काठमाडौँ – काठमाडौँबाट फोहोर बोकेर सिसडोल गएको ट्रिपरको ठक्करबाट नुवाकोटमा एकजनाको मृत्यु भएको छ।
फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रिपरले सोमबार बिहान ५ बजेतिर ठक्कर दिँदा ककनी १ का ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसी भीम भट्टराईले बताए ।
गाडीको ठक्करबाट बलामीको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका छन् । उनीहरू दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राख्दै प्रदर्शनमा उत्रिएका छन् । स्थानीयको प्रदर्शनले पासाङल्हामु राजमार्ग भएर गुड्ने सवारी साधन मर्कामा परेका छन् । साथै काठमाडौँको फोहोर बोकेर गएका सबै गाडीहरू पनि काठमाडौँ नै फर्केका छन्।
प्रहरीले ट्रिपरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको डिएसपी भट्टराईको भनाई छ। साथै प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि काठमाडौँ ल्याउने तयारी भएको जनाएको छ।