Monday, September 30, 2024

असुरक्षा भन्दै कीर्तिपुरको वायु मापन केन्द्रमा पार्टपूर्जा जडान गरिएन

काठमाडौं–कीर्तिपुरमा रहेको वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा वातावरण विभागले आलटाल गरेको छ।

विभागले नयाँ ब्याट्री र युपिएस जडान गरी सञ्चालनमा ल्याउने भनेपनि सुरक्षाको प्रत्याभूति नरहेको भन्दै काम अगाडि बढाएको छैन।

विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी भन्छन्, ‘यअसघि ब्याट्री र युपिएस चोरी भएको थियो। फेरि राख्ने भनेका थियौं। तर, फेरि चोरिने डरले राख्न सकेका छैनौं। नयाँ ब्याट्री र युपिएस राख्ने वितिक्कै चोरी भएमा के गर्ने भन्दै उनले प्रतिप्रश्न गरे।

गत वर्षको दसैंमा त्रिभुवन विश्व विद्यालय कीर्तिपुरको भौतिकशास्त्र विभाग नजिकै रहेको केन्द्रबाट ४ वटा ब्याट्री चोरी भएका थिए । तर, चोरी भएको ८ महिना वितिसक्दा पनि प्रहरीले फेला पार्न सकेको छैन ।

अब नयाँ हाल्ने ब्याट्रीको सुरक्षाका निम्ती त्रिवीमा कार्यरत सुरक्षा गार्ड कम्पनीलाई एक जनाको दैनिक पारिश्रमिकमा दिने बताए पनि कम्पनीले ३ जनाको पारिश्रमिक मागेको छ। पारिश्रमिकका विषयमा कुरा नमिल्दा विभागले सुरक्षा दिन सकिरहेको छैन।

विभागका महानिर्देशक दवाडीका अनुसार धेरै रकम दिएर सुरक्षामा खटाउन पनि झन्झटिलो हुने देखिन्छ । ‘हामीले १ जनाका लागि पैसा दिने भनेका थियौँ , तर उनीहरुले ३ जनाको माग गरे,’ उनले भने, ‘कसरी ३ जनाको पैसा दिन सकिन्छ र। १ जनाको पैसा दिन त कति प्रकृया पुरा गर्नुपर्छ ।’

उनले त्रिवि र वातावरण विभागबीच समन्वय गरेर मेसीनको सुरक्षाका लागि साझेदारी गर्नुपर्ने बताए। विभागले हराएका ती ब्याट्री मिनाहा गर्न औपचारिक पत्र पठाइसकेपछि नयाँ ब्याट्री राख्ने बाटो खुलेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार