Wednesday, October 30, 2024

पत्रपत्रिकामा आज : आयोजना प्रमुख नै गैरजिम्मेवार, सडक स्तरोन्नति नहुँदा स्थानीयलाई समस्या

काठमाडाैँ –आजका पत्रपत्रिकामा वातावरणीय तथा विकास निर्माणका मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

नागरिक
–आजको नागरिकमा सिक्टा सिँचाइमा अनियमितता : आयोजना प्रमुख नै गैरजिम्मेवार शिर्षकमा रुद्र खड्का र अर्जुन ओलीको समाचार छापिएको छ । सिक्टा सिँचाइ आयोजनाका प्रमुख गैरजिम्मेवार हुँदा मूल नहरमा गुणस्तरहीन काम भएको पाइएको छ। ठेकेदार कम्पनीले गरेको काम नियमन गर्ने जिम्मेवारी पाएका आयोजना प्रमुखले अनुगमन नगर्दा मूल नहर क्षतविक्षत भएको स्थानीयको भनाइ छ।

स्थानीयले निर्माण कार्य सुरु हुँदादेखि गुणस्तरहीन काम भएको गुनासो गर्दै आएका थिए। तर कुनै पनि आयोजना प्रमुखले ठेकेदार कम्पनीलाई गुणस्तरहीन कामबारे प्रश्न सोधेको पाइएको छैन। हेडवक्र्सको निर्माणपछि कृष्णराज तिमिल्सिनाले सुरु गरेको नहर विस्तारमा हालसम्म पाँचजनाले आयोजना प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।

करिब ६ सय मिटर मूल नहर विस्तार गरेका तिमिल्सिनापछि सर्वदेव जैसवाल, दिलीप कार्की, सरोज पण्डित, रमेश बस्नेत र महेश्वरनरसिंह केसी आयोजना प्रमुख भए। केसीबाहेक अन्यले एक वर्षभन्दा बढी समय आयोजना प्रमुख भएका थिए । एक वर्षभन्दा बढी जिम्मेवारीमा रहेका सबै आयोजना प्रमुखले एकएक खण्डको ठेक्का सम्झौता गराएका हुन्। जैसवालले मूल नहरको पहिलो खण्ड, कार्कीले दोस्रो र पण्डितले तेस्रो खण्डको ठेक्का सम्झौता गराएका थिए। हालका आयोजना प्रमुख बस्नेतले पूर्वी नहरको ठेक्का सम्झौता गरेका थिए। तेस्रो खण्डको सम्झौता गराएका पण्डितले दोस्रो खण्डको काम गराएका हुन् । नहरको सोही खण्ड सबैभन्दा जोखिममा छ।

‘विस्तृत अध्ययन नगरी हतारमा ठेक्का लगाएका कारण अहिले समस्या आइरहेको हो,’ आयोजनाका एक इन्जिनियरले नागरिकसँग भने, ‘राम्रोसँग अध्ययन गरेर ठेक्का लगाएको भए घुलनशील माटोको समस्या पनि आउँदैनथ्यो। काम पनि राम्रोसँग गराउन सकिन्थ्यो।’

हतारमा टेन्डर आह्वान गर्ने र सबैको ध्यान कसरी पैसा कमाउन सकिन्छ भन्नेमै केन्द्रित हुँदा समस्या बल्झेको स्रोतको भनाइ छ। स्रोतका अनुसार ठेक्का प्रक्रिया पूरा गर्नेबित्तिकै ठेकेदारले मोबिलाइजेसन (पेस्की) रकम प्राप्त गर्छन् र आयोजना प्रमुखले कमिसन लिन्छन्।

वर्षौंदेखि प्राविधिकसहित प्रायः ६० भन्दा बढी कर्मचारी (आयोजनाले आफैं भर्ना गरेकासमेत) कार्यरत रहँदै आएको आयोजनामा ठेकेदारले गरेको कामलाई गुणस्तरीय बनाउन ध्यान दिनुको साटो मिलेमतो गर्दा मूल नहर गुणस्तरहीन हुन पुगेको कचनापुरका तप्त पौडेल बताउँछन्। ‘गुणस्तरीय काम नभएको बारे पटकपटक आवाज उठाउँदै आएका थियौं,’ उनले भने, ‘सर्वसाधारणका त्यस्ता गुनासा कुनै पनि प्रमुखले गम्भीरतापूर्वक लिएनन्।’

विगतदेखि नै आयोजना प्रमु्खले तोकेको जिम्मेवारी पूरा नगर्दा राष्ट्रिय गौरवको सिक्टा सिँचाइको भविष्य अन्योलमा परेको स्थानीयको ठहर छ।

पश्चिमतर्फको करिब ३५ किलोमिटरसम्मको खण्ड राप्तीसोनारी गाउँपालिकामा पर्छ। गाउँपालिका अध्यक्ष लाहुराम थारूले नहर निर्माणमा लापरबाही हुनाको साथै गुणस्तरहीन काम भएकाले पटपकपटक भत्कने गरेको बताए। सोही गाउँपालिकाकी उपाध्यक्ष धनीकुमारी खत्री नहरको २४ किलोमिटरभन्दा बढी खण्ड पानी नचल्दै जीर्ण भइसकेको बताउँछिन्। उनले पनि मूल नहरको निर्माण कार्य सुरु हुँदादेखि नै गुणस्तरहीन कामबारे गुनासो गर्दा ठेकेदार कम्पनी र आयोजनाका कर्मचारीले बेवास्ता गरेको गुनासो गरिन्।

६ वर्षमा (सन् २००९– २०१५ सम्म) पहिलो, दोस्रो र तेस्रो चरणमा गरी सिक्टाको मूल नहर बनाइएको हो। मूल नहरको अधिकांश काम (४२ किलोमिटर) सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो। निर्माण थालेको केही वर्षमै सुरु भएको भत्कने क्रम अझै जारी रहेको कालिकाबाटै पेटी ठेक्का लिएका एक ठेकेदारले बताएको समाचारमा उल्लेख छ।

त्यस्तै सडक सम्पर्कबाट जोमसोम विच्छेद शिर्षकमा सन्तोष पोखरेल र सुशीलबाबु थकालीको समाचार छापिएको छ । न्यून वर्षा हुने हिमालपारिको जिल्ला मुस्ताङमा अहिले दिनहुँजसो वर्षा भइरहेको छ। निरन्तरको वर्षाले हिमाली जिल्लमा बाढीपहिरो निम्त्याएको छ। वर्षासँग बढेको कालिगण्डकी नदीको बहावले किनारका बस्तीमा क्षति पुर्याउनुका साथै पुलपुलेसा बगाएको छ। वर्षाले मुस्ताङ पुग्ने सडकसमेत बगाएको छ।

कालिगण्डकी नदीले शनिबार राति सडक कटान गर्दा मुस्ताङको सदरमुकाम जोमसोम सडक सम्पर्कबाट अलग भएको छ। जिल्लाका तीनवटा गाउँपालिकाअन्तर्गत पर्ने जमिन र सडक कालिगण्डकीले कटान गरेको छ। एक्कासी बहुलाएर आएको कालीगण्डकीले ठाउँठाउँमा बाँध भत्काएर खेतीयोग्य जमिन समेत बगाएको छ।

मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ गाउँपालिकाअन्तर्गतको जमिन नदीले कटान गरेको वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङले बताए। उनका अनुसार वर्षाका कारण नदीले कृषि, सडक र बस्तीमा क्षति पुर्याएको छ । ‘निरन्तरको वर्षाले साह्रै नै दुःख दियो,’ उनले भने, ‘हिमाली क्षेत्रमा योपटक अधिक वर्षा भएको छ।’

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र शर्माले शनिबार राति कालिगण्डकीमा आएको बाढीले मुस्ताङ जोड््ने मोटरबाटो बगेको बताए। सदरमुकाम जोमसोम नजिकै स्याङ भन्ने ठाउँमा झन्डै १ सय ५० मिटर सडक बाढीले बगाएपछि सवारी आवागमन रोकिएको जनकारी उनले दिए। ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको उनले बताए। शनिबार बेलुका करिब ६ बजेतिर ढुम्बा खोला बढेर आएपछि कालीगण्डकी नदीको बहाव थुनिएको थियो। त्यसपछि कटान सुरु भएको थियो। झन्डै सातादेखि दिनहुँजसो मुस्ताङमा वर्षा भइरहेको उनले बताएको समाचारमा उल्लेख छ।

कान्तिपुर
–आजको कान्तिपुरमा एयरपोर्टले उठिबास लगाउने डर शिर्षकमा भीम घिमिरेको समाचार छापिएको छ । घर बनिसकेर बस्नुअघिको अन्तिम तयारीको काम थाल्न आएका मजदुरलाई शुक्रबार मझेरीपाटनका ताराप्रसाद अधिकारी काम गराउनु कि नगराउनु भन्ने दोधारमा थिए । ‘नेपाली सेनाको जागिरबाट जोडेको एउटा घडेरीको टुक्रा र यही घर हो,’ उनले भने, ‘त्यो पनि अब अधिग्रहणमा पर्छ भनेपछि केही सोच्नै सकेको छैन ।’

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले थप जग्गा अधिग्रहणका लागि सर्वे गर्ने भएपछि अधिकारीजस्ता नयाँ घर बनाएर सर्ने तयारीमा रहेका दुई दर्जनले टाउकामा हात लगाइरहेका छन् । हाल निर्माणाधीन विमानस्थलको साँधको चार सय मिटर उत्तरपूर्वसम्म अधिग्रहण गर्न नापी गरिने भन्दै विमानस्थल निर्माण आयोजनाले पोखरा–१४ को वडा समितिलाई गत सोमबार पत्र पठाएको थियो । वडा समितिले स्थानीयलाई जानकारी गराएपछि चिन्ता बढेको हो ।

विमानस्थल निर्माणका लागि यसअघि तीनपटक गरी ३ हजार ६ सय ८७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ । चार दशकअघि १४, १५ र १८ नम्बर वडाको ३ हजार १ सय ६ रोपनी अधिग्रहण गरिएको थियो । घरघडेरी र खेतीपाती गर्दै आएको जग्गा अधिग्रहणमा परेर अलि पर सरेर बसेकाहरू पुनस् विमानस्थलले अधिग्रहणका लागि नापी गर्ने सूचनाले आक्रोशित छन् । ‘पहिले पनि मुआब्जामा पहुँच भएकालाई धेरै, नहुनेलाई थोरै दिने भनेर मनमानी भएको हो,’ ६६ वर्षीय हर्कबहादुर थापा भन्छन्, ‘अब फेरि अधिग्रहण गरेर थातबास उठाउँछु भन्नु राज्य आतंक हो ।’ सँधियारले खेतीपाती नै नहुने जमिनको रोपनीको २९ लाख र कुलो भएको, खेती हुने आफ्नो जमिनको २० लाख दिइने भनिएपछि नलिई बसेका थापाले अझै विमानस्थलले तारबार गरिसकेको जग्गाभित्र खेती गर्दै आएका समाचारमा उल्लेख छ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा सगरमाथाको उचाइ नाप्न न्युजिल्यान्डको चासो शिर्षकमा प्रशान्त वलीको समाचार छापिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनमा न्युजिल्यान्डले चासो देखाएको छ। भारतको नयाँदिल्लीमा रहेको न्युजिल्यान्ड दूतावासद्वारा हालै जारी विज्ञप्तिमार्फत यस्तो चासो देखाएको हो। उक्त विज्ञप्तिमा डा. क्रिस पियर्सनको सहयोगमा सगरमाथाको उचाइ नाप्न नेपाललाई सहयोग गर्ने जनाइएको छ। यसका लागि पहिलो चरणको योजना तयार गर्न तथ्याङ्क संकलनको काम भइरहेको बताइएको छ।

न्युजिल्यान्डको परराष्ट्र तथा व्यापार मन्त्रालयले नेपाल सरकारअन्तर्गतको नापी विभागसँग चार सातासम्म मिलेर काम गरिरहेका न्युजिल्यान्डकै नागरिक भू–गणितज्ञ डा। पियर्सनलाई सहयोग गरिरहेको हो। पियर्सन २९ दिनदेखि नेपालमै रहेको बताइन्छ। नापी विभागका महानिर्देशक गणेशदत्त भट्टले पनि यस कार्यमा तथ्याङ्क अद्यावधिका लागि डा। पियर्सनले प्राविधिक सहयोग गरिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सगरमाथाको उचाइबारे आधिकारिक धारणा ल्याउन अन्तर्राष्ट्रिय टिमले समेत सहयोग गरोस् भनेर न्युजिल्यान्डबाट प्राविधिक सहयोग लिइएको हो।’

उहाँले यस कार्यका लागि विदेशी सहयोग नलिइएको र नेपाल सरकारले नै १७ करोड रुपियाँ रकम विनियोजन गरेको जानकारी दिनुभयो। मापनमा प्राविधिक सहयोग मागिए पनि कसैले हस्तक्षप गर्न नसक्ने विभागका सूचना अधिकारी दामोदर ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया शुरू गरेको यो पहिलोपटक हो।

अहिले वर्षायामको समय भएकाले जेठ अन्तिमदेखि मापन कार्य रोकिएको छ। विशेषतः सगरमाथा चढ्ने पहिलो व्यक्ति एडमन्ड हिलारी न्युजिल्यान्ड निवासी रहेका र पियर्सनले भूकम्पपछि केन्द्रबिन्दुबारे अध्ययन गरेकाले उहाँको प्राविधिक सहयोग लिइएको नापी विभागको भनाइ छ।

धेरै भू–गर्भविद्ले २०७२ वैशाख १२ मा गोरखा केन्द्र्रबिन्दु भई गएको भूकम्पका कारण सगरमाथाको उचाइ ३ सेन्टिमिटरसम्म कम भएको हुन सक्ने बताएका थिए। विभागको नेतृत्व रहेको यो परियोजनाअनुसार सर जर्ज एभरेस्टले अपनाएको परम्परागत नापी विधिका साथै आधुनिक ग्लोबल पोजिसनिङ सिस्टम रिसिभरलाई सगरमाथाको टुप्पोमा लगी उचाइ नापिनेछ।

उक्त कार्य शुरू गर्नुपहिले विभागले गत ०७४ मंसिर २५ र २६ गते भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकबीच अन्तर्राष्ट्रिय गोष्ठी गरी मापन गर्ने विषयमा सुझाव मागेको थियो। विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार पारिएको थियो।

यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ नापी ८ हजार ८ सय ४८ मिटर भएको निष्कर्ष निकालेको थियो। नेपालको एक टोली गत कात्तिक ७ गते सोलुखुम्बु पुगी भारतीय सर्वेक्षकले त्यस बखत उचाइ नाप्न प्रयोग गरेको नियन्त्रणबिन्दु खोजेको थियो। सोलुखुम्बुको आठ, खोटाङ र दोलखाको दुई/दुई स्थानमा उक्त बिन्दु राखेको समाचारमा उल्लेख छ ।

राजधानी
–आजको राजधानीमा सडक स्तारोन्नति नहुँदा स्थानीयलाई समस्या शिर्षकमा समाचार छापिएको छ । लमजुङको दोर्दी गाउँपालिकाका ग्रामिण सडकको स्तरोन्नति नहुँदा स्थानीय हैरान भएका छन् । यसैगरी, बेसीसहर नगरपालिका ११ र दोर्दी गाउँपालिका ४ नौथर जोड्ने दोर्दी खोलामा मोनोरेबल पुल नहुँदा स्थानीयले बनेको सडकबाट फाइदा लिने सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङले शनिबार दोर्दी गाउँपालिका ४ नौथर शेरामा आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै दोर्दी गाउँपालिकाका स्थानीयहरूले गुनासो गरेको समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार