Monday, September 30, 2024

शिक्षा क्षेत्रमा विपद् जोखिम व्यवस्थापनसम्बन्धी तालिम

काठमाडौं– स्थानीय तहका जनप्रतिनिधि र विपद् जोखिम व्यवस्थापनका सम्पर्क व्यक्तिसहित ६ वटा जिल्लाका शिक्षासँग सम्बन्धित प्रतिनिधिलाई विपद् जोखिम व्यवस्थापन र आकस्मिक योजनामा क्षमता विकाससम्वन्धि तालिम प्रदान गरिएको छ।

मकवानपुरको हेटौडामा सम्पन्न तालिममा सुनसरी, सिन्धुली, रौतहट, मकवानपुर, बर्दिया र जुम्लाका स्थानीय जनप्रतिनिधिसहित ४९ जनालाई सरकारी निकाय र विद्यालयले गर्नुपर्ने पूर्वतयारी र सबै खालका विपद्का बेलामा अपनाउनुपर्ने सावधानी लगायत बिषयमा जानकारी दिइएको हो ।

तालिममा विपद् जोखिम व्यवस्थापन, जोखिम न्यूनीकरण, नगरपालिका र गाउँपालिका तहमा शैक्षिक क्षेत्रको आकस्मिक योजनाजस्ता बिषयमा प्रशिक्षित गरिएको थियो।

प्लान इन्टरनेशनल नेपालको आयोजनामा भएको तालिममा प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सले तालिमबाट प्राप्त हुने सिकाइको कार्यान्वयनको महत्वबारे चर्चा गरे।

तालिममा सहभागी सिन्धुलीको मरिन गाउँपालिकाका वडाध्यक्ष चन्द्रनाथ गौतमले जनप्रतिनिधिका लागि यस प्रकारका तालिम उपयोगी भएकाले स्थानीय तहमा शैक्षिक क्षेत्रका योजनाका लागि कार्यान्वयन गर्न सकिने बताए।

तीन दिनको तालिममा साना, मझौला र ठूला विपद्का बेलामा बालबालिकाको शैक्षिक आवश्यकता सम्वोधनबारे समेत सहभागीलाई प्रशिक्षित गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार