Monday, September 30, 2024

अनि बग्छ सडकमै ढल

काठमाडौं–ठूलो पानी परे सडक नै जलमग्न हुन्छ, सडकमै ढल बग्न थाल्छ। पानी रोकिए पनि सास्ती उस्तै, सडक हिलाम्मे बन्छ।

ललितपुरको पाटन क्षेत्रमा ढल निकास नहुँदा जलमग्न बनेको सडक।

हिउँदभर धुलोको सास्ती खेपेका ललितपुरको पाटनबासी बर्खायाममा हिलाम्य सडकमा हिँड्डुल गर्न बाध्य हुन्छन्। त्यसमाथि पाटन क्षेत्रका भित्री सडकका खाल्डाखुल्डीमा जमेको पानी र हिलाम्मे सडकमा सवारीसाधनदेखि पैदलयात्रुले दैनिक सास्ती खेप्दै आएका छन्।

‘पानी पर्नै हुँदैन। सडक जलमग्न हुन्छ, ढल पनि बग्न थाल्छ,’ ललितपुर वडा नम्बर ९ की शान्ति महर्जनले भनिन्, ‘धेरै वर्षदेखि यसरी ढल बग्न थालेको छ। ढलको दुर्गन्ध उस्तै आउँछ।’

वडा नम्बर ११ का कृष्ण महर्जन पनि उस्तै समस्या सुनाउँछन्। ‘अरु बेला त खासै समस्या हुँदैन। तर, पानी बढी परेको दिनमा भने ढल जाम हुन्छ,’ उनले भने ‘पहिलाको परम्परागत ढल हटाएर अहिले ठूलो पाइप विछाएर ढल निकास गरेपनि बेलाबेलामा ढल जाम हुन्छ ।’

ललितपुर महानगरपालिकाले नगरका भित्री सहर क्षेत्रको ढल व्यवस्थापन गर्न नसक्दा स्थानीयबासीले विगत लामो समयदेखि समस्या भोग्दै आएका छन्।

ललितपुर महानगरपालिकाले नगरका भित्री सडकमा देखिएको ढल व्यवस्थापनको काम चाँडो थालनी गर्न बताए पनि अझै दुई वर्ष यो समस्या झेल्नुपर्ने देखिन्छ।

महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत पाटन सम्पदा क्षेत्र र पर्यटकीय भित्री शहरमा ढल व्यवस्थापनको काम सन् २०१९ जनवरीदेखि शुरु गर्न बताएको छ। जसको लागि आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) र ललितपुर महानगरपालिकाबीच ढल व्यवस्थापनका लागि सम्झौता भएको छ।

साउन २१ गते पीआईडीका आयोजना निर्देशक तिरेशप्रसाद खत्री र ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित सम्झौतामा २ दशमलव ८ किलोमिटर ढल पुनःस्थापन तथा व्यवस्थापन गर्ने उल्लेख छ।

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले पाटन दरबार क्षेत्र, कुमारीपाटी र महापालमा वर्षौदेखि ढल जाम हुँदै आएको बताए। उनले वर्षौदेखि विकाराल रुपमा देखिएको ढल जाम हुने समस्या निराकरणका लागि ४८ करोडको लागतमा सन् २०१९ जनवरीमा शुरु भई १८ महिनामा सम्पन्न गर्न लक्ष्य रहेको बताए।

उक्त आयोजनाका लागि महानगरले २० प्रतिशत र आयोजना कार्यान्वयन निर्देशनालय (एसियाली विकास बैंक) ८० प्रतिशत लागत रहेको छ।

‘बर्खायाममा पानी पर्दा ढल घर–घरमै पस्ने। कुनै सवारीसाधन चलाउन नहुने गरी सडकमा ढल बग्ने समस्या देखिएको छ,’ उनले भने, ‘यो समस्या सन् २०२० सम्म समाधान गर्न हामीले लगनखेलदेखि शंङ्खमुलसम्म ढल व्यवस्थापन गर्नछौं।’ ललितपुरका वडा नम्बर ५, ९, ११, १२, १५, १६ र १९ वडामा पर्ने भित्री सहरमा ढल निर्माण हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार