Monday, September 30, 2024

दाङमा वृक्षरोपण गरी पार्क बनाउन थालियो

दाङ– घोराही उपमहानगरपालिका–१ मालझाँक्री सामुदायिक वन उपभोक्ता समूहले खाली रहेको जमीनमा वृक्षरोपण गरी पार्क निर्माण गर्न कामको थालनी गरेको छ।

वन समूहले आफ्नो कोषको पाँच लाख र दुई लाख बराबरको जनश्रमदानबाट पार्क निर्माणका लागि तारबारसहित वृक्षरोपण गरेको छ।

घोराही उपमहानगरपालिका–१ सिमलतारास्थित भूतेरह चौरमा रहेको एक हेक्टर बढी क्षेत्रफलमा तारबारसहित वृक्षरोपण गरेको समूहका अध्यक्ष रुद्रमणि पौडेलले जानकारी दिए। एक हेक्टर वन क्षेत्रमा टिक, मसला, खयर, सिमललगायतका प्रजातिका एक हजार ६ सय बढी बिरुवा रोपिएका छन्।

वृक्षरोपणका लागि चाहिने बिरुवा जिल्ला वन कार्यालय र घोराही उपमहानगरपालिका–१ को कार्यालयले उपलब्ध गराएका छन्। वृक्षरोपणपछि उक्त क्षेत्रलाई चरिचरनबाट रोकी संरक्षण गर्नका लागि तारबार गरिएको छ । १ सय ४७ वटा सिमेन्टका पोल गाडी त्यसमा १३ क्विन्टल काँडे तारबार गरिएको समूहका कार्यालय सचिव नारायण शर्माले जानकारी दिए।

घोराही–हासीपुर सडकखण्डअन्र्तगत घोराहीदेखि करीब १० किलोमिटरको दूरीमा पर्ने उक्त क्षेत्रलाई पर्यटकीय दृष्टिले विकास गर्न सकिने योजनाअनुसार वडा कार्यालयलगायत सरोकारवाला सबैसँग समन्वय गरी पार्क निर्माणको लक्ष्यअनुसार काम थालिएको अध्यक्ष पौडेलले जानकारी दिए।

उनका अनुसार सदरमुकामदेखि नजिकै रहेको उक्त स्थानलाई पार्क निर्माण गरी आन्तरिक पर्यटकको ल्याउने दीर्घकालीन योजनाअनुसार काम थालिएको छ। वन पैदावार बिक्री गरी सङ्कलन गरिएको करीब पाँच लाख वन क्षेत्रकै संरक्षणका लागि वृक्षरोपणमा खर्च गरिएको बताइएको छ। सो समूहको आम्दानीबाट स्थानीय आधारभूत माध्यमिक विद्यालय सञ्चालनमा सहयोग गरिएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार