Tuesday, October 1, 2024

पीडितलाई २० लाख क्षतिपूर्ति दिने सहमतिपछि सिसडोलमा फोहोर फाल्न शुरु

नुवाकोट – काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि सोमबार दिनभरी रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ।

बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै दिनभरी सो गाडी स्थानीयवासीले रोकेका थिए। मृतकको परिवारले तीनपीप्ले–ओखरपौवा सडक ठप्प पारेका थिए।

मृतकको परिवारलाई रु २० लाख क्षतिपूर्ति दिने सहमति भएपछि सडक खुलेको ककनी–१ का वडाध्यक्ष चन्द्रबहादुर बलामीले बताए। स्थानीय तह–कामपा– फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनीका प्रतिनिधि र पीडित पक्षबीच भएको छलफलपछि साँझ रु २० लाख क्षतिपूर्ति दिने सहमति भएको थियो ।

फोहर फाल्ने ठेक्का पाएको कम्पनीले रु १५ लाख र कामपाले रु पाँच लाख क्षतिपूर्ति दिने सहमति भएको छ। पीडित पक्षले क्षतिपूर्तिस्वरुप रु ३० लाख र मृतकको परिवारका एक सदस्यलाई कामपामा रोजगारी दिनुपर्ने माग राखेर सडक बन्द गराएको थियो । छलफलपछि क्षतिपूर्तिस्वरुप रु २० लाख र परिवारको एक सदस्यलाई महानगरले कर्मचारी आवश्यकताको विज्ञापन गरेका बेलामा उच्च प्राथमिकता दिने सहमति भएको वडाध्यक्ष बलामीले बताए।

कामपाले पीडित परिवारलाई सोमबार नै रु ५० हजार दिएको छ । मंगलबार रु एक लाख र बाँकी रकम ३५ दिनभित्र दिने सहमति भएको छ । यस्तै चालकको चरम लापर्वाहीको कारण बलामीको मृत्यु भएकाले उनलाई कानूनअनुसारको हदैसम्मको कारवाहीका लागि पहल गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार