Tuesday, October 1, 2024

कान्ति लोकपथको चापागाउँ र खुमलटार क्षेत्रको सडक कहिले बन्छ ?

काठमाडाैं–कान्ति लोकपथ अन्तर्गत टीकाभैरबदेखि चापागाउँ हुँदै सातदोबाटोसम्मको सडक समस्या नै समस्याले झेलिएको छ।

ललितपुरको सातदोबाटोदेखि मकवानपुरको बुद्धचोकसम्मको लम्बाई ९० किलोमिटर छ । जसमा बुद्धचोकदेखि ललितपुरको गोदावरी नगरपालिकामा पर्ने टीकाभैरबसम्म कान्ति लोकपथ सडक योजनाले र त्यसपछि टीकाभैरबदेखि सातदोबाटोसम्मको ११ किलोमिटर डिभिजन सडक कार्यालयले गर्ने जिम्मा पाएको हो।

गोदावरी नगरपालिका र ललितपुर महानगरपालिका अन्तर्गत पर्ने करीब साढे ८ किलोमिटर सडकका अधिकांश सडकमा समस्यै समस्या छन्। सडक कतै साघुँरो छ, भने कतै खाल्डैखाल्डा । त्यसैगरी कतिपय स्थानमा सडक किनाराका दुबैतर्फका पानी बग्ने ढले बिग्रिदा सडकबाट पानी बग्ने गरेको छ।

सातदोबाटोको चापागाउँ दोबाटोदेखि ढोलाहिटीसम्मको खुमलटार क्षेत्रको सडकमा र चापागाँउको प्याङगाउँदेखि टाहाखेलसम्मको सडकमा बग्रेल्ती समस्या छ ।

लेलेकी रञ्जु थापा कार्यालय जाँदा टाहाखेलदेखि सातदोबाटोसम्मको बाटोका कारण दिनहुँ समस्या भोगेको दुखेसो गर्छिन्। ‘स्कटीमा जाँदा खाल्डाखुल्डीका कारण लडिने पो होकी भन्ने पीर लाग्छ,’ उनले भनिन्। राजीव सञ्जेल सडक हिलाम्य हुँदा चिप्लिएर लडिन्छ कि भन्ने पीर हुने गरेको बताउँछन्। ‘पाइन्ट भरी हिलो लाग्छ, त्यही भएर हाफ पाइन्टमै हिँड्ने गर्छु,’ उनले भने।

सडकको प्रत्यक्ष मार बटुवा मात्र होइन पसल सञ्चालकहरुले पनि भोग्नु परेको छ।  सडकमा खाल्डाखुल्डी भएपछि गोदावरी नगरपालिकाको मेयरमा चुनाव लडेका दीलिप न्यौपाने सामाजिक सञ्जालमार्फत् आक्रोश पोखेका छन्।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनलेसडकका खाल्डाखुल्डी पुर्न टाहाखेलदेखी प्याङगाउँ र चापागाँउसम्म ६ लाखको ग्राभेल हालिएको बताए । बर्खायाम सकिने बित्तिकै यहाँको सडक कालोपत्रे हुने उनले दाबी गरे।
सडक विभागका डिभिजन इन्जिनियर प्रकाश भण्डारीले सडकको दुर्दशाबारे आफू जानकार रहेको र बर्खायाम सकिनासाथ काम थाल्ने बताए।

वडा नम्बर ११ का वडा अध्यक्ष निलबहादुर देशार र वडा नम्बर १० का अध्यक्ष दर्शन विष्टले सडकको समस्या सामाधान गर्ने बताइरहेका छन्।

सातदोबाटो चापागाउँ दोबाटोदेखि ढोलाहिटीसम्मको सडक पनि बिग्रिएको छ। ठेकेदारको लापरबाहीले सातदोबाटोदेखि ढोलाहिटीसम्मको सडक निर्माण साढे ४ वर्षसम्म पूरा हुन सकेको छैन। ठेकेदारले पटक–पटक प्रतिबद्धता जनाए पनि ९ सय ६० मिटर सडक निर्माण पुरै सम्पन्न हुन सकेको छैन, बरु अनिश्चित बनेको छ ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु मर्हजन पनि सडक विभागलाई सडक बनाएर सहज ढंगले सर्बसाधारणले बाटोको प्रयोग गर्न पाउन् भन्ने आशा ब्यक्त गरे। सो सडक समयमै कालोपत्रे हुनुपर्ने र २२ मिटर चौडा हुनुपर्ने भएपनि अहिले न कालोपत्रे भएको छ न त २२ मिटर चौडा नै बनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार