Thursday, October 31, 2024

नारायणगढ–मुग्लिन सडकखण्ड – सत्र किलोमा सडक भासिने क्रम जारी

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो ठाउँमा नौ मिटर सडक चौडा छ । जसमध्ये पाँच मिटर भाग भासिएको छ । चार मिटरबाट एकतर्फीरुपमा सवारी चलेका छन् । चालीस मिटर लामो भागमा सडक भासिएको हो ।

सो ठाउँमा विसं २०६० मा सडक भासिएपछि ‘रक स्वायल एङ्करिङ’ गरिएको थियो । सडक छेउबाट त्रिशूली नदी बगेको छ । विज्ञले भासिएको ठाउँको निरीक्षण गरी वर्षात्को समयमा नचलाउन सुझाव दिएका छन् । उनीहरुले वर्षात्मा चलाउँदा बाटो पूरै बन्द हुनसक्ने भन्दै हिउँद लागेपछि के गर्ने टुङ्गोमा पुग्नुपर्ने बताएका छन् । खनालका अनुसार सडक बढी भासिएमा तत्काल भित्तो काट्ने विकल्प राखिएको छ । दैनिक सडक भासिने क्रम बढ्दै गएको खनालले जानकारी दिए।

डिभिजन सडक कार्यालय भरतपुरका तत्कालीन इञ्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर ‘रक स्वायल एङ्करिङ’ गरिएको बताए। भित्तोमा घुसाएर १०–१५ मिटर फलामे डण्डी घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई ‘रक स्वायल एङ्करिङ’ भनिन्छ । सोही ठाउँको ‘रक एङ्करिङ’ले काम गर्न छोडेर वा नदीले खोलेर धसिएको हुनसक्ने अनुमान गरिएको छ।

हाल सो सडक विस्तारको अन्तिम चरणमा पुगेको छ । सडक भासिएको ठाउँ नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सोही सडक हुँदै दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्दछन् ।रासस

ताजा समाचार

सम्बन्धित समाचार