Tuesday, October 1, 2024

बाढीको पूर्वसूचना प्रवाहका लागि सरकार र एनसेलबीच समझदारी

काठमाडौं–सम्भावित बाढीबारे पूर्वसूचना एसएमएसमार्फत् मोबाइलमा उपलब्ध गराउन सरकार र सेवा प्रदायक कम्पनी एनसेलबीच समझदारी भएको छ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा र एनसेलका प्रमुख सूचना अधिकृत विशाल उपाध्यायले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीले बाढी सम्बन्धि जोखिमको पूर्वसूचना प्रवाह गर्दै जनधनको क्षतिमा न्यूनीकरण गर्न योगदान पुर्‍याइरहेको पूर्व सूचना प्रणालीलाई थप मजबुत बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

एनसेलका प्रमुख सूचना अधिकृत उपाध्याय भन्छन्, ‘पूर्वसूचना प्रणाली सम्बन्धित यस पहलले आपतकालिन अवस्थामा पनि प्रविधिको प्रयोग गरी कसरी सामाजिक लाभ लिन सकिन्छ भन्ने तथ्य पनि उजागर गरेको छ।’

उनका अनुसार नयाँ समझदारी पाँच वर्षका लागि हो। यस अन्तर्गत, एनसेलले विभागसँगको समन्वयमा बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई एसएमएसमार्फत प्रदान गर्दै आएको बाढी सम्बन्धि पूर्व सूचना तथा चेतावनी प्रवाहलाई निरन्तरता दिनेछ।

साथै, एनसेलले जल तथा मौसम विज्ञान विभागलाई हाइड्रो मेटेरोलोजिकल स्टेशनहरु सञ्चालन तथा विस्तारका लागि पहिलो वर्ष २ सय ५० वटा सिमकार्डहरु उपलब्ध गराई कनेक्टिभीटीका लागि ब्यालेन्स बापत १५ लाख सहयोग गर्ने समझदारी भएकाे छ। यसरी उपलब्ध कनेक्टिभिटी सुविधाले विभागलाई देशका विभिन्न स्थानमा स्थापित हाइड्रो मेटेरोलोजिकल स्टेशनहरुबाट केन्द्रिय सर्भरसम्म जोड्न तथा रियल टाईम डाटा ट्रान्समिसनका लागि सहयोग गर्नेछ।

पूर्वसचेतनाका लागि निःशुल्क एसएमएस सेवा नेपाल टेलिकम र एनसेलले कर्पाेरेट सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष पनि प्रदान गरेका थिए। गृहमन्त्रालयलेसार्वजनिक गरेको ‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–२०३०’ मा बाढी पूर्वानुमानगरी पूर्वसूचना दिने प्रणालीको विकास गर्ने उल्लेख छ।

विभागले गत वर्षदेखि बाढीपहिरोको उच्चजोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढीपहिरोको पूर्व चेतावनी सूचना दिन थालेको हो। गत वर्ष पनि नेपाल टेलिकम र एनसेलले नै सेवा उपलब्ध गराएका थिए। तर, यो वर्ष एनसेलसँग समझदारी भएपनि टेलिकमसँग समझदारीपत्रमा हस्ताक्षर गर्न बाँकी छ।

यस सहकार्य अन्तर्गत जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको सहतको अनुगमन गर्दै त्यसको जोखिमका आधारमा भिन्नाभिन्नै एसएमएस कन्टेन्ट एनसेललाई उपलब्ध गराउँदछ। र, त्यसै अनुरुप कम्पनीले तोकिएको जोखिम क्षेत्रमा रहेका एनसेल ग्राहकहरुलाई तत्काल त्यो सूचनालाई सर्टकोड ११५५ बाट एसएमएस गरी पठाउँछ।

विभागको बाढी पूर्वानुमान महाशाखाले नदीमा ३ दिनसम्मको जल सतहबारे प्रक्षेपण गर्दै आएको छ।  त्यसैगरी, जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नम्बर ११५५ मा फोन गरेर पनि नदीमा पानीको सहतको स्थिति र बाढीको जोखिमका बारेमा निःशुल्क जानकारी लिन सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार