काठमाडौँ – भारी वर्षासँगै देशका प्रमुख नदीहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्तीलगायतका नदीहरूमा जलसतह सतर्कता तह नजिक पुगेको छ।
विशेषगरी प्रदेश १ र २ को चुरे क्षेत्रबाट बहने लालकबैया, रातु, खाँडो, गागन, सुनसरी, बुढी, बिरिङ, मेची लगायतमा उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जारी गरेको बाढी बुलेटिमा जनाइएको छ।
त्यस्तै नारायणी तथा कर्णाली नदीमा भने बहाब सोमबार राती सतर्कतातह नजिक पुग्नसक्ने संभावना न्यून रहेको छ।
मंगलबार बेलुकी सम्ममा कोशी नदीको बहाब सतर्कता तहभन्दा माथि रहने पूर्वानुमान गरिएको छ। देशैभर तराई र चुरे क्षेत्रका खोलानालाहरूमा बाढी र होचा स्थानमा डुबानको पूर्वानुमान समेत गरिएको छ।
सोमबार, मंगलबार र बुधबार तीनै दिन देशैभर बदलीसहित हल्का मध्यम वा भारी वर्षाको संभावना रहेकोले नदी जलाधारमा गरिएको बाढी पूर्वानुमान अनुसार ठूला नदीहरू मध्ये कोसीमा सोमबार बाट मंगलबारसम्मै बहाब बढ्दो क्रममा रहने र सतर्कता तह पार गर्ने भएकोल नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउनु सबैलाई अनुरोध गरिएको छ।
त्यसका साथै देशैभर तीन दिन झरि पर्ने देखिएकाले पहाडी पहिरोग्रस्त क्षेत्र आसपास सतर्क रहनुका साथै उक्त क्षेत्रका भ्रमणहरू रद्द गर्न समेत विभागले आग्रह गरेको छ।