Monday, September 30, 2024

गोंगबु-सिनामंगल ‘रुट’ मा न्यून प्रदूषणयुक्त १७ वटा बस

काठमाडौं– गोंगबु–सिनामंगल ‘रुट’ मा साना सवारीसाधन विस्थापित गरी न्यून प्रदूषणयुक्त बस सञ्चालनमा ल्याइएको छ।

दिगो शहरी यातायात परियोजनाअन्तर्गत रहने गरी ‘दिगो सार्वजनिक यातायात कम्पनी’ ले उक्त रुटमा १७ वटा बस सो रुटमा सञ्चालनाम ल्याएको हो। ती बस २५‘सिटे’ रहेका छन्।

उक्त रुटमा यसअघि २६ वटा माइक्रोबस र ३५ वटा ट्याम्पो सञ्चालन हुँदै आएकोमा सोमबारदेखि विस्थापित गरी उच्च प्रविधियुक्त बस सेवा शुरु गरिएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौंस्थित एसियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा उक्त बस सेवाको उद्घाटन गरे।

ती बस गोंगबु–गल्कोपाखा–लैनचौर–रत्नपार्क–डिल्लीबजार–मैतीदेवी–पुरानो बानेश्वर र सिनामंगल ९ किलोमिटरको रुटमा चलिरहेका छन्।

दिगो सार्वजनिक यातायातका सचिव लालप्रसाद गुरागाईँले युरोपको मापदण्डमा बनेका उच्च प्रविधियुक्त बसले तुलनात्मक रूपमा कम प्रदूषण गर्ने बताए। उनका अनुसार १७ वटै बसमा जिपिएस जडान गरिएको छ, जसको सहयोगले ट्यार्किङ सिस्टमले बस कहाँ आइपुगेको छ भनेर यात्रुले थाहा पाउन सक्छन्।

विद्युतीय टिकेट मेसिनबाट टिकट प्रिन्ट गरेर यात्रुलाई दिइन्छ। बस फराकिलो हुनुका साथै ह्याङ्गर स्ट्र्याम्प रहेकाले उभिएर सहजै यात्रा गर्न सकिने उनले दाबी गरे।

सार्वजनिक–निजी साझेदारीको मोडालिटी (ढाँचा) मा परीक्षणका रुपमा थालिएको सो परियोजनामा सरकारको ७९ करोड र एसियाली बैंकको एक अर्ब २३ करोड लगानी छ। बस खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत सहुलीयत ऋण दिएको छ, भने एसियाली विकास वैकले १५ प्रतिशत अनुदान उपलब्ध गराएको छ।

बाँकी पाँच प्रतिशत कम्पनीको लगानी छ। उक्त रुटमा माइक्रोबस र ट्याम्पोलाई स्थानान्तरण गरेर ठूला बस सञ्चालन गर्ने योजनामा शुरुमा व्यवसायीहरुले असहमति जनाएका थिए। तर, प्रोत्साहन स्वरुप १५ प्रतिशत अनुदान र ८० प्रतिशत सहुलीयत ऋण पाउने भएपछि व्यवसायीहरू सहमत भएका हुन्।

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाका अन्य रुटमा पनि उक्त परियोजना अन्तर्गत ठूला बस सञ्चालनमा ल्याउने योजना अघि सारेको छ।

ताजा समाचार

सम्बन्धित समाचार