Wednesday, October 30, 2024

पत्रपत्रिकामा आजः होटलले फेवाताल अतिक्रमण गरेको निष्कर्ष, बीचमा रुख वरिपरि कालोपत्रे

काठमाडौँ – आजका पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

कान्तिुपर
–आजको कान्तिपुरमा होटलले फेवाताल अतिक्रमण गरेको निष्कर्ष शिर्षकमा कृष्ण ज्ञवालीको समाचार छापिएको छ । पोखराको एक रिसोर्टले फेवातालको झन्डै डेढ रोपनी जग्गा अतिक्रमण गरेको फेला परेको छ । सर्वोच्च अदालतको आदेशबाट गठन भएको छानबिन समितिको प्रतिवेदनअनुसार पार्क भिलेज वाटर फ्रन्ट प्रालिले झन्डै २२ आना जग्गा अतिक्रमण गरी भौतिक संरचना बनाएको हो । प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठित समितिले सर्वोच्चमा प्रतिवेदन बुझाइसकेको छ ।

‘सरकारी सार्वजनिक जग्गा रहेको कित्तामा पार्क भिलेज वाटर फ्रन्ट प्रालिले संरचना बनाएको देखियो,’ प्रतिवेदनबारे सर्वोच्च स्रोतले भन्यो, ‘फेवातालको ६५ मिटर वरपर कुनै संरचना निर्माण गर्न पाइँदैन, तर रिसोर्टका सञ्चालकले धमाधम संरचना निर्माण गरेका हुन् ।’ सर्वोच्च स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनमा छुट्टाछुट्टै तीन कित्तामा गरी झन्डै २२ आना जग्गा मिचिएको उल्लेख छ । फेवाताल किनारामा रहेको अत्यन्त रमणीय स्थानको जग्गा निकै महँगो मूल्यको हो । यस्ता संरचनाले फेवातालकै प्राकृतिक अस्तित्वसमेत संकटमा पारेको जानकारहरू बताउँछन् ।

प्रतिवेदनअनुसार मिचिएको जग्गा तत्कालिन ग्यारजाती गाविसको १७३, ३०४ र ३०५ नम्बर कित्ताको नाममा लालपुर्जा छ । ग्यारजाती पछि सराङकोट गाविसमा परिणत भयो भने हाल उक्त क्षेत्र पोखरा महानगरपालिका–१९ मा पर्छ । १७३ नम्बर कित्तामा २४२ दशमलव ४९ वर्ग मिटर क्षेत्रफल रहेकामा रिसोर्टले १२२ दशमलव ८६ मिटर अतिक्रमण गरेर भौतिक संरचना बनाएको छ । कित्ता नम्बर ३०४ को १२६५ दशमलव १२ वर्गमिटर जग्गामध्ये ३८१ दशमलव ५६ वर्गमिटर मिचिएको छ । कित्ता नम्बर ३०५ को ३३३ दशमलब ५१ वर्गमिटर जग्गामध्ये ४८ दशमलव ८८ वर्गमिटर जग्गा रिसोर्टले मिचेको छ । यसरी ५५३ दशमलव ३ वर्गमिटर जग्गा अतिक्रमणमा परेको छ ।
रिसोर्टले सरकारी जग्गाका साथै सार्वजनिक बाटोसमेत बन्द गरेर प्रयोग गरेको छ । ‘रिसोर्टले ५९ दशमलव ७४ वर्गमिटर जग्गा भूमिगत सडकका रूपमा विकास गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यी तीनवटै कित्ता सार्वजनिक जग्गा हो ।’ सार्वजनिक बाटोलाई पर्खाल लगाएर बन्द गरेको रिसोर्टले भित्रपट्टि आउजाउका लागि भूमिगत बाटो बनाएको छ । रिसोर्ट सञ्चालकले उक्त बाटो गाविसबाट लिजमा लिएर भोगचलन गरिरहेको प्रतिक्रिया दिएका थिए । कुल १७ रोपनी १० आना २ दाममा रिसोर्टको कम्पाउन्ड छ । त्यही बाहिरको पामे जाने सडकसमेत फेवातालको ६५ मिटर क्षेत्रभित्र पर्ने समाचारमा उल्लेख छ।

नागरिक
–आजको नागरिकमा सडकमा ज्यानमारा धराप : बीचमा रुख, वरिपरि कालोपत्रे शिर्षकमा दिलबहादुर छत्याल र पुष्पराज जोशीको समाचार छापिएको छ। कालोपत्रे सडक भन्नेबित्तिकै जो कोहीलाई पनि सफा, सीधा र अवरोधबिनाको सडक भन्ने लाग्छ। तर धनगढीको देवहरियादेखि बेहडाबाबा जोड्ने कालोपत्रे सडकमा भने बीचबीचमा रुखैरुख छन्। जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन्।

तत्कालीन संविधानसभाका सदस्य पुष्करनाथ ओझाको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत २०७१र७२ मा धनगढीको देवहरियाबाट धार्मिक पर्यटकीय स्थल बेहडाबाबा जोड्ने सडकको ठेक्का सम्झौता भएको थियो। साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न तीन करोड ५० लाख रुपैयाँमा राजेन्द्र रुद्रावती जेभीले ठेक्का लिएको थियो। सडक ठेक्का प्रक्रियामा गइसकेपछि साइड हेरेर रुख हटाउन भनिए पनि वन कार्यालयले वन ऐनअनुसार रुख हटाउन नदिएको सडक डिभिजन कार्यालय धनगढीका साइड इन्जिनियर महेन्द्र पन्तले बताए। ‘सांसदले नै सडक बनाउनुस्, बिस्तारै रुख हटाउन प्रक्रिया थाल्छु भन्नुभयो,’ उनले भने, ‘सांसदले रुख हटाउने आश्वासन दिएपछि हामीले पनि सडक कालोपत्रे गर्न प्रक्रिया थालेका हौं।’ सडक कालोपत्रे भइसक्दा पनि रुख हटाउन कतैबाट अनुमति नपाएको उनले बताए। कालोपत्रे सडकका बीचमा रहेका ३१ वटा रुख यात्रुका लागि धराप बनेको उनले स्वीकारे।

जंगल क्षेत्रमा हतारोमा कालोपत्रे गरिँदा देवहरिया–बेहडाबाबा सडक खण्डमा ३१ वटा रुख धराप बन्न पुगेका छन् । स्थानीय बासिन्दा कालोपत्रे सडकमा रहेका रुखले ज्यानै लिएको घटना सुनाउँछन्। ‘सडकमै रहेको रुखले मेरो भाइको ज्यान लियो,’ धनगढी–१७ पथरीका भिखराम चौधरी भन्छन्, ‘अहिलेसम्म तीनजनाको ज्यान गइसक्यो, कयौं अंगभंग भएका छन्।’ कालोपत्रे सडकभरि रुखैरुख हुँदा मोटरसाइकलको गति थोरैमात्र बढाउँदा पनि ठोक्किने समस्या भएको उनी बताउँछन्। ‘मोटरसाइकलको गति थोरैमात्र बढाउँदा पनि आँखैअगाडि रुख आइहाल्छ,’ उनले भने, ‘यो सडकमा यात्रा गर्दा कतिखेर रुखमा ठोक्किन्छु भन्ने लागिरहन्छ ।’ गाउँबाट धनगढी बजार आउन अर्को सडक नरहेको बताउँदै उनले भने,‘यो सडक हाम्रा लागि धराप बनेको छ तर के गर्नु, विकल्प छैन।’

स्थानीय बासिन्दा बीचमा रहेका रुख नहटाई जोखिम हुनेगरी सडक कालोपत्रे गर्नु गलत भएको बताउँछन्। ‘रुख हटाएर मात्र कालोपत्रे भएको भए विकास हुन्थ्यो, यो विकासले विनाश गरिरहेको छ,’ सवारीसाधन ठोक्किएर दाग लागेका रुख देखाउँदै चौधरीले भने, ‘दाग नलागेको कुनै रुख नै छैन । यहाँ कति दुर्घटनाको जोखिम रहेछ, आफैं बुझ्नुहोस्।’

सडकमा रहेका रुखले गर्दा दिनहुँ दुर्घटना हुने गरेको धनगढी–७ देवहरियाका रामदिन चौधरीले बताए। उनले भने, ‘कालोपत्रे गरिएको सडकमा रहेका रुखमा ठूला मालवाहक सवारीसाधन ठोक्किने गर्छन्।’ साइड इन्जिनियर पन्तले सो सडक खण्डमा दुर्घटना नहोस् भनेर रुखमा पेन्टिङ गर्ने योजना रहेको बताएको समाचारमा उल्लेख छ।

त्यस्तै सिक्टा सिँचाइमा अनियमितता : हतारमा मूल नहर मर्मत शिर्षकमा रुद्र खड्का र अर्जुन ओलीको समाचार छापिएको छ । सिक्टा सिँचाइ आयोजनाले प्रमाण नष्ट गर्न भत्केको मूल नहर हतारहतारमा मर्मत गरेको छ । बाँके राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित चंगाई नालानजिक साउन ७ गते भत्केको मूल नहर आयोजना कार्यालयले छानबिन टोली अनुगमनमा पुग्नुअघि नै मर्मत गरेको हो। छानबिन टोलीलाई प्रभावित पार्न र सर्वसाधारणको मुख बन्द गर्न परीक्षणका क्रममा भत्किएको १० मिटर नहर हतारहतार मर्मत गरिएको आयोजना कार्यालय स्रोतले बतायो। स्रोतका अनुसार आयोजना प्रमुख रमेश बस्नेतले हतारमा नहर मर्मत गराएका हुन्।

परीक्षणका क्रममा मूल नहर भत्किएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका छन्। मर्मतमा लागेको खर्चबारे पनि आयोजना प्रमुखले कुनै जानकारी नदिएको स्रोतको भनाइ छ। दुई वर्षअघि पनि परीक्षणका क्रममा भत्किएको मूल नहरको मर्मत ठेकेदार कम्पनी सिटिसिई कालिका कन्स्ट्रक्सनले गरेको थियो । यसपटक भने आयोजना कार्यालय आफैंले मर्मत गरेको हो।

आयोजना प्रमुख बस्नेतले हतारमा मर्मत गरेर सर्वसाधारणको मुख थुन्ने प्रयास गरे पनि त्यो सम्भव नहुने स्थानीय बताउँछन् । चंगाई नालास्थित मूल नहर पर्ने राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष महावीर ओलीले हतारमा नहर मर्मत गरेर आयोजनाले जनतालाई झुक्याउन खोजे पनि त्यो सम्भव नहुने बताए। सोही गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्रीले आयोजना कार्यालयले परीक्षणका क्रममा भत्किएको मूल नहर हतारमा मर्मत गरे पनि २४ किलोमिटरभन्दा बढी भाग जीर्ण भएकाले मर्मतको कुनै अर्थ नभएको बताइन्।

मूल नहर बनाएको ठेकेदार कम्पनी कालिकाले भने मर्मत र सुधार गर्ने म्याद गुज्रिएको भन्दै मूल नहर मर्मत र सुधार नगर्ने दाबी गर्दै आएको छ। कालिकाले मर्मत र सुधार गर्ने म्याद सकिएको भन्दै आए पनि किसानको खेतमा पानी पुग्न सकेको छैन। ५० क्युमेक्स पानी चढाउने योजना रहेको मूल नहरमा ४/५ क्युमेक्स पानी चढाउँदा पटकपटक भत्कने गरेको छ।

उक्त आयोजना सम्पन्न नहुँदै मूल नहरको सयभन्दा बढी ठाउँमा क्षति पुगेको छ। एकदुई घन्टासम्म नहरमा पानी चढाउने हो भने मूल नहर पूरै भत्कने स्थानीय बताउँछन्। राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष खुमबहादुर बस्नेत निर्माणका बेला ठेकेदारले गुणस्तरहीन काम गरेकाले मूल नहर समस्यामा परेको बताउँछन् । उनले मूल नहरमा ४/५ क्युमेक्स पानीलाई एकदुई घन्टा चढाउने हो भने मूल नहर आसपासका गाउँ बग्ने खतरामा रहेको बताएकाे समाचारमा उल्लेख छ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा घातक बन्दै प्राकृतिक विपत्ति : चार महिनामा ५२९ को ज्यान गयो शिर्षकमा टेकराज थामीको समाचार छापिएको छ । पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् । २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।

गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ । भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको त ज्यान नै गयो ।

सात वर्षमा प्राकृतिक विपद्मा बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ । बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेला धेरै छन् । यस अवधिमा मुलुकभर १ सय ९७ सर्वसाधारण बेपत्ता हुन पुगेका थिए ।

प्राकृतिक विपद्मा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ । गृहको तथ्यांकअनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ । गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाखबराबरको क्षति भएको थियो । यो विपद्मा ३३० ले ज्यान गुमाए ।

धनजनको क्षति हुने अर्को कारण अत्यधिक वर्षा र हुरी पनि हो । जसकारण गत वर्ष मात्रै १७ जनाको ज्यान गयो भने ३ करोड ७२ लाख ७७ हजारको क्षति भयो । त्यस्तै, चिसोका कारण गत वर्ष १०५ जनाको ज्यान गयो भने ५३ लाख १५ हजार रुपैयाँ मूल्यबराबरको धनमालको क्षति भएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार