Friday, September 20, 2024

अन्ततः सरकारसँग झुके कालीमाटीका तरकारी व्यापारी

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू अन्ततः सरकारसँग झुकेका छन्।

केही दिन अघि मात्र बजारको अनुगमन गर्न पुगेको सरकारी टोलीलाई नै  दुर्व्यवहार गर्नुका साथै बजार नै बन्द गरेर आन्दोलन गरेका कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीहरू सरकारले कारबाही अगाडि बढाएपछि पछाडि हटेका हुन्।

कालीमाटी तरकारी फलफूल तथा थोक बजार व्यवसायिक संस्थाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र नै लेखेर बन्दहडताल नगर्ने प्रतिवद्धता जनाएको छ। संघका महासचिव रामकृष्ण रिमालले लेखेको पत्रमा भनिएको छ, ‘अबका दिनमा तरकारी बजारमा नेपाल सरकारका विभिन्न अनुगमन गर्ने निकायहरू आउँदा समन्वय गर्ने र बजारलाई व्यवस्थित ढंगबाट सञ्चालन गरिनेछ।’

सरकारी टोलीलाई नियन्त्रणमा लिएपछि सरकारले उक्त संस्थाका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरेको थियो। संघले सरकारलाइ पत्र लेख्दै उनको रिहाइको अनुरोध गरेको छ।

कालीमाटी घटनापश्चात उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव आफै कालीमाटी पुगेर बजार बन्द गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए।

तर, त्यहाँका व्यापारीहरु संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका थिए। सरकारले त्यहाँका कतिपय तरकारी स्टल खारेज गर्ने तयारी गरिरहेका बेला संस्थाले सूचना जारी गरी संघर्ष समिति बिघटन गरेको घोषणा गरेको छ।

‘२०७५ भाद्र ०९ गते बसेको कार्यसमिति बैठकले हालको परिश्थितिलाई मध्यनजर गर्दै संघर्ष समिति विघटन गर्ने निर्णय गरेको छ,’ जारी सूचनामा भनिएको छ। गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार ६ गतेदेखि खुलिसकेको छ।

ताजा समाचार

सम्बन्धित समाचार