काठमाडौँ – हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षाबन्धन गरी धुमधामसँग मनाइँदैछ।
तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हिन्दू धर्मशास्त्रअनुसार जनैलाई ब्रम्हासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रम्हा, बिष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ।
आज जनै तथा राखी बाध्नाले देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त भइने तथा जनैले मानिसमा बल, बुद्धि र तेज प्रदान गर्छ भन्ने विश्वास रहिआएको छ । आजका दिन नाडीमा मन्त्रिएको डोरी बाँधेर रक्षाबन्धन पनि गरिन्छ। यस दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ समेत भन्ने गरिन्छ।
तराई क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाँधिदिने चलन छ । आजै विभिन्न नौ प्रकारका गुडागुडी मिसाएर पकाइएको क्वाँटी खाने गरिन्छ।
क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षातका कारण चिसो भएको शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ। नेवारी समुदायले भने आजका दिन ‘गुन्हु पुन्ही’ मनाउने प्रचलन छ।
मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षहरुमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।
यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।
रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्य रुपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी ९रक्षासुत्र० बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशीयाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइ बहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।
रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेश भरी नै एउटा छुट्टै उल्लास छाएको छ । जताततै भाइ बहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गितिक धुन गुञ्जायमान भएको पाइन्छ ।