौतहट र पर्सामा निर्माणाधीन पुल र सडक बन्न सकेका छैनन् । त्यस्ता ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन केन्द्र सरकार जुर्मुर्‍याएका बेला रौनियारले भने पार्टीको धाप पाएका छन् ।

लालबकैया नदीको टिकुलिया घाटमा गएको शनिबार राति भएको डुंगा दुर्घटनापछि राउत घटनास्थल पुगेका थिए । उक्त घाटमा पुल निर्माणको जिम्मा लिएको रौनियारको पप्पु कन्स्ट्रक्सनले एक वर्षअघि नै सकिसक्नुपथ्र्यो ।

समयमा काम नगर्ने र ठेक्का लिएर विकास निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीको गत महिना गृह मन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रशासन कार्यालयले सूची तयार पारेको थियो । प्रदेश २ मा सडक र पुलको निर्माण गर्ने ठेक्का सकार्ने र समयमा काम नगर्ने ठेकेदार सूचीमा पप्पु कन्स्ट्रक्सन नै अगाडि देखिएको छ । विकास निर्माणका दर्जनौं काम अलपत्र पारेको भन्दै विवादमा तानिए पनि पछिल्लो समय रौनियारले आफू सञ्चालक रहेको पप्पु कन्स्ट्रक्सनको जिम्मेवारी जेठा छोरा सुमितलाई सुम्पेका छन् ।

पप्पु कन्स्ट्रसनका रौनियार तपाईंकै पार्टीको सांसद हो, कसरी कारबाही होला भन्ने सञ्चारकर्मीको जिज्ञासामा मुख्यमन्त्री राउतले उनी अहिले पप्पु कन्स्ट्रक्सनमा नरहेको बताए । ‘पहिले सञ्चालक थिए भन्दैमा दोष लगाउनु मिल्दैन,’ रौनियारको बचाउ गर्दै उनले भने, ‘पार्टी प्रवेश गर्नुअगावै कन्स्ट्रक्सन छाडिसकेका हुन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पप्पु कन्स्ट्रक्सनले २०७४ असार मसान्तअगावै ८ वटा बिलको ५ करोड बढी भुक्तानी लगिसकेको छ । हेटौंडा कार्यालयबाट ४ र चन्द्रनिगाहपुरबाट ४ वटा बिलको भुक्तानी लगेको हो । पुल निर्माणको काम ३६ प्रतिशतभन्दा बढी नभएको डिभिजन कार्यालयले जनाएकाे समाचारमा उल्लेख छ ।

त्यस्तै बसले जोड्दै पोखरा–लुम्बिनी शिर्षकमा अर्को समाचार छापिएको छ । पर्यटकीय नगर पोखराबाट लुम्बिनी बस सेवा सञ्चालन हुने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले आगामी शनिबारदेखि सेवा सुरु गर्न लागेको हो । सुनौली, भैरहवा र बुटवललाई पोखरासँग यातायात सम्पर्कमा जोड्न २ अत्याधुनिक बस ल्याइएको जगदम्बाका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।

‘सिल्भर ट्रयांगल’ भनिने पर्यटकीय क्षेत्र चितवन, लुम्बिनी र पोखरालाई बस सेवामा जोड्न केही वर्षअघि पनि प्रयास भएको थियो । पोखराबाट गएको बसलाई रुपन्देही क्षेत्रमा तत्कालीन एउटा समितिले रोकेपछि पर्यटकीय बस सेवा सुरु गर्नै नपाई बन्द गरिएको थियो । यसपटक लुम्बिनी, भैरहवा र बुटवलका व्यवसायी र ५ नम्बर प्रदेशको सरकारसँगको छलफलपछि सेवा सुरु हुन लागेको अधिकारीले बताए । ‘उहाँहरू पर्यटकीय नगर जोड्ने स्तरीय बसको सेवा सञ्चालन हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ,’ उनले भने, ‘हामीले छलफलपछि मात्रै सेवा सुरु गर्न लागेका हौं ।’ हालसम्म भैरहवा भएर नेपाल भित्रिने भारतीय पर्यटक आफ्नै सवारीमा पोखरा आइपुग्ने गरेका छन् । कतिपय सीमा क्षेत्रमा पाइने गाडी रिजर्भ लिएर आउजाउ गर्छन् । जगदम्बाको ३० सिटे बस औपचारिक रूपमा आगामी शनिबारदेखि पोखरा र आइतबार लुम्बिनीबाट छुट्ने भएको समाचारमा उल्लेख छ ।

त्यस्तै बस बिसौनी बन्यो सहर शिर्षकमा मनोज पौडेलको समाचार छापिएको छ। शिवराज ५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माणमा संलग्न मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाए । ०४० पछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो । बस्तीमा दुईरतीन पक्की घर थिए, बाँकी फुस र खरले छाएका । यही ठाउँ पूर्व–पश्चिम चल्ने बस बिसौनी बन्यो । कुनै बेलाको त्यही बस बिसौनी अहिले सहरमा फेरिएको छ ।

स्थानीयका अनुसार सुरुमा २ चिया पसल थिए । यो मुलुकभित्र र भारत ओहोरदोहोर गर्ने नाका सहर भएपछि सबैतिरका यात्रु भेला हुन थाले । पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक बनेपछि ०५०र५१ देखि पहाडबाट बसाइँसराइ गरी आउने क्रम सुरु भयो । तर, ०५२ मा माओवादी द्वन्द्व सुरु भएपछि यहाँ सन्नाटा छायो । त्यतिबेला बजार विस्तार भएन । बसाइँ सर्ने क्रम थामियो । विस्तृत शान्ति सम्झौतापछि चन्द्रौटा बजार फेरि चम्किन थालेको छ । अहिले आसपास जिल्लाबाट बसाइँ सरी आउनेको ताँती छ । एक जमानाको बस बिसौनी अहिले जिल्लाकै व्यस्त बजार बनेको छ । यहाँ मिश्रित बस्ती छ, पहाड, भित्री मधेस र तराईका विभिन्न जातजातिको बसोबास । अर्घाखाँची, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी र दाङबाट
बसाइँ सरेर आउने धेरै छन् । पहाडी, मधेसी, थारू र मुस्लिमबीचको एकता बलियो छ ।

शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी ०४० तिर बैंकमा पैसा राख्न÷झिक्न परे ३५ किमिको दूरीमा रहेको सदरमुकाम तौलिहवासम्म साइकल चलाएर पुग्थे । अहिले त्यस्तो दुस्ख छैन । चन्द्रौटा बजारमै १८ वाणिज्य बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन् ।

चिल्ला सडक छन् । ठूला घर र पूर्वाधार निर्माण भएका छन् । दुईदेखि चारपांग्रे सवारी साधन घरदैलोमै पुग्छन् । आधारभूत आवश्यकता आँगनमै पूरा भइरहेका छन् । तीव्र बजारीकरण छ । बसाइँसराइ पनि द्रुत गतिमा भइरहेकाले चन्दौटा सहरोन्मुख बनेको छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र बन्दै छ ।

राजमार्ग दायाँबायाँ बाक्लो बस्ती छ । यहाँबाट दाङ, अर्घाखाँची, प्यूठान र रोल्पासम्म व्यापार हुन्छ । अर्घाखाँची, प्यूठान र रोल्पाका लागि आवश्यक ७० प्रतिशत खाद्यान्न
यहीँबाट आपूर्ति हुन्छ । तराई र पहाडी जनजीवनको आनन्द लिन पनि चन्द्रौटा उपयुक्त स्थल बनेको छ ।

मुलुकका ६ ठूला भन्सार नाकामध्येको यो कृष्णनगरसँग जोडिएको नजिकको बजार हो । बजारको पहुँच भारतीय राष्ट्रिय रेल सञ्जालसम्म छ । बढनी रेलवे स्टेसन पनि नजिकै छ । चन्द्रौटाबाट कृष्णनगर २० किमि दक्षिणमा छ । गण्डकी, ५ र कर्णाली प्रदेशका अधिकांश पहाडी जिल्लाका नागरिक भारत आउजाउ गर्न यही नाका प्रयोग गर्छन् ।

यहाँ व्यवस्थित सहर बसाउने गुरुयोजनाको भने अभाव छ । ‘गुरुयोजना नहुँदा कस्तो सहर बनाउने अन्योल छ,’ कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेलले भने, ‘कुन ठाउँमा के निर्माण गर्ने भन्ने योजना छैन, जहाँ पायो त्यहीँ विकासका नक्सा कोर्दा समस्या भइरहेको छ ।’ औद्योगिक, व्यापारिक, पर्यटन र बस्ती क्षेत्र छुट्याएर पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए । अहिले समस्या नभए पनि भविष्यमा नराम्रो असर गर्ने हुँदा नगरपालिकाले छिट्टै गुरुयोजना बनाउनुपर्नेमा पोखरेलले जोड दिए ।

‘योजना बनाउन रकम लाग्ने हुँदा धेरैले नाक खुम्च्याउँछन्,’ स्थानीय विष्णुप्रसाद खतिवडाले भने, ‘तर, योजनाअनुसार काम गर्दा ५र७ वर्षपछि त्यसको परिणाम देखिन्छ ।’ व्यवस्थित कामका लागि नेतृत्व अभाव भएकाले यहाँको विकासले गति लिन नसकेको स्थानीय हुमाकान्त खनालले बताए । घर बनाउने र जीविकोपार्जनका लागि व्यापार फस्टाए पनि शिक्षा, स्वास्थ्य, मनोरञ्जन र रोजगारीको अवसर नभएको उनले बताएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्णमा विकल्प बन्दै बिम्स्टेक शिर्षकमा समाचार छापिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता गरिरहेका प्रधानमन्त्री केपी ओलीले सार्क सोचे अनुरुप सक्रिय र प्रभावकारी हुन नसकेको बताएका छन् । प्रधानमन्त्री निवासमा सोमबार सम्पादकहरूसँगको अन्तक्र्रियामा उनले यस्तो बताएका हुन् ।

‘हाम्रोसमेत संलग्नतामा बनेको संस्था हो, सार्क । हामी नै अध्यक्ष भएको बेला यसलाई सक्रिय गराउन सकिएको छैन । यो हाम्रो हातको मात्रै कुरा भएन । सार्कलाई पुनर्जीवन दिएर सक्रिय तुल्याउन आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने, ‘गत वर्ष म भारत भ्रमणमा जाँदा होस् वा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा, मैले सार्कलाई गतिशील बनाउनुपर्छ भनेको छु ।’

उनले सार्कलाई सक्रिय बनाउँदा आपसी असमझदारी (मिस अन्डरस्ट्यान्डिङ) घटाउन मद्दत मिल्ने बताए । अनेक कारणले सार्क सोचे अनुरूप अघि बढ्न नसकेको उनले स्वीकार गरेपनि कारण भने खुलाएनन् । उनले बिम्स्टेकको विषयमा यसलाई गति दिन सदस्य राष्ट्रहरू सहमत भएकाले यसले गति लिनेमा विश्वास रहेको बताए । ‘एउटा भएन भने अर्कोलाई गति दिएर भएपनि क्षेत्रीय संगठन निर्माण गर्नुपर्छ’, उनले भने, ‘ईयू र आसियनहरू संगठित रूपले अघि बढिरहेका छन् ।

हामीले पनि बिम्स्टेकलाई त्यस्तै फोरम बनाउनुपर्छ, जहाँ कनेक्टिभीटी, गरिबी न्यूनीकरण, नागरिक(नागरिक सम्बन्ध विस्तार, ऊर्जाको आदान–प्रदान गर्ने एजेण्डा बनाएर क्रंकिट रूपमा अघि बढ्नुपर्छ ।’

यसलाई कर्मकाण्डी रूपमा अघि बढाउनु नहुने भन्दै प्रधानमन्त्रीले भने, ‘बीस वर्ष बिम्स्टेकको इतिहास निरन्तरता दिने होइन कि नयाँ ढंगले यसलाई सक्रिय, प्रभावकारी, उपयोगी बनाउनुपर्छ, क्षेत्रीय संगठनका रूपमा ।’

अध्यक्षको हैसियतमा मात्र होइन सदस्यको रूपमा समेत नेपालको भूमिका कर्मकाण्डी नहुने उनले स्पष्ट पारे । ‘यस्ता संगठन हामीलाई बढी चाहिएको छ । अरू देश धेरै अघि पुगिसकेका छन्’, उनले भने, ‘हामीले यो सम्मेलनलाई विशेष बनाउँदै यसको नयाँ अध्याय सुरू गर्न आवश्यक छ ।’

यसैबीच बिम्स्टेक शिखर सम्मेलनको प्रक्रिया मंगलबारदेखि आरम्भ हुँदैछ । सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सरकार एवं राष्ट्रप्रमुख आउने क्रम मंगलबारबाटै सुरु हुनेछ ।

विदेश सचिवहरू सोमबार नै काठामडौं आइपुगेका छन् । परराष्ट्रसचिव शंकरदास बैरागीले सोमबार विदेशसचिवहरूसँग अनौपचारिक छलफल सुरु गरेका छन् । साँझ भएको अनौपचारिक छलफलमा सदस्य मुलुकले बिम्स्टेकलाई सार्कको विकल्प नभएर पुरक झै अघि बढाउन पर्ने र यसको चार्टर त्यही अनुरुप तयार गर्नेमा केन्द्रित रहेको थियो ।

शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यसअघिका उपलब्धिको पुनरावलोकन एवं कार्यान्वयनको प्रगति समीक्षा समेत बरिष्ठ अधिकारीको बैठकमा छलफल हुने मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले बताएको समाचारमा उल्लेख छ।

नागरिक
–अाजकाे नागरिकमा सातवटा पानी उद्याेगकाे सिल खाेलियाे शिर्षकमा समाचार छापिएकाे छ । स्वचालित (अटाेमेटिक) मेसिन जडान नगरी सञ्चालन गरिएका १० पानी उद्याेगमध्ये सातवटाकाे सिल खाेलिएकाे छ ।

सरकारले गत वर्षदेखि लागू गरेकाे प्रशाेधित पिउने पानी उत्पादन मापदण्ड  निर्देशिका २०७४ ले गरेकाे मापदण्डहरू सबै असाेज २५ गतेभित्र पूरा गर्ने सम्झाैता गरेर उद्याेगमा लगाइएकाे सिल खाेलिएकाे हाे ।

जिल्ला प्रशासन कार्यालय चितवनले खाद्य निरीक्षण एकार्इले स्वचालित मेसिन जडान नभएका १० पानी उत्पादन गर्ने उद्याेगमा भदाै ७ गते सिल गरेकाे थियाे । अाउने १५ दिनभित्र न्यूनतम सबै पूर्वाधार तयार गरेर पानी परीक्षण गरेर मात्र उत्पादन सुरू गर्ने सहमति पनि गरिएकाे छ । उद्याेगले असाेज मसान्तभित्र गर्नुपर्ने उद्याेग नविकरणा कार्य स्वचालित मेसिन जडान गरेपछि पानी परीक्षण गरेर पिउन याेग्य भएमात्र गर्ने सम्झाैता गरेर सिल खाेलिएकाे खाद्य  निरीक्षक प्रविण तिवारीले जानकारी दिएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार