धनगढी– कैलालीको गोदावरी नगरपालिका १२ ओलानीमा बस्दै आएका चन्द्रसिंह बडैला पानी अभावमा बस्ती सर्न थालेपछि चिन्तित छन्।
बढ्दो वन विनाश, चुरे दोहोन, पानीका स्रोत सुकेर त्यसको विकल्प खोज्दै बस्ती सर्नु नै उनी चिन्तित हुनाका कारण हुन्। ५१ वर्ष अघि डोटीबाट यो ठाउँमा आएका उनले यहाँबाट पनि सर्नुपर्ला भन्ने कल्पना समेत गरेका थिएनन््। भन्छन्, ‘हेर्दाहेर्दै धेरै जनाले ओलानी छाडेर अन्तै घर बनाउने क्रम रोकिएको छैन।’
चन्द्रसिंह भन्छन्, ‘मसहित दुई सय जनाले चुरे पहाडको फेदैमा रहेको ओलानी गाउँमा बस्न आउँदा जंगल फाँडेरै बस्न थालेका हौं। २०२३ सालतिर, पहाडमा भोकमरी लाग्यो । हाट जाने बेला यही ओलानीको बाटो भएर ओहोरदोहोर गथ्र्यौ।’ भोकमरी टार्नकै लागि मछेली खोलाको लोभलाग्दो पानी, पशुपालनका लागि पर्याप्त चरिचरन देखेर आफूहरू चुरेफेदीको ओलानीमा बसेको उनी बताउँछन्।
त्यतिबेला मछेली खोलामा पर्याप्त पानी थियो, त्यही पानी सिंचाइ र पिउनका लागि प्रयोग हुथ्यो, गोदावरी १२ का ८२ वर्षीय उदयसिंह बडैला भन्छन्, ‘अहिले त सिंचाइको कुरै छोडौं पिउने पानीको हाहाकार छ। बढ्दो चुरे विनाशका कारण पानीका स्रोत सुकेपछि स्थानीयको जीविकोपार्जनमा समेत व्यापक असर पर्न थालेको छ।’ पानीको अभावका कारण समयमै खेती लगाउन नपाउँदा किनेर खानुपर्ने अवस्था आएको उनको भनाइ छ। आकाशे पानीकै भरमा खेती लगाउनु पर्छ, बढ्दो वन विनाशले मछेली खोलामा गेग्रान भरिएर भएको पानी पनि भित्रभित्रै बगेर जान थालेको छ ।
चुरे पहाडको फेदीमा जंगल फाँडेर बस्ती बस्दा त्यतिबेला नै डा. केआई सिंहले भनेका कुरा सम्झँदै उनी भन्छन,् ‘चुरे पहाडको फेदीमा नबस्, अरु ठाउँमा म जग्गाको व्यवस्था गरिदिन्छु, भविष्यमा तिमीहरूलाई पानीको संकट पर्नेछ’ भनेकै हुन । ‘हो रहेछ अहिले डा. सिंहले भनेका कुरालाई सम्झिरहेको छ,ु डा. सिंहले अन्यत्र जग्गाको व्यवस्था गरिदिएका व्यक्तिहरुको जग्गाको मूल्य करोडमा छ, हाम्रो लाखमा मात्रै,’ बडैला भन्छन्, ‘हुनेखानेले बस्ती सार्न थालेका छन् नहुनेले समस्यै समस्या भोगेर बस्न बाध्य हुनु परेको छ ।’
ओलानी गाउँमा खानेपानी र सिंचाइको चरम अभाव देखिएपछि सो ठाउँमा जग्गा किन्नकोही तयार छैनन्। । गोदावरी ११ र १२ मा बस्नेहरुसित धेरै जमिन छैन। जंगल फाडेर बस्ती बसेकाले प्रति परिवार ५ कठ्ठादेखि डेढ बिघासम्म जमिन रहेको स्थानीय बताउँछन्।
ओलानीबासी अहिले खोलाको धमिलो पानी पिउन बाध्य छन्। स्वच्छ खानेपानी नहुँदा विभिन्न रोग लाग्ने गरेको मालाखेती स्वास्थ्य केन्द्रका सिनियर अहेब सत्यराज फुलाराले बताउँछन्। उनका अनुसार दूषित पानीका कारण झाडापखाला, आउँ, टाइफाइड, छालासम्बन्धि लुतो, खटिराका बिरामीहरु अस्पताल आउने गरेका छन्।
उदयसिंह भन्छन्, ‘अब त ओलानीमा कसैले छोरीबेटी दिन मान्दैनन्। उनीहरुलाई छोराको विहे गर्न ओलानीभन्दा बाहिर पनि घर छ, भन्नुपर्ने भएको छ।’ गोदावरी ११ र १२ मा धेरै व्यक्तिको दोहोरो बस्ती छ, केटाकेटी पढाउन र सेवासुबिधाका हिसाबले धेरैले अत्तरिया बजार, धनगढी र राजमार्ग छेउछाउमा घर बनाएर बस्न थालेका छन्।
गोदावरी को चुरे फेदीका बस्तीमा वर्षौंदेखि खानेपानीको हाहाकार छ। गर्मीयामको सुरुवातसँगै प्राकृतिक मूल र कुवाको पानीसमेत सुकेर त्यस क्षेत्रका विभिन्न वडाका बस्तीहरू सुख्खा हुने गरेका छन्। एक घैंटो पानीका लागि २÷३ घण्टा पैदल हिँड्नुपर्छ । गोदावरीको सबै वडामा खानेपानीको अभाव छ। पानीको हाहाकार हुने गोदावरीका ४, ६, ७, १०, ११, र १२ नम्बर वडा हुन्।
चुरे फेदीमा पर्ने ती वडामा खानेपानीका मूल पछिल्ला वर्षमा सुक्दै गएकोले पानीको हाहाकार हुन थालेपछि धेरैले बस्ती सार्न थालेको स्थानीयवासी बताउँछन् ।
पानी अभावका कारण गोदावरी का ११ ओलानीका ४३ वर्षीय तुलाराम बडैला दुई बर्षअघि गोदावरी नगरपालिका ३ चौकीडाँडामा बस्दै आएका छन् । खानेपानी र सिँचाई अभावका कारण ३० वर्षदेखि बस्दै आएको घर छोडेर खडकसिंह बडैलापनि चौकीडाँडामा सरे । ७ वर्षदेखि ओलानीमा बस्दै आएका लालबीर कोली दुई महीना अघि बसाइसराई गरी धनगढी उपमहानगरपालिका १३ गेटामा आएका छन् । अन्नबालीले वर्षभर खान नपुगेपछि डोटीबाटै बसाईसराई गरी ओलानी आएका साउँद र कडायत परिवार अत्तरिया नजिक बसेका छन् । साउँद र कडायत परिवारले समयमै बुद्धि नपुर्याएको भए ओलानीबासी सरह पानीको दुःख खेप्नु पर्ने थियो ।
तुलाराम, खडकसिंह र लालबीर प्रतिनिधि पात्र मात्र हुन् । गोदावरी११ र १२ बाट गोदावरी कै अत्तरिया, चौकीडाँडा, झन्झटपुर, धनगढी घर बनाएर बस्नेको संख्या धेरै भएको गोदावरी ११ का वडाध्यक्ष शिव बिकको भनाइ छ । सिंचाई र खानेपानी अभावका कारणले नै हो बस्ती छोडेर अन्यत्र घर बनाएर बस्न थालेका छन् विकले भने हेर्नुस न गाउँमा बनाएका घर र जमिन कति बाँझा छन् त्यसैबाट थाहा हुन्छ । ओलानीबाट बस्ती सार्ने मध्ये थोरैले मात्र बसाइसराई सम्बन्धी कागजात बनाएको उनको अनुभव छ । ओलानीमा अधिकांश व्यक्तिले ठाउँ सरेपनि बसाईसराई गराएका छैनन्।
वडाध्यक्ष विकका अनुसार २०६८ सालको जनगणना अनुसार वडा नं. ११ मा ९ सय ९१ र वडा नं. १२ मा एक हजार ६ घरधुरी रहेका छन् । ती मध्ये अधिकांश दलित परिवार छन् । दलित परिवारका प्राय सबै रोजगारीका लागि भारत गएका छन् । भारतबाट कमाएको रुपयाँले उनीहरुको रोजीरोटी चल्दै आएको छ । गोदावरी११ र १२ बाट सात महिनायर्ता ३५ जनाले बसाईसराई गरेका छन् । नगरपालिकाको पञ्जिकरण शाखाका गोविन्दराज जोशीका अनुसार आउनेभन्दा बसाइसराई गर्नेको क्रम बढी देखिन्छ । कतिपय व्यक्तिले आसपासमै घर बनाएर बसेकाले पनि बसाइसराईको कागजाती प्रकृया नअपनाएको जोशी बताउँछन् ।
ओलानीमा ‘पानी दिने विश्वास जसले दिलाउँछ, उही चुनाव जित्छ । तर पनि यहाँका बासिन्दाले जहिलेसुकै पानीकै माग गरिरहनुपर्ने पीडाबाट मुक्त हुन सकेका छैनन् । चुनाबका बेला घरदैलोमा आउने विभिन्न पार्टीका उम्मेदवारलाई त्यहाँका बासिन्दाले पटकपटक पानीको समस्या राख्दै आएका छन् । तर, समाधान हुन सकेको छैन । पानीको समस्या समाधान नहुने देखिएपछि बसाइसराई गर्नु परेको छ ।
स्थानीय सरकार बनेपछि जनताका समस्या सम्वोधन हुनेमा बढी आशावादी थियौं,’ गोदावरी ११ का पठानसिं विकले भने, ‘जनप्रतिनिधिले ल्याएको पहिलो आर्थिक वर्षको बजेटमा समेत खानेपानीका योजनालाई प्राथमिकतामा राखिएन ।’ ‘यहाँका बासिन्दालाई सडक पनि चाहिन्छ तर पहिलो प्राथमिकता भनेको खानेपानी र सिँचाई हो ।’ स्वास्थ्य, शिक्षा, बाटो, सडक, बिजुली बत्ती सबै आधारभूत आवश्यकतामा पर्छन् ’ उनले भने, ‘तर गाउँको पहिलो आवश्यकताको विषय खानेपानी प्राथमिकता पर्नुपर्छ । त्यसमा अरूभन्दा धेरै बजेट छुट्ट्याइनुपर्छ ।’ सबैलाई पुग्ने गरी पानीको व्यवस्थापन गर्न सके स्थानीयको अनुहारमा खुसी छाउँथ्यो,’ वर्षाैंदेखिको पानीको समस्या टथ्र्यो र बसाइसर्ने क्रम रोकिन्थ्यो विकले भने ।’
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले चालु आर्थिक वर्षमा खानेपानीतर्फ पूरै नगरपालिकाका लागि ६० लाख मात्र बजेट विनियोजन भएको बताए । नगरपालिकाको कुल विकास बजेट ३६ करोडमा सबैभन्दा धेरै कल्भर्ट निर्माण र सडक ग्राभेलमा खर्च गर्दैछ । उनले आउने आर्थिक वर्षमा खानेपानीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने जानकारी दिए । नगरले आफ्नो बजेट मध्ये६० लाख डिप बोरिङ र कुवा मर्मतका लागि छुट्टाइएको छ । जसअन्तर्गत वडा नम्बर ४, ६, ७ र १२ मा पर्ने चार ठाउँमा डिप बोरिङ गरिने छ । एउटा डिप बोरिङको लागत १० देखि १५ लाख अनुमान गरिएको मरासिनीले बताए । बाँकी रकम परम्परागत कुवाहरूको मर्मत–सम्भार र अन्य सम्भाव्यता अध्ययनमा खर्चिने अधिकृत मरासिनीले बताए । पानी अभावमा छट्पटिएको ओलानीमा डिप ट्यूबेल जडान गर्दा २४ लाखसम्म खर्च हुने अनुमान छ ।
इनारमा बर्सेनि पानी सुक्दै गएकाले यस क्षेत्रमा खानेपानीको ठूलो योजना आवश्यक रहेको गोदावरी गाविसका पूर्व अध्यक्ष भानसिंह विकले बताए । चुरे वन विनास, जलबायु परिवर्तन र मानवीय गतिविधिका कारणले पानीका स्रोत सुक्न थाले उनले भने ‘खानेपानीको दीर्घकालिन समस्या समाधानका लागि चुरे गाउँपालिका र डोटीको सीमा भएर बग्ने ठूली गाडको पानीलाई सुरुङ मार्ग खनेर ल्याउन सक्नुपर्छ ।’
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनगढीले गोदावरी नगरपालिका चुरेफेदीको बस्ती ओलानीमा खानेपानी व्यवस्थापनका लागि गत वर्ष दुई वटा डिप ट्यूबेल निर्माण गरेपनि नियमित खानेपानी आउँदैन् । दुई वटा डिप ट्यूबेल मार्फत २१ वटा धारा जडान गरिएको डिभिजन प्रमुख नारायणप्रसाद काफ्ले बताउँछन् । गोदावरी नगरपालिका ११ र १२ मा खानेपानीको चरम अभाव देखिएपनि समस्या लिएर कार्यालय कोही नआएको काफ्लेको भनाइ छ ।
ओलानीमा डिप ट्यूबेल गाड्दा ३ सय फिटमा पानी आउने गरेको छ । विद्युत आपूर्तिमा अनिश्चितता हुँदा त्यहाँका उपभोक्ताले नियमित खानेपानीको जोहो गर्न सकेका छैनन् । आगामी आर्थिक वर्षमा गोदावरी१० र ११ मा नयाँ योजना सर्भे गर्ने तयारी रहेको डिभिजन प्रमुख काफ्ले बताउँछन् ।
भूमिगत जलस्रोत विज्ञ नवराज श्रेष्ठका अनुसार चुरेफेदीको समथर फाँटमा पानी तल प्रशस्त रहेकोले पानी निकाल्न मिल्छ । चुरेफेदीमा छिद्र धेरै हुँदा वर्षातको पानी रसिएर तल बस्छ त्यही पानीलाई डिप ट्यूबेलमार्फत निकालेर पानीको प्रयोग गर्न सकिने र त्यसका लागि विद्युत आपुर्तिको व्यवस्थापन गर्नुपर्ने श्रेष्ठ बताउँछन् । विद्युत प्राधिकरणसँग मिलेर ठाउँ ठाउँमा ट्रान्स मिटर राखेर विद्युत आपुर्तीलाई निरन्तरता दिँदै डिप ट्यूबेलमार्फत पानी वितरण गर्न सकिने उनको भनाइ छ ।
ओलानीमा १२ महिना सिँचाई उपलब्ध गराउन मछेली खोलामा एसियाली विकास बैंकको सहयोगमा ९ करोड रुपैयामा २०४२ सालमा बाँध निर्माण सम्पन्न भएको थियो । तर निर्माण भएको बाध २०४६ मा बाढीले भत्कायो । २०५८ सालमा ३ करोड रुपैयाको लागतमा पुनः अर्को बाँध बन्यो तर बनेको ३ महिनापछि एकै रातको बाढीले बाँध भत्कियो । यसअघिका दुई वटा बाँध निर्माण, मर्मत, नहर मर्मत आदिका नाममा हालसम्म १३ करोड रुपैया भन्दा बढी रकम खर्च भईसकेको देखिन्छ । दोस्रो पटक भत्केको बाँध मर्मतका लागि युएनडीपीले २२ लाख रुपैया खर्च गरेको थियो तर त्यो मर्मत पनि टिकाउ भएन । बाँध भत्किएपछि स्थानीय उपभोक्ताले स्याउलाले पानी थुनेर नहरमार्फत केही भागमा सिंचाई गर्ने प्रयास गरेका छन् । करोडौं रुपैया खर्च भए पनि आयोजनाबाट लाभान्वित हुने क्षेत्रका किसानका खेत सिंचाई सुविधाको अभावमा सुख्खै छन् ।
स्याउलाले थुनेर नहरमार्फत ल्याइने पानीले लक्षित क्षेत्रको करिब २० प्रतिशत भागमा पनि बाहै्र महिना सिंचाई सुविधा पुग्न सकेको छैन । अझ हिउँदमा त खोलामा पानी कम हुने भएकाले तटिय भेगमा पनि सिंचाई गर्न मुस्किल पर्छ । सिंचाई सुविधा पुगेपछि खेतमा उत्पादन बढ्ला भन्ने स्थानीयको आशा सिंचाईको कमजोर संरचनाले निराशामा बदलिएको छ ।
मोहना सिंचाई प्रणालीअन्तर्गत मछली खोलादेखि पूर्व–पश्चिम राजमार्गसम्म १३ किलोमिटर लामो नहर भए पनि खोलामा पानी बढी हुने वर्षायाममा पनि ५ किलोमिटरसम्म मात्र पानी पुग्ने गरेको छ ।
यसैगरी अहिले गोदावरी मछली खोलामा मोहना सिंचाई आयोजनाको काम निर्माणाधीन अवस्थामा छ । त्यसका लागि पनि लागि बजेटको अभाव देखिएको छ । बजेट अभाव भएपछि आयोजनाको निर्माण कार्य सुस्त छ । बजेट अभावले आयोजनाको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको क्षेत्रीय सिंचाई निर्देशनालय धनगढीका सिनियर डिभिजन इन्जिनियर गणेश मरासिनीले बताए । ‘गत असारमै सम्पन्न भइसक्नु पर्ने सम्झौता हो तर बजेट अभावलगायत कारणले आयोजनाको अवधि लम्बिएको हो ।’ शर्मा–थेगिन–केएस जेभी निर्माण कम्पनीसँग २५ करोड ७६ लाख रुपैयाको लागतमा २०७४ असारसम्म काम सक्ने गरि २०७२ असारमा निर्माण सम्झौता भएको थियो ।
इन्जिनियर मरासिनीले भने, ‘पर्याप्त बजेट नआउँदा आयोजनाको काम प्रभावित भएको छ ।’ गत असारसम्म काम सम्पन्न नभएपछि आयोजनाको निर्माण अवधि एक वर्ष थपिएको छ । समयमै आवश्यक बजेट निकासा हुन नसके यस वर्षपछि आयोजनाको काम प्रभावित हुनसक्ने र यसले निर्माण अवधि लम्बिन सक्ने चिन्ता स्थानीय उपभोक्ताको छ । बजेट अभाव भएकोबारे केन्द्रमा जानकारी गराइएको सिंचाई निर्देशनालयले जनाएको छ । अहिले खोलाको वहाव एकतिर केन्द्रीत गर्न दुवै किनारामा पर्खाल निर्माण कार्य भइरहेको र करिब ३ सय मिटर लामो इन्टेक निर्माण कार्य शुरु हुन लागेको आयोजनाले जनाएको छ ।
३ हजार ३ सय हेक्टरमा सिंचाई गर्ने लक्ष्य आयोजनाले कैलाली र कञ्चनपुरको उर्वर ३ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु¥याउने लक्ष्य लिएको छ । कैलालीका साविकका गोदावरी र मालाखेती गाविसको १ हजार ८ सय र कञ्चनपुरको गुलरिया र कृष्णपुर गाविसको १ हजार ५ सय हेक्टरमा सिंचाई सुविधा पु¥याउने लक्ष्य रहेको इन्जिनियर मरासिनीले बताए ।
आयोजना निर्माणले सिंचाई सुविधा विस्तार भएपछि हिउँदे तथा वर्षे बालीको उत्पादकत्व वृद्धि हुने प्रक्षेपण गरिएको छ । आयोजना सम्पन्न भएपछि उपलब्ध हुने सिंचाई सुविधाका कारण धानको उत्पादकत्व बढेर प्रतिहेक्टर साढे ३ मेट्रिक टन, गहुँको २ मेट्रिक टन, आलु १५ मेट्रिक टन, तेलजन्य उपज ०.८ र दालजन्य उपजको उत्पादकत्व प्रतिहेक्टर ०.९ मेट्रिक टन पुग्ने आयोजनाको स्टीमेटमा उल्लेख गरिएको छ । यसअघि दुई पटक निर्माण सम्पन्न भएका आयोजना असफल भएपछि एकै ठाउँमा तेस्रो पटक आयोजना निर्माण हुन लागेको हो । यो आयोजना पनि दीर्घकालिन रुपमा टिक्न सक्छ भन्ने विश्वास स्थानीयलाई छैन् । वर्षेयाममा चुरे पहाडबाट बगेर आउने ढुंगा, बालुवा र गेग्रान भरिएर बाँध भत्काउने डर स्थानीयवासीको छ ।
त्रिभुवन विश्वबिद्यालय तथा इन्जिनियरिङ्ग भुगर्भबिद डा. सुबोध ढकालका अनुसार अति नै कमजोर र सुक्ष्म माटोका कणहरुबाट बनेका मडस्टोन, बालुवाबाट बनेका स्यान्डस्टोन र बिभिन्न आकारका ग्रेभेलहरुबाट बनेका कोङ्ग्लोमेरेट जस्ता चट्टानहरु चुरे क्षेत्रको भुगर्भको मुख्य संरचना हो ।
अहिले चुरे क्षेत्रमा पनि बिभिन्न बिकास निर्माण र पूर्वधार बिकासका काम भैरहेकाले सडक निर्माण प्रकृयाले चट्टान टुक्रिने, खिइने र भुक्षेय हुने प्रकृया झन् बढेर गएको छ । चुरे क्षेत्रको चट्टानी भिरमा खनिएका सडक मार्गका अनेक ठाउँमा पहिरो र भुक्षेयको समस्या बिकराल छ । बनजङ्गल फँडानी तथा बनजङ्गल माथिको अतिक्रमण र उक्त स्थानहरुमा गरिएका अनियन्त्रित र अबैज्ञानिक बस्तीका कारण पानीका स्रोत सुक्ने गरेको डा. ढकालको भनाइ छ ।
प्राकृतिक, वातावरण, जैविक विविधता चुरेको महत्व भएको बताउँदै डा. ढकाल भन्छन् पानीको स्रोत नै चुरे भएकोले संरक्षण जरुरी छ । चुरे अतिक्रमण गरी नयाँ बस्ती बसाउने चलन, बन फँडानी तथा जथाभाबी खोलाहरुमा अतिक्रमण अनि चट्टानी भिरहरुबाट र खोलाहरुबाट जथाभाबी ढुङगा गिट्टी निकाल्ने चलनले चुरेमाथि प्रहार भइरहेको श्रेष्ठ बताउँछन् । अनियन्त्रीत र अबैज्ञानिक रुपमा यसरि भैरहेको बालुवा गिट्टी दोहनलाई तुरुन्तै रोकी यसलाई बैज्ञानीक ढङगबाट चलाउन सकिएमा चुरे बिनाशलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको धारणा छ ।
चुरे क्षेत्र भाबर र तराइको लागी पानीको महत्वपुर्ण रिचार्ज जोनको रुपमा रहेको छ । चुरेको पहिरो र भुक्षयको कारणले चुरेबाट बग्ने खोलाहरु अनियन्त्रित भएर बग्ने र बाढीको थप समस्या निम्त्याउने सभाबना बढ्दै गएको छ । चुर विज्ञ डा. दिनेश भुजु चुरेको महत्व बताउँदै भन्छन् चुरे नेपालमा खण्डित नभएको पर्वत माला हो । चुरेले नेपालको समथर तराई र पहाडलाई जोडेको छ । चुरे जैविक विविधताको वासस्थान भएको बताउँदै भुजुले भने आदिकालका वनस्पति साइकस, रुख उन्यू, रामाकेतिक लगायत अन्य थुप्रै जन्तुजनावर आदिम मानवप्रजातिका अवशेष चुरेमै पाइन्छन् । चुरेको महत्वबारे अझ जानकारी दिँदै भुजु भन्छन् नेपालका लोपोन्मुख जाती राउटे, चेपाङ पनि चुरेमै आश्रित रहेका छन् ।
भावर क्षेत्रमा ग्रावेल प्रकारको माटो भएकोले पानी छिरेर तल पुग्छ । चुरेको तटिय क्षेत्रमा पानी अड्किने ठाउँ नहुँदा पानी अभाव देखिने ढा. ढकालको भनाइ छ । आकाशे पानी जमिन मुनी छिर्न नपाई भुमिगत जलमा पनि प्रतिकुल प्रभाब पर्दैछ गएको छ । पानीको बचावको लागी पनि पहिरो, भु–क्षय र बनजँगल फँडानिलाई चुरेमा नै रोक्नु जरुरी रहेको छ । भाबरमा हुने पानीको समस्या समाधानको लागी तल्लो तराईमा प्रतिकुल असर नपर्ने गरी भावरमा पानी सिल गरी चुरे तिरका ताल तलातलैयाहरुको सरक्षण गर्न सके पानी संकटबाट बच्न सकिने उनको भनाइ छ ।
चुरेको प्राकृतिक बनोट पानी नअड्किने हो । पानी नअड्किनु चुरेको दोष होइन प्राकृतिक कारण भएको डा. भुजुको भनाइ छ । उनी भन्छन् चुरेलाई प्राकृतिक अवस्थामा छाडिदिने, मानवबस्ती नराख्ने हो भने चुरे संरक्षण गर्नुपर्दैन आफै संरक्षण भइहाल्छ । चुरेमा गेग्रान, बलौटे बालुवाबाट बनेकोले पानी थामिदैन, त्यही पानी चुहिएर भूमिभित्र जान्छ, त्यही पानी तराईलाई उपलब्ध हुने भुजुले बताए । चुरे नभए तराईलाई खानेपानी उपलब्ध नहुने भएकोले त्यसको संरक्षण गर्नुको विकल्प नभएको उनी बताउँछन् ।