Tuesday, October 1, 2024

फलोअप : ओलानीमा दुई करोडको खानेपानी योजना बन्ने

धनगढी–कैलालीको गोदावरी नगरपालिका १२ ओलानीमा दुई करोडको लागतमा खानेपानी योजना बन्ने भएको छ।

अाेलानीमा रहेकाे धारा। तर, धाराबाट मुस्किले पानी अाउँछ।

रोटरी क्लब अफ धनगढीको पहलमा रोटरी इन्टरनेशनलको रोटरी फाउन्डेसनको सहयोगमा खानेपानी योजना बन्ने भएको हो ।

गोदावरी नगरपालिकास्थित ओलानीमा खानेपानीको चरम संकट निवारणका लागि रोटरी क्लबले दुई लाख २५ हजार लिटरको खानेपानी टंकी निर्माण गरिने रोटरी क्लब अफ धनगढीका अध्यक्ष पुष्कर ओझाले जानकारी दिए।  सो खानेपानी योजनाले ओलानीका ६ सय घरपरिवारलाई फिल्टरसहितको धारा जडान गर्ने लक्ष्य लिइएको ओझाले बताए।

पढ्नुहोस् : मछेली खोलाको पानी सुक्दा बस्ती बिरानो

योजना निर्माणका लागि एक लाख ६३ हजार ४ सय डलर रोटरी इन्टरनेशनलको रोटरी फाउन्डेसनले सहयोग गर्ने जनाइएको छ। ‘सहयोग प्राप्तपछि हामी एक महिनाभित्रै टेण्डर आह्वानन गरी निर्माण प्रक्रियामा जाने छौं,’ रोटरी क्लब अफ धनगढीका निबर्तमान अध्यक्ष दीर्घराज उपाध्यायले भने।

प्रदेशसभा सांसद कृष्णप्रसाद सुवेदीले गोदावरी नगरपालिका ११ मा प्रदेश सरकारले २ वटा डिप ट्यूबेलमार्फत् चालु आर्थिक वर्षमा खानेपानीका लागि बजेट विनियोजन भएको बताए। गोदावरी नगरपालिका १० मा भूमिगत सिंचाई योजनाका लागि ५० लाख, गोदावरी नगरपालिका १० विष्ट टोलमा भूमिगत सिंचाइ योजनाका लागि २५ लाख बजेट विनियोजन भएको सांसद सुवेदीले बताए।

गोदावरी नगरपालिका ११, १० र ९ वडाका भागेश्वर, हलुडे, चापसल्ली लगायतका स्थानका लागि संघीय सरकारमार्फ्त खानेपानीका योजना निर्माणको पहल भइरहेको सांसद सुवेदीको भनाइ छ। गोदावरी नगरपालिकाका ४, ६, ७, १२, ११ र १० वडामा पानीको चरम अभाव देखिँदै आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार