Friday, September 20, 2024

छैन पहिरो पूर्वानुमान संयन्त्र, के भन्छन् इन्जिनियर पराजुली ? (भिडियाेसहित)

काठमाडौं–नेपालमा वर्षेनि आइलाग्ने प्राकृतिक विपद्मध्येको एउटा हो–पहिरो। बर्खायाममा विशेषगरी, पहाडी र चुरे क्षेत्रमा पहिरोका कारण वर्षेनि क्षति हुने गरेको छ।

पछिल्लो सात वर्षको अवधिमा मात्र पहिरोका कारण सात सय ३० जनाको मृत्यु भएको गृहमन्त्रालय, आपतकालीन केन्द्रको तथ्यांक छ। नेपालमा प्राकृतिक विपद्का कारण औसतमा पाँच सय जनाको ज्यान जाने गरेकोमा पहिरो एउटा कारण हो। पछिल्लो पटक २० साउनमा मात्र जाजरकोट जिल्लाको सदरमुकाम खलंगामा पहिरो जाँदा आठ जनाको मृत्यु भएको थियो।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेका मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान शाखाले सम्भाव्य विपद्बारे पूर्वानूमान, पूर्वसूचना दिने गरेका छन्।

जसमध्ये बाढी पूर्वानुमान शाखाले बाढीसम्बन्धी अध्ययन तथा सूचना प्रवाह गर्ने गरेको छ। कोशी, गण्डकी र कर्णाली गरी तीन मुख्य तथा महाकाली, बबई, पश्चिम राप्ती, बागमती, कमला र कन्काई गरी ६ मध्यम स्तरका नदी पहिचान गरेको शाखाले नदीका जल सतहमा आधारित रही आसपासका क्षेत्रका लागि पूर्वानुमान गर्ने गरेको छ।

नदीको जलस्तर, वर्षाको सम्भावना आदिलाई आधार मानेर बाढीको पूर्वानुमान गरिने गरिएको बाढी पूर्वानुमान शाखाका इन्जिनियर विनोद पराजुली बताउँछन्। बाढी पूर्वानुमान शाखाले बाढी जानसक्ने भएकाले सावधानी अपनाउन भन्दै तटीय क्षेत्रका नागरिकलाई मोबाइलमा एसएमएस पठाउने गरेको छ ।

वैज्ञानिकहरुका अनुसार गुरूत्वाकर्षणको प्रभावका कारण चट्टान, माटो आदि आफ्नो स्थानभन्दा तल जान्छन् वा खस्छन्। जसलाई पहिरो भनिन्छ।’ नदीका कारण जमिन कटानका कारण चट्टान र लगातारको वर्षाका कारण माटो कमजोर हुँदा पहिरोको जोखिम बढ्छ।

यसरी बाढीको पूर्वानुमान गरिने भएपनि नेपालमा पहिरोको पूर्वानुमान गर्ने संयन्त्र छैन। विभागका महानिर्देशक डा.  ऋषिराम शर्मा पर्याप्त जनशक्ति र संयन्त्र नहुँदा बाढीको पूर्वानुमान गर्न नसकिएको बताउँछन्। ‘नेपालको कुन भूभागमा कहिले पहिरो जान्छ भन्न सकिने स्थिति नै छैनन् । त्यसमाथि पनि २०७२ सालको भूकम्पले हाम्रो जमिनहरू कमजोर भएका छन्। ठूलाे पानी पर्यो भने जुनसुकै स्थानमा पनि पहिरो जान सक्छ,’ उनले भने ।

इन्जिनियर पराजुली सरकारले पहिरोको उच्च जोखिम क्षेत्र पहिचान गरेर जानकारी गराएमा सहज हुने बताउँछन्। ‘जोखिम पहिचान भएमा वर्षाको समयमा बढी पानी परेको क्षेत्रमा पहिरोको आँकलन गरेर सचेत रहन आग्रह गर्न सकिन्छ,’ उनले भने। बाढी पूर्वानुमान गरेजस्तै पहिरोको पूर्वानुमान गर्न सके धनजनको क्षति कम गर्न सकिने विभागका इन्जिनियर पोखरेल बताउँछन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार देशका १८ जिल्लाका करीब २ सय ५६ गाउँ पहिरोको उच्च जोखिममा छन्। ०७२ को भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये काठमाडौँ र भक्तपुर बाहेक गोरखा, धादिङ्ग, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, मकवानपुर र ललितपुर पहिरोको उच्च जोखिममा रहेका छन्। त्यसका साथै चितवन, तनहुँ, लमजुङ, सोलुखुम्बु, स्याङ्जा, पर्वत र गुल्मी पनि पहिरोको उच्च जोखिममा रहेको प्राधिकरणले बताएको थियो ।

भुगर्भविदहरुका अनुसार जसरी बाढीको सम्भावित जोखिम स्थान पहिचान गरेर संयन्त्र निर्माण गरिएको छ। त्यसरी पहिरो जानसक्ने क्षेत्रको नक्सासहितको तथ्यांक संकलन गरेर पूर्वसूचना दिन सकिए क्षति कम गर्न सकिन्छ।

भूगर्भविद सुबोध ढकाल सरकारले पहिरो पूर्वानुमान गर्न नसकेपनि सर्वसाधारण आफैँले पूर्वानुमान लगाउन सकिने बताउँछन् । उनका अनुसार यदी बस्तीभन्दा माथि कुनै भीर छ भने त्यहाँ कतै चिरा परेको छ कि त्यसलाई हेरेर पहिरो जाने नजाने कुराको अनुमान लगाउन सकिन्छ। चिरा परेको छ भने त्यस्तो स्थान पहिरोको उच्च जोखिममा हुन्छ ।

उनी बस्तीको तल खोला छ भने खोला घुमाइ अनुसार पनि पहिरोको पूर्वानुमान लगाउन सकिने बताउँछन् । ‘जहाँ खोला घुमेको हुन्छ त्यहाँ पानीले खोलिरहेको हुन्छ । त्यहाँ पहिरो जानसक्छ खोला घुमेर फर्किएको भागमा पहिरो जानसक्ने सम्भावना बढी हुन्छ त्यसैले त्यस्तो ठाउँमा सतर्कता अपनाउनु पर्छ’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार