Thursday, October 31, 2024

सञ्चालनको ६ दिनमै बन्द भयो कलंकीको अण्डरपास

काठमाडौँ–सञ्चालनमा आएको सातादिन नहुँदै कलंकी अण्डरपास वे (भूमिगत बाटो) बन्द भएको छ। चक्रपथ सुधार आयोजनाले निर्माण कार्य सम्पन्न गर्न भन्दै बुधबारदेखि अण्डरपास पुनः बन्द गरेको हो।

बुधबार बिहानबाट अण्डरपास बन्द भएपछि कलंकीमा पुनः ट्राफिक जामकाे समस्या दाेहाेरिएकाे छ। केही दिनलाई सहज भएको ट्राफिक व्यवस्थापन फेरि पनि अप्ठ्यारोमा परेको ट्राफिक प्रहरी निरीक्षक बिमल थापाले बताए।

अण्डरपास निर्माण पूर्ण रुपमा सम्पन्न नभएकाले पुनः बन्द गर्न आयोजनाको निर्देशन आएको निरीक्षक थापा बताउँछन्। ‘सबै काम सकिएको छैन, त्यसैले एक साताका लागि बन्द गर्न निर्देशन आएको छ,’ उनले भने, ‘नाला, बिजुली जडान, बार लगाउने आदि काम गर्न बाँकी छ रे त्यो सबै सम्पन्न गर्न अण्डरपास बन्द गरिएको हो।’

आशिंक रुपमा सञ्चालनमा आएको अण्डरपास बन्द भएसँगै फेरि पनि पहिलाको जस्तै जामको समस्या भोग्नु परेको सर्वसाधारण तथा सवारी चालकको भनाई छ। अण्डरपास बन्द भएपछि फेरि पनि एक डेढ घण्टा जाममा बस्नु पर्ने बाध्यता बढेको कलंकी रुटमा जम्बो हाइस चलाउँदै आएका दिनेश सापकोटा बताउँछन्। तर, अण्डरपास बन्द भए पनि दुई लेन खुलाइ दिने हो भने अलि सहज हुने उनको भनाइ छ।

अण्डरपासबाट झण्डै आधा जति गाडी सहज रुपमा आवतजावत गरिरहेकोमा फेरि पहिलाकै रुटमा आउँदा जाम बढेको प्रहरी निरीक्षक थापा बताउँछन्।

अण्डरपास निर्माण कार्य सम्पन्न नहुँदै सञ्चालनमा ल्याइएपछि अत्याधिक धूलो उड्ने समस्या भयो भन्ने गुनासो आएकोले त्यसलाई समाधान गर्न र बाँकी निर्माण कार्य सम्पन्न गर्नका लागि केही दिनका लागि बन्द गरिएको सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठ बताउँछन्।

‘कंलकीको जामलाई मध्येनजर गरेर हामीले निर्माण कार्य पूर्ण रुपमा सम्पन्न नहुँदै अण्डरपास सञ्चालनमा ल्याएका थियौँ, तर अहिले धूलोले निकै नै सास्ती भयो भन्ने गुनासो धेरै नै आयो त्यसैले त्यसलाई समाधान गर्न र अन्य कार्यहरू पनि सम्पन्न गर्न बन्द गरेका हौँ,’ उनले भने, ‘अबको केही दिनमै पुनः सञ्चालनमा आउँछ त्यस्तो ठूलो समस्या भएर बन्द गरेका भने होइनौँ।’

ताजा समाचार

सम्बन्धित समाचार