Monday, September 30, 2024

वन्यजन्तुको दाह्रा र नङ्ग्रासहित पाँच जना पक्राउ

काठमाडौं–केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले संरक्षित वन्यजन्तुको ३६ थान दाह्रा तथा ६ थान नङ्ग्रासहित पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले मंगलबार काठमाडौं–३२ गैह्रीगाँउ तिनकुनेबाट अवैध रुपमा संरक्षित वन्यजन्तुको दाह्रा र नङ्ग्रा (आखेटोपहार) खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ओखलढुङ्गा लिखु गाँउपालिका–९ का २३ वर्षीय महेश राई, २३ वर्षीय मिलन सुबेदी, १९ वर्षीय बिज्ञान भन्ने प्रतिरोध सुबेदी, सोलुखुम्बु दुधकुण्ड नगरपालिका–९ का २३ वर्षीय पूर्णबहादुर तामाङ र मोरङ कानेपोखरी गाँउपालिका–२ का ३९ वर्षीय श्रवण चौधरी रहेकाे प्रहरीले बताएको छ । पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

उनीहरूमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध अन्तर्गत अनुसन्धान हुने प्रहरीले जनाएको छ।।

ताजा समाचार

सम्बन्धित समाचार