Monday, September 30, 2024

पृथ्वीको सबैभन्दा गर्मी ठाउँ ‘डेथ भ्याली’ मरुभूमि

काठमाडौं– अमेरिकाको क्यालिफोर्नियास्थित ‘डेथ भ्याली’ मरुभूमि पृथ्वीको सबैभन्दा गर्मी हुने ठाउँ बन्न पुगेको छ।

संसारमा हालसम्मको सबैभन्दा बढी तापक्रम मापन भएको महिनाको कीर्तिमान पनि डेथ भ्यालीले बनाउन सम्भावनामा कुनै शंका छैन । डेथ भ्यालीमा जुलाई महिनामा औसत तापक्रम ४२ दशमलव २८ डिग्री सेल्सियस थियो।

यसअघि विश्व कीर्तिमान गरेको तापक्रम र पछिल्लो वर्षको जुलाईभन्दा बढी हो। नेसन वेदर सर्भिसका मौसम विशेषज्ञ टोड लेरिकोसले यो तापक्रमलाई अघिल्लाे वर्षकाेभन्दा बढी भएकाे जनाएका छन्। औपचारिक रुपमा कीर्तिमान कायम हुनु अघि यस तथ्यांकको गहिरो अध्ययन गर्न बाँकी नै रहेको उनले बताएका छन्।

यस मरुभूमिको तापक्रम डेथ भ्याली राष्ट्रिय निकुञ्जभित्र रहेको फर्नेस क्रीक भन्ने ठाउँमा मापन गरिन्छ। तथ्यांक प्रारम्भिक भएको र औपचारिक रुपमा विश्व कीर्तिमान कायम गर्नुअघि एक पटक फेरि समीक्षा गरिनुपर्ने उल्लेख गर्दै लेरिकोसले थपे, ‘यो तथ्यांकले पहिलेको कीर्तिमानलाई पछाडी पार्छ।’

यहाँ अत्याधिक गर्मी भएका कारण यात्रीलाई चार लिटरसम्म पानी पिउन र आफ्नो गाडीमा पनि पिउने पानी राख्न सतर्क गराइन्छ। यात्रीलाई आफ्नो सवारीसाधनको नजिकै रहन, घामका किरणबाट जोगिन र आफू नजिक भएका व्यक्तिको पनि हेरबिचार गर्न तथा अत्याधिक गर्मीमा टाउ दुःख्ने जस्ता रोगबाट जोगिन सल्लाह दिइन्छ।

१० जुलाई १९१३ मा यो क्षेत्रको तापक्रम ५६ दशमलव ६७ डिग्री सेल्सियस मापन भएका कारण संसारकै अत्याधिक तापक्रम रहेको कीर्तिमान कायम भइसकेको थियो।

मौसममा अचानक आएको भिन्नताका कारण इतिहासले पनि यसपालीको जुलाईको तापक्रमलाई पछ्याएको छ। दक्षिण पश्चिम भागमा उच्च चाप प्रणाली नै रहिरहने भएकाले वायुमण्डल र पृथ्वीको सतहबीच आवश्यक मात्रामा वायु सञ्चार हुन पाउँदैन। यसले गर्दा यो क्षेत्रमा उष्ण लहर रहिरहन्छ । ‘वर्षदिन भरीमा यो महिनामा अत्याधिक उष्ण लहर हुने गर्छ,’ लेरिकोसले भने।

यस महिनामा चार दिन लगातार दिउँसोको तापक्रम ५२ दशमलव ७ डिग्री सेल्सियससम्म पुगेको छ, भने बेलुकी अत्यन्त कम तापक्रम मापन भएको छ । एक शताब्दीभित्र मापन गरिएको तथ्यांकभन्दा यो भिन्न छ ।

(क्याच न्यूजमा प्रकाशित सामग्री भावनुवाद गरिएको हो)

ताजा समाचार

सम्बन्धित समाचार